वीरगन्ज, ३ कात्तिक : राजनीतिक दलका उम्मेदवार र आपराधिक समूहले भारतबाट धमाधम साना हतियार भित्र्याउन थालेका छन्। चाडपर्वको मौका छोपेर नाकामार्फत साना हतियार भित्र्याउने काम अहिले धमाधम भइरहेको स्रोतले बतायो।
सुरक्षाकर्मी चुनावी सुरक्षा प्रबन्ध तयारीमा केन्द्रित रहेको र चाडपर्वका लागि नाकामा पनि सुरक्षा जाँच खुकुलो पारिएको अवसरलाई उपयोग गर्दै साना हतियार भित्र्याउन गिरोहहरू सक्रिय भएका छन्। निर्वाचनलाई बल र त्रासका भरमा प्रभावित पार्ने उद्देश्यले यस्ता हतियार भित्र्याइएको स्रोतको दाबी छ।
भारतको बिहार राज्यको बेतिया, घोडासहन, मोतीहारी, आदापुर र मुजफ्फरपुरमा साना हतियार सहजै उपलब्ध हुने गरेको धन्दामा संलग्न एक पुराना कारोबारीले बताएको अन्नपूर्ण दैनिकले उल्लेख गरेको छ । स्थानीय दक्ष जनशक्तिले आरनमा तयार पार्ने हतियार कटुवा पेस्तोल भारु १० हजारमा खरिदबिक्री भइरहेको स्रोतको भनाइ छ।
‘खुला सिमाना भएकाले साना हतियारको ओसारपसार गर्न आपराधिक समूहलाई सहज छ’, प्रहरीउपरीक्षक धीरजप्रताप सिंहले भने, ‘सीमामा निगरानी र सुराकी परिचालनबाट नियन्त्रणको प्रयास गरिरहेका छौं।’ उनले हतियार ओसारपसार नियन्त्रणमा भारतीय सुरक्षाकर्मीको सहयोग पनि आवश्यक भएको बताए। नेपाल९भारत नाकामा चाडपर्वका बेला ओहोरदोहोर गर्नेको संख्या बढी हुने भएकाले साना हतियारको ओसारपसार गर्ने गिरोहले यही मौका छोपेको सुरक्षा अधिकारी बताउँछन्।
निर्वाचनमा प्रयोग गर्ने उद्देश्यले आपराधिक पृष्ठभूमिका व्यक्तिले बिहारबाट भित्र्याएको कटुवा पेस्तोल र गोलीसहित शुक्रबार साँझ प्रहरीले सदरमुकाम वीरगन्जबाट चोर्नी गाविस १ का २१ वर्षीय उमेश महतोलाई पक्राउ गरेको छ। प्रहरीउपरीक्षक सिंहले निर्वाचनमा प्रयोग गर्ने उद्देश्य लिएका आपराधिक समूहका लागि महतोले भारतबाट हतियार ल्याएको बताउँदै थप अनुसन्धान जारी रहेको जानकारी दिए।
यसअघि भदौको दोस्रो साता अमरपट्टी नाकाबाट भरुवा बन्दुकमा प्रयोग हुने २२ वटा गोली सशस्त्र प्रहरीले बरामद गरेको थियो। गत असारयता जिल्ला प्रहरी कार्यालय पर्साले सानाठूला गरी ३१ वटा अवैध हतियार बरामद गरेको छ।
संघीय सद्भावना पार्टीका सहमहासचिव शिव पटेलले आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले निर्वाचनलाई लक्षित गर्दै हतियारको भण्डारण सुरु गरेको बताए। उनले भने, ‘जनमतभन्दा पनि हतियारको दम्भ र त्रास देखाएर भोट जित्नेहरूका लागि हतियार प्रिय साधन बनेको छ।’
चुनावका लागि नेपाल भित्र्याउने उद्देश्यले वीरगन्जदेखि २२ किलोमिटरको दूरीमा अवस्थित भारतको रामगढवामा भण्डारण गरिएको ठूलो परिमाणको हतियार केही दिनअघि भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो। रामगढवाको मुर्गिया टोला निवासी महम्मुद हसरुलको निवासमा छापा मार्दा एउटा नाइन एमएम पेस्तोल, एउटा नलकटुवा बन्दुक, दुईवटा १२ बोरका बन्दुक, दुईवटा राइफल, दुईवटा एअरगन र दुई सय ८७ थान गोली बरामद भएको थियो। नेपालमा निर्वाचनका बेला उम्मेदवारलाई उपलब्ध गराउने उद्देश्यले हतियारहरू हसरुलको निवासमा थुपार्ने कार्य भइरहेको सूचनाका आधारमा छापा मारिएको एक भारतीय प्रहरी अधिकृतले बताए।

Post a Comment