0

प्रचण्ड र कमल थापाजस्तै कांग्रेस र एमालेका को त ?

मिलन तिमिल्सिना/

 कात्तिक ५ – 

एकीकृत नेकपा माओवादी र राप्रपा नेपाल आआफ्ना पार्टी अध्यक्षलाई देखाएर चुनावमा होमिएका छन् ।

एमाओवादीले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संविधान र देश बन्ने दावी गरेको छ । राप्रपा नेपाल पनि कमल थापाको अगुवाईमा मुलुकले काँचुली फेर्ने दावी गर्छ । दुवै पार्टीको चुनावी घोषणापत्रको बाहिरी पृष्ठमा प्रचण्ड र थापाका फोटो पनि राखिएका छन् ।
पहिलो संविधानसभाको ठूलो दल एमाओवादी र आफूलाई वैकल्पिक शक्ति मान्ने राप्रपा नेपाल दुवैले आआफ्ना पार्टी अध्यक्षलाई अघि सार्दा कांग्रेस र एमालेले भने आफ्नो नेता को भनेर देखाउन सकेका छैनन् । दुवैले राष्ट्रलाई निकास दिन आआफ्ना पार्टी सक्षम रहेको दावी मात्र गरेका छन् । तर कसको नेतृत्वमा भन्ने कुरा चाहिँ घोषणापत्रमा उल्लेख छैन ।
एमाओवादीमा प्रचण्ड र राप्रपा नेपालमा कमल थापा जस्तै कांग्रेस र एमालेमा त्यस्तो एक मात्र नेता देखाउन सजिलो नभएकोले यस्तो अवस्था आएको हो । एमाओवादीले पहिलो संविधानसभा चुनावमा पनि प्रचण्डलाई नै आफ्नो नेताको रुपमा अघि सारेको थियो ।
त्योबेला प्रचण्डलाई राष्ट्रपतिको रुपमा प्रस्ताव गरिएको थियो भने अहिले राष्ट्र नेताको रुपमा । प्रचण्डको हाराहारीमा अर्को नेता नभएकाले एमाओवादी फेरि पनि उहाँलाई नै अघि सार्दै चुनावमा होमिएको हो ।
राप्रपा नेपालमा पनि कमल थापा हाराहारीका अर्का नेता छैनन् । पहिलेदेखि नै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका थापा पार्टीभित्र एकमात्र शक्तिशाली नेताका रुपमा परिचित छन् । त्यसैले पहिलो संविधानसभामा जस्तै अहिले पनि राप्रपा नेपालले उहाँलाई नै अघि सारेको हो ।
तर कांग्रेस र एमालेको अवस्था अलि फरक छ । कांग्रेसभित्र पार्टी सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र अर्का नेता शेरबहादुर देउवा तीनैजनाले आफूलाई शीर्ष नेता ठान्छन् । कोइराला र देउवाबीचको हानथाप अझ बढी छ ।
यस्तै एमालेमा पनि पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता केपी शर्मा ओलीमा को चाहिँ ठूलो भन्ने हानथाप भैरहन्छ । त्यसैले एमालेलाई पनि पार्टीको एकमात्र नेता देखाउन अप्ठेरो छ ।

को के भन्छन् ?

आफ्नो पार्टीलाई भोट किन भन्दै एमाओवादीले घोषणापत्रमा उल्लेख गरेको छ :

‘विचार र राजनीतिको अभिव्यक्ति अन्ततः नेतृत्वबाटै हुन्छ र व्यवहारिक रुपमा नेतृत्वको भूमिका निर्णायक हुन्छ । पार्टी अध्यक्ष क. प्रचण्डको चातुर्दिक क्षमताले उहाँलाई पार्टीको मात्र नभएर देशकै निर्विवाद नेताको स्थानमा स्थापित गरेको छ । अध्यक्ष क. प्रचण्डको वरिपरि उत्तिकै सक्षम र स्थापित नेताहरुको केन्द्रीकरणले समकालिन नेपाली राजनीतिमा एकीकृत नेकपा (माओवादी) अरुभन्दा कोशौं अगाडि छ । यसरी विचार–राजनीति, संगठन–जनाधार र नेतृत्वको उचित संयोजनले हाम्रो पार्टी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा सम्पूर्ण राष्ट्रलाई एकतावद्ध गरेर नयाँ संविधान लेख्न र स्थिर सरकार दिन पूर्ण सक्षम छ । त्यसैले हामी भन्छौं : जसको नीति उसको नेतृत्व, राष्ट्रको नेता अध्यक्ष क.प्रचण्ड !’

नेपाली कांग्रेसले चाहिँ आफ्नो विगत इतिहासलाई जोड दिएको छ । कांग्रेसको घोषणापत्रमा भनिएको छ :

‘नेपाली काँग्रेसले वितेका सात दशकमा नेपाली भुमिमा सम्पन्न परिवर्तनका सवै आन्दोलनहरूको नेतृत्व गर्दै आएको छ तर आन्दोलनवाट प्राप्त सबै उपलब्धीहरु संस्थागत हुन सकेका छैनन् । यसपटक नेपाली काँग्रेस आफ्नो त्यो विगतको अनुभववाट पाठ सिक्दै सवै आन्दोलनका उपलव्धिलाई संस्थागत गर्दै समृद्धिको यात्रा तय गर्ने संकल्प गर्दछ । हाम्रो अगाडिको बाटोको प्रस्थानविन्दु भनेको नयाँ संविधानको निर्माण नै हो । वर्तमान संक्रमणकालिन राजनीतिको निकासका लागि संविधानसभामा नेपाली कांग्रेसको वलियो उपस्थिति अपरिहार्य भएको छ । नेपाली काँग्रेसको विगतले नै प्रमाणित गर्छ संक्रमणकालिन अवस्थामा सवैलाई समन्वय गर्ने सामर्थ्य नेपाली कांग्रेससँग मात्र छ ।
२०४६ सालको जनआन्दोलनपछिको संक्रमणकालिन अवस्थामा नेपाली कांग्रेसले नै सवैलाई समन्वय गर्दै एकवर्ष भित्रमा संविधान जारी गरि आम निर्वाचन सम्पन्न गरेको थियो ।
२०६२/०६३ सालको जनआन्दोलन पश्चातको संकटपुर्ण अवस्थामा नेपाली कांग्रेसले नै सवैलाई समन्वय गर्दै संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणा गरेको थियो। तर विडम्वना त्यसपश्चात जव काँग्रेस नेतृत्वदायी भुमिकामा रहेन तव शान्ति प्रकया र संविधान निर्माणको काम समेत अलपत्र पर्यो ।
अतः नेपाली काँग्रेस जनताका विचमा संकल्प गर्न चाहन्छ आगामी एक वर्षभित्रमा सवैलाई समन्वय गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान जारी गर्नेछ र आफ्नो मार्गचित्र अनुरुप आर्थकि समुन्नतिको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ ।’

एमालेले पनि यसैगरी नेता अघि नसारिकन भोट मागेको छ । एमालेले भनेको छ :

‘मुलुकको वर्तमान सङ्क्रमणकालको सफल व्यवस्थापन गर्न र दिगो शान्ति तथा स्थायित्व सहित परिवर्तनको प्रक्रियालाई अगुवाइ गर्न राष्ट्रलाई सही विचार र सन्तुलित नेतृत्व चाहिएको छ ।
राजनीतिक अतिवादले समस्यामात्रै सिर्जना गर्छ, समाधान दिन सक्दैन भन्ने कुरा समकालीन नेपाली राजनीतिले स्पष्ट पारिसकेको छ । रगत बगाउने तर मल्हम लगाउन नसक्ने, विध्वंस गर्ने तर पुननिर्माण गर्न नसक्ने उग्रवामपन्थी अतिवाद मुलुकका लागि चुनौतीको विषय हो । दुर्भाग्य, हिजो हिंसाद्वारा समाजलाई आक्रान्त पार्ने यो शक्ति आज जातीय–क्षेत्रीय–साँस्कृतिक अतिवादका माध्यमबाट समाजलाई आघात पुर्‍याउन उद्यत् देखिएको छ ।
तर यसको समाधान यथास्थितिवादी राजनीतिले पनि दिन सक्दैन । यथास्थितिवादले त झनै अतिवादलाई मौलाउने मौका मात्रै दिन्छ । त्यसैले राष्ट्रले खोजेको सन्तुलित र सही नेतृत्व नेकपा एमालेसँग मात्रै छ ।
लोकतान्त्रिक आन्दोलनको प्रत्येक मोर्चामा हाम्रो पार्टीले वैचारिक अगुवाइ र भौतिक रूपमा अग्रिम कमाण्ड सम्हालेको छ । यही भूमिकाकै कारण २००७ सालको आन्दोलनमा सहयोगीका रूपमा र २०४६ सालको आन्दोलनमा सह–नेतृत्वको रूपमा रहेको पार्टी २०६२/६३ को आन्दोलनको ‘मास्टरमाइण्ड’ मूल योजनाकार र वास्तविक नेताको रूपमा रह्यो ।
पार्टीको सक्रिय र नेतृत्वदायी भूमिकाकै कारण पुनःस्थापित संसदबाट ०४७ सालको संविधानमा पार्टीले राखेका २७ बुँदे असहमतिलाई सम्बोधन गर्ने गरी प्रतिनिधिसभाको ऐतिहासिक घोषणा भयो ।
नेकपा एमाले शान्ति प्रक्रियाको पहलकर्ता हो –शान्ति प्रक्रियामा पार्टीले खेलेको नेतृत्वदायी भूमिका र पहलकदमी कसैबाट छिपेको छैन । तत्कालीन राज्य र विद्रोही दुबै पक्षले बन्दुकबाटै सबै समस्याको समाधान खोज्ने धृष्टता गरिरहेको बेला हाम्रो पार्टीले सिलिगुढीदेखि दिल्लीसम्म र रोल्पादेखि लखनउसम्मको जोखिमपूर्ण यात्रा तय गरेर युद्ध उन्मादमा रहेका दुबै पक्षलाई शान्ति प्रक्रियामा आउन गरेको प्रयास सर्वविदितै छ । राज्य निर्माण र समृद्ध नेपालको सपना नेकपा एमालेसँग छ ।’
यसरी कांग्रेस र एमालेले पार्टीको इतिहास र उबेलाको नेतृत्वको मात्र चर्चा गरेका छन् । अहिलेका नेताहरुमध्ये को चाहिँ सक्षम भन्ने कुरा घोषणापत्रमा उल्लेख छैन ।
सबैभन्दा पहिले चुनावी घोषणापत्र सार्वजनिक गरेको राप्रपा नेपालले पार्टी अध्यक्ष कमल थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको छ । जनता विकल्पको खोजीमा रहेको र त्यो विकल्प आफू भएको भन्दै राप्रपा नेपालले अरु पार्टीले जस्तै संविधान र देश बनाउने प्रतिबद्धता जनाएको छ ।

Post a Comment

 
Top