हाम्रा राजनीतिक दलका नेताले बुझेको प्रेस स्वतन्त्रता आजको सौर्य दैनिक हेरेपछि थाहा भयो । श्रमजीवी पत्रकारलाई ठगेको मुद्दा पनि उनीहरु प्रेस स्वतन्त्रतासँग जोडिएको ठान्दा रहेछन् । मालिकका पक्षमा बोल्ने नेताहरुलाई धन्यवाद ।
गएको शनिबार सौर्य दैनिकमा प्रकाशित सामग्रीबारे पत्रकार दीपेन्द्र कुवँरको फेसबुक स्ट्याटस् पढेपछि प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका समस्याबारे केही लेख्ने जाँगर जुटेको हो ।

Cartoon/ Illustration: Basu Kshitiz
सौर्य दैनिकका पत्रकारले झण्डै एक वर्षदेखि तलब नपाएको खबर पटकपटक आइसक्यो । तलब समस्याकै कारण सौर्य केहीमहिना बन्द समेत भयो । तलब नपाएपनि पत्रकारहरु काम गरिरहेकै थिए तर सौर्य सहकारीले व्यवस्थापन परिवर्तन हुने भन्दै पत्रिका प्रकाशन बन्द गर्यो ।
सौर्य हिजोआज नयाँ व्यवस्थापन अन्तर्गत छापिन्छ तर तलबको समस्या ज्यूँकात्यूँ । पुराना पत्रकार/कर्मचारीले नै तलब पाएका छैनन्, नयाँको के कुरा । सौर्यमा मात्र हैन, अन्य मिडियामा पनि समस्या उस्तै छन् ।
शुक्रबार दिउसो एकाएक सौर्य दैनिकको कार्यालयमा प्रहरी पुग्यो । पत्रिकाका प्रकाशक एवं प्रधान सम्पादक बोधराज त्रिपाठीलाई समात्न प्रहरी त्यहाँ पुगेको थियो । तर उनी फरार थिए । उनलाई कार्यालयमा नभेटेपछि प्रहरीले पत्रिकाका अरु दुईजना सञ्चालकलाई नियन्त्रणमा लियो र हनुमानढोका पुर्यायो । पाँच घण्टापछि उनीहरु रिहा भए । किन पक्राउ परे, कसरी रिहा भए ? पढ्नुहोस् : सौर्य दैनिकका दुईजना सञ्चालक पक्राउ
आफुलाई दिइएको चेक बाउन्स भएपछि पत्रकार/ कर्मचारीले हनुमानढोकामा उजुरी दिएका थिए । उजुरीबारे सोधपुछ गर्न प्रहरीले सञ्चालकहरुलाई लगेको थियो । हुनमाढोका प्रहरीमा उनीहरुले कर्मचारिलाई दिन बाँकी रहको तलब दसैँअघि र दसैँपछि गरी दुई चरणमा दिने लिखित प्रतिवद्धता गरे ।
खास भएको यति नै हो ।
सञ्चालक पक्राउको घटनालाई सौर्यले २०७० असोज १९ गते शनिबारको अंकमा निकै महत्वसाथ छापेको छ पहिलो पृष्ठमा । ‘माथिको आदेश भन्दै सौर्यमा प्रहरीद्वारा धरपकड’ शीर्षकको समाचारको लिड छः नेपाल प्रहरीले शुक्रबार बागबजारस्थित सौर्य दैनिकको कार्यालयमा छापा मारी धरपकड मच्चाएको छ । सुरक्षा दिनुपर्ने निकाय प्रहरीले हतियार र बर्दिसहित पत्रिकाको कार्यालय प्रवेश गरी गैरकानुनी रुपमा दुई सञ्चालकलाई पक्राउ गरेको हो ।
सौर्यले पहिलो पृष्ठमै ‘निन्दनीय कार्य’ शीर्षकमा विशेष सम्पादकीय पनि लेखेको छ । हेर्नुहोस् सञ्चालक पक्राउबारे सौर्यको कभरेजः

प्रेस स्वतन्त्रताको हनन् ?
अब लागौँ सौर्यका सञ्चालक पक्राउलाई प्रेस स्वतन्त्रता हनन् ठान्नेका कुरातिर । पूर्वगृहमन्त्री समेत रहेका एमाले नेता भीम रावलले सौर्यका सञ्चालकद्वयको पक्राउलाई ‘कानुनी शासनको उल्लंघन’ भनेका छन् । अनि कानुनी शासनको वकालत गर्ने नेपाल बार एसोसिएसनका उपाध्यक्ष टीकाराम भट्टराईले यसलाई प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य भने । कांग्रेसका युवा नेता गगन थापालाई सञ्चारगृहभित्र बर्दिधारी प्रवेश गर्नु कुनै पनि बहानामा ठीक मान्न नसकिने लाग्दो रहेछ । एमाओवादी नेता खगराज भट्टले संस्थाको आन्तरिक मामिलामा प्रहरीले गरेको हस्तक्षेपलाई प्रेस स्वतन्त्रता विरोधी कदम भनेछन् । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले सौर्यका सञ्चालक पक्राउलाई भनिछन् : बन्दुके हस्तक्षेप । घटनाबारे उनीहरुले दिएका प्रतिक्रिया पुरा पढ्नुहोस् :प्रहरीले दायरा मिच्यो
पत्रकार काम गरिरहन्छन् । तलब पाउँदैनन् । आज देलान्, भोलि देलान्, यो महिना देलान्, अर्को महिना देलान् भन्दाभन्दै पत्रकारका दिन बित्छन् । तलबका लागि उजुरबाजुर, हारगुहार गर्दागर्दै वर्षदिन बित्छ । भोलिभोलि भन्दै मिडिया सञ्चालक पत्रकारलाई झुलाइरहन्छन् । उल्टो नक्कली चेक दिन्छन् । भागीभागी हिँड्छन् ।
चेक बाउन्स भएपछि पत्रकारको उजुरी र प्रहरीको फन्दाबाट बँच्न मिडिया मालिक उल्टो अदालतमा मुद्दा हाल्छन् ।
सौर्यले विशेष सम्पादकीयमै लेखेको छः कामदारले प्रहरीमा उजुरी गरेलगत्तै सौर्य प्रशासन अदालत पुगेको थियो । अदालतले आगामी ५ कात्तिकसम्म कुनै प्रकारको पक्राउ गर्ने, जबरजस्ती कागज गर्ने तथा गराउने कार्य नगर्न प्रहरीलाई आदेश दिएको थियो ।
नक्कली चेक दिएर कर्मचारीलाई ठग्ने सौर्यका चतुर सञ्चालकहरुले प्रहरीबाट बँच्न पुनरावेदन अदालतबाट अन्तरिम आदेश लिएर बसेका थिए ।
पत्रकारको उजुरीका कारण मिडिया सञ्चालक पक्राउ पर्नेबित्तिकै प्रेस स्वतन्त्रता हनन् भयो भन्ने माथि नाम उल्लिखित व्यक्तिमात्र हैन, राजनीतिज्ञ र पेशाकर्मीहरु सँधै मिडियाका पुजारी हुन्छन् । उनीहरुलाई जहिलेपनि मिडिया चाहिन्छ । त्यसैले उनीहरु सकभर मिडियालाई चिढ्याउन चाहन्नन् । पत्रकारले श्रमको मूल्य नपाएर महिनौँदेखि हारगुहार गर्दा प्रेस स्वतन्त्रताको मतलब नगर्नेहरुलाई पनि तलब नदिने मिडिया सञ्चालक पक्राउ पर्नु प्रेस स्वतन्त्रता बिरोधी लाग्यो । मिडियाले हिरो र जिरो बनाइदिने युगमा उनीहरुको प्रतिक्रिया त्यति अस्वभाविक हैन ।
२०६९ साल असारको एउटा प्रकरणको सम्झना आयो । नाफा घट्ने डरले मिडियाका साहुजीहरु त्यतिबेला कतिसम्म जुर्मुराएका थिए भन्नेबारे मैले ब्लग लेखेको थिएँ । मिडिया सञ्चालकहरुले त्यतिबेला सरकारलाई ‘सबैभन्दा तल्लो तहमा नागरिकको सूचनाको हक र विचार तथा अभिब्यक्ति स्वतन्त्रता प्रदान गरिरहेका बिद्यूतिय सञ्चार माध्यम खारेज गर्ने योजनावद्ध षड्यन्त्र गरेको’ आरोप लगाएका थिए ।
ब्लगमा मैले दुईवटा प्रश्न उठाएको थिएँ ।
१. सरकारले कर तिर भन्दा प्रेस स्वतन्त्रतामाथी ठाडो हस्तक्षेप हुने तर पत्रकारलाई महिनौँ देखि तलब नदिँदा जायज हुने ?
२. व्यापार गरेर कर तिर्दिन भन्ने मिडिया सञ्चालक र न्यूरोडमा पसल राखेर उपभोक्तालाई भ्याट बिल नदिने व्यापारीमा के फरक भयो ?
ब्लगको निष्कर्ष थियोः तलब नदिने मिडिया बन्द हुँदैमा प्रेस स्वतन्त्रता हनन् हुँदैन, यो आफैमा आन्दोलन हो, यसले आफ्नो रक्षा आफै गर्छ। पढ्नुहोस् : कर तिर्दा कन्नेलाई प्रेस स्वतन्त्रताको चिन्ता !
एकवर्ष बित्यो । प्रश्न पनि ज्यूँकात्यूँ छन् अनि निष्कर्ष पनि ।
पत्रकारले बुझ्नै पर्ने कुरा के हो भने मिडिया बन्द हुँदैमा प्रेस स्वतन्त्रता हनन् हुँदैन । यो आफैमा एउटा आन्दोलन हो । यसले आफ्नो रक्षा आफै गर्छ । प्रेस स्वतन्त्रता नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रताकै एउटा अंग हो । कसैको व्यापारसँग यसको कुनै साइनो छैन ।
पत्रकार महासंघको भूमिका
दसै सँघारमा छ । दसैँसँगै जोडिएको पोहोरसालको अर्को घटना याद आयो । विभिन्न सञ्चारगृह खासगरि टेलिभिजनका पत्रकारले ३ देखि ९ महिनासम्म पारिश्रमिक नपाएको गुनासो र तथ्यले आफु गम्भीर बनेको भन्दै महासंघले विज्ञप्ती निकाल्यो । दशैँको उमंगका बेलापनि धेरै मिडियाका पत्रकार तलबबिहिन थिए । तर पत्रकारहरुको छाता संगठन पत्रकार महासंघ झारा टार्ने हिसावले विज्ञप्तीमात्र निकालिरहेको थियो ।
यो वर्ष भने पत्रकारले तलब नपाएका नयाँ घटना सार्वजनिक भएका छैनन् । सौर्यको मुद्दा पुरानै हो । हुनत यो एकवर्षबीचमा नयाँ मिडिया खुलेका छैनन् जहाँ तलबको नयाँ समस्या सिर्जना होस् । अन्यत्र समस्या उस्तै भएपनि यो वर्ष दसैँ लागिसक्दा पनि तलब समस्या बारेका समाचार सार्वजनिक भएका छैनन् ।

साभारः कारोबार/ रवि मिश्र
एकवर्षअघिको ब्लगमा मैले पत्रकार महासंघलाई प्रश्न गरेको थिएँ : व्यवसायिक र प्रेस स्वतन्त्रताका नाममा महासंघले मिडिया उद्योगलाई शोषण गृह बन्न दिने कि प्रेस स्वतन्त्रताका लागि रात दिन खटेर काम गर्ने पत्रकारहरुका पक्षमा उभिएर लड्ने महासंघले र स्वंय पत्रकारले पनि अब बोल्नु पर्छ । प्रेस स्वतन्त्रताको आन्दोलन सीमित व्यक्तिले धेरै व्यक्तिलाई शोषण गर्ने हतियार बनाउन दिनका लागि पत्रकार महासंघ मतियार हुने कि नहुने ? पढ्नुहोस् : दशैँ, तलब र पत्रकार महासंघको गाईजात्रा
पत्रकारमाथिपनि केही प्रश्नहरु उठाएको थिएँ । तलब नपाएकोमा सहानूभति हुनु सामान्य हो तर एउटा गम्भीर प्रश्न उब्जिन्छ । ९ महिनासम्म तलव नपाउँदा जीविका कसरी चल्छ ? उनीहरु किन पत्रकारिता गर्दैछन् ? पत्रकारिता कतै देखाउने बाटो मात्रै त होइन ? पत्रकार चुप लागेर बस्दा उनीहरुमाथि पनि यस्ता थुप्रै प्रश्न तेर्सिन्छन् ।
ठगी आरोपमा सञ्चालक पक्राउ पर्दा प्रेस स्वतन्त्रता हनन् भयो भन्ने पत्रकारका नेता पनि पत्रकार भन्दा मालिककै पक्षमा देखिन्छन् । दुईवर्ष पहिलेको एउटा प्रसंग काफी छ यसलाई बुझ्न ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ भाद्र ३० गते व्यावस्थापिका संसदमा सम्बोधन गर्दै भनेका थिएः अन्य उद्योग खोल्न धरौटी राख्नुपरे जस्तै अब मिडिया उद्योग खोल्दा पनि लगानी र भविष्यको सुरक्षाका लागि निश्चित धरौटी राख्नुपर्ने व्यवस्था गरिने छ । कुनै मिडिया बन्द हुँदा त्यहाँ कार्यरत पत्रकार/कर्मचारीको बाँकी तलब त्यही धरौटीको रकमबाट दिन सकिने उनको तर्क थियो ।
तर उनको सम्बोधनको नेपाल प्रेस युनियनले खुलेरै बिरोध गर्यो । युनियन महासचिव शिव लम्सालले यसलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, जनताको सुसूचित हुन पाउने हक र सञ्चार क्षेत्रको विकासमा प्राप्त ऐतिहासिक उपलब्धिलाई सिमित गर्ने प्रपञ्च भनेका थिए । पढ्नुहोस् : संचार उद्योगबारे प्रधानमन्त्रीको संवोधनप्रति प्रेस युनियनको गम्भीर आपत्ति
यो विषय प्रेस युनियनभित्रै पनि निकै विवादित बन्यो ।
आफुलाई पत्रकारका संस्था भन्ने दलीय संगठनमात्र हैन, छाता संगठन भन्ने पत्रकार महासंघ पनि पत्रकार हकहीतका कुरा भन्दा मालिकका स्वार्थमा तल्लिन देखिन्छ । अधिकांश पत्रकारको गुनासो हुन्छः पत्रकारले तलब नपाएकोबारे औपचारिक जानकारी गराएपछि पनि मुस्किलले बोल्ने पत्रकार महासंघ मालिकहरुको मुद्दामा भने बोल्न अघि सरिहाल्छ ।
सौर्य कभरेज
पुनः सौर्य दैनिकको शनिबारको कभरेजतिरै फर्कौँ । शनिबारको सौर्यमा उसका सञ्चालक पक्राउबारे कभर स्टोरी, प्रतिक्रिया र विशेष सम्पादकीय पहिले पृष्ठमा निकै महत्वसाथ छापिएका छन् । सौर्यको विशेष सम्पादकीयले उठाएका मुख्य विषयलाई बुँदागत रुपमा पढौँ ।
१. अन्तरिम संविधानको एउटा मूल मर्म ‘प्रेस स्वतन्त्रतालाई कुण्ठित नगर्ने’ सिद्धान्तकै भावनाविपरीत प्रहरीले पत्रिकाको कार्यालयमा प्रवेश गरी विनाकसुर गिरफ्तारी गर्ने र दैनिक कार्यसम्पादनमा रहेका पत्रकारलगायत कर्मचारीलाई त्रास एवं मानसिक तनावको वातावरणमा पुर्याउने कार्य खेदजनक, भत्र्सनायोग्यका साथै अत्यन्त निन्दनीय छ ।
२. यो घटनाले हिजो पञ्चायती सर्वसत्तावादविरुद्ध लोकतन्त्रको जेहाद चलाउने सञ्चारकर्मीलाई इतिहासका तिनै काला दिनहरूको सम्झना भएर आउँदैन होला त ? किन र के आधारमा त्यसरी प्रहरी सौर्य कार्यालयमा अकस्मात् प्रवेश गरे अनि तानाशाही शैलीको ताण्डव प्रस्तुत गरे ?
३. सौर्यमा आन्तरिक समस्या नभएका होइनन्, छन् र तिनको यथोचित् समाधानको प्रयास अगाडि बढिरहेको पनि छ । तर, जुन किसिमले प्रहरीले अशोभनीय व्यवहार देखायो र सौर्यका केही पूर्वकामदारले दिएको झुटा, कपोलकल्पित र सौर्यलाई बद्नाम गराउने आशयले प्रेरित उजुरीका आधारमा माथिको आदेश भन्दै आफ्नो गैरकानुनी कार्यलाई गलत ढंगले पुष्टि गर्ने प्रयास गर्यो, त्यो नितान्त खेदजनक छ ।
४. केही अनलाइन मिडियाले सत्य–तथ्य नबुझी हतारो गर्दै एकपक्षीय ढंगले समाचार सम्प्रेषण गरे, त्यो आफैँमा उदेकलाग्दो छ । पत्रिका कार्यालयमा अनधिकृत एवं अवैध रूपमा भएको प्रहरी हस्तक्षेपको गम्भीरताभन्दा सञ्चालक पक्राउको समाचार ती मिडियाका लागि बढी सरोकारको विषय बन्न पुग्यो । यो दुर्भाग्यपूर्ण हो । समस्या नेपालका सबै सञ्चारमाध्यममा छन्, केवल त्यसको घनत्वको आकारप्रकार बेग्लै भन्ने कुरा मात्र हो । सवाल अहिले सौर्य दैनिकमा दिउँसै प्रहरी हस्तक्षेप भएको भन्ने मात्र होइन, भोलि यसैगरी अर्को कुनै दैनिक वा अन्य मिडियासित पनि यही प्रवृत्ति दोहोरिन सक्छ ।
माथिका बुँदालाई छोटकरीमा केलाउँदाः
१. सञ्चालक पक्राउ पर्दा प्रेस स्वतन्त्रता कुण्ठित भयो ।
२. घटनाले पञ्चायती सर्वसत्तावादका काला दिनको सम्झना गरायो ।
३. पूर्वकामदारका झुटा र कपोलकल्पित उजुरीका आधारमा सञ्चालक पक्रेर प्रहरीले गैरकानुनी काम गर्यो ।
४. घटनाबारे समाचार लेख्ने केही अनलाइनले एकपक्षीय समाचार सम्प्रेषण गरे ।
सबैले बुझेको तथ्य के हो भने उनीहरु पत्रिकामा छापिएको सामग्रीका कारण वा संस्थाको व्यापारका कारण पक्राउ परेका होइनन् । कर्मचारीहरुलाई नक्कली चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । यस्तो विषयलाई प्रेस स्वतन्त्रतासँग जोड्नु आफैंमा हास्यास्पद भएन र ? अनि पत्रकारलाई वर्षदिनदेखि तलब नदिँदा जायज र वैध हुने अनि उनीहरुका उजुरीका आधारमा समातिएपछि उनीहरुलाई आफ्नो गिरफ्तारी गैरकानुनी र पञ्चायती सर्वसत्तावादकै याद आउने ?
सौर्यमा मात्र हैन, नेपालका मिडियामा जेजति समस्याहरु देखिएका छन्, ति पत्रकारका कारण हैन, मिडिया सञ्चालकका कारण आएका हुन् । आफ्नो अकर्मण्यताका कारण सिर्जित समस्यालाई प्रेस स्वतन्त्रतासँग जोडेर उम्किन खोज्नु आफैमा अनैतिक हो । झन् त्यसलाई म्यानुपुलेट गरेर पत्रिकाका पाना रङ्ग्याउनु त मिडियाको दुरुपयोग हो ।
फेरिपनि बुझ्नैपर्ने कुरा के हो भने सञ्चालकहरुको अकर्मण्यताबाट कुनै मिडिया बन्द हुँदैमा प्रेस स्वतन्त्रता हनन् हुँदैन ।
Post a Comment