नेपाली चिकित्सकको सोध उत्कृष्ट
- थाइल्याण्डको वैंककमा आयोजित बालरोग विषेशज्ञ चिकित्सकहरुको एसिया प्यासिफिक एसोसिएसनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एसिस्टेन्ट प्रोफेसर डा सतिस यादवको अनुसन्धान पत्रलाई उत्कृष्ट ठहर गर्दै पुरस्कृत गरेको छ ।
डा यादवलाई एक साता अघि उक्त पुरस्कार प्रदान गरिएको हो । नेपालको मध्यमाञ्चल क्षेत्रका पाँच बर्ष मुनिका बालबालिकामा हुने निमोनिया रोग बारे एक बर्ष लगाएर तयार पारेको डा यादवको वैज्ञानिक अनुसन्धान पत्रलाई उत्कृष्ठ ठहर गर्दै पुरस्कृत गरिएको थियो । उनी प्रतिष्ठानको बालरोग विभागको इमर्जेन्सी इन्चार्जका रुपमा कार्यरत छन् ।
नेपालको तर्फबाट एक जना आफुमात्र सहभागी भई प्रस्तुत गरेको अनुसन्धान पत्रले सवैलाई उछिनेर पुरस्कृत भएको सुनाउँदै उनले भने, 'विश्वका सुविधा सम्पन्न मेडिकल कलेजबाट पनि त्यहाँ वैज्ञानिक अनुसन्धान पत्र प्रस्तुत गरिएका थिए । तर मेरो अनुसन्धान पत्रले उत्कृष्ट पुरस्कार पाउँदा नेपाल र नेपालीको शीर उचो भएको मैले महसुस गरें । हामी पनि केही गर्न सक्छौं भन्ने थप उत्साह जागोको छ ।'
बालबालिकामा देखा पर्ने निमोनिया सामान्यतया चिसोले हुने भनिएपनि उनले आफ्नो अनुसन्धानमा कुपोषण, जन्मदा कम तौल, घर परिवारका सदस्यमा रुघा खोकी, घरै भित्रको गुम्साई मुख्य कारण रहेको निष्कर्ष निकालेका छन् ।
बैंककमा अक्टुवर २ देखि ४ सम्म आयोजित सम्मेलनमा अमेरिका, बेलायत, क्यानडा, इटली, जर्मन, जापान, भारत, चीन लगायत ३० मुलुकका ६ सय बालरोग विषेशज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो ।
Post a Comment