0

दार्जीलिङसम्म पुग्यो दसैं बहिस्कार

३० असोज, 
नेपाली हिन्दू समुदायले मनाउने दसैं पर्वले भारतको सिक्किम, दार्जीलिङ, खरसाङ, असाम र भूटानका नेपाली जातीलाई एउटै सांस्कृतिक सूत्रमा जोड्दै आएकोमा अब यो धागो चुँडिन थालेको छ । नेपालमाजस्तै दसैंको रौनक छाउने दार्जीलिङ र खरसाङमा यतिबेला जनजातिहरुले दसैं बहिस्कार गर्न थालेका छन् । अर्कातिर दसैं बहिस्कार अभियानले गोरखालीहरुको एकता कमजोर बनेको भन्दै चिन्ता छाउन थालेको छ ।
नेपाली भाषाबाट प्रकाशित भारतीय पत्रिका हिमालय दर्पणले खरसाङ डेटलाइनमा ‘दसैंको महत्व घट्दैछ : गोरखा एकताको निम्ति नकारात्मक संकेत’ शीर्षकमा भारतीय नेपालीको दसैंबारे विश्लेषणात्मक सामाग्री पस्केको छ । दर्पण पत्रिकाले दार्जिलिङ र खरसाङमा धमाधम दसैं बहिस्कार गर्न थालेको र त्यसको स्रोत नेपालका गोपाल गुरुङ रहेको बताएको छ ।
नेपालमा विभिन्न जातिले माओवादी विद्रोहलाई सघाएको र माओवादी मूल धारमा आइसकेपछि जातिहरुले आ-आफ्नो राज्य मागेको हिमालय दर्पणको विश्लेषण छ । तर, नेपालमा दसैं बहिस्कार हुन छाडेको र उताचाहिँ धमाधम सांगठानिक निर्णय गर्दै दसैं बहिस्कार अभियान सुरु भएको उल्लेख छ ।
 गोरखाल्याण्डमा घट्दै गएको दसैंको महत्वबारे यसरी लेखिएको छ :
‘विगत केही वर्षदेखि दसैंको मUntitled-2हत्व घट्दै गएको छ । यसरी दसैंको महत्व घट्दै जानुको कारण गोरखाहरुमा कतिपयजातले दसैं तिनीहरुको चाड नरहेको भन्दै यसलाई बहिस्कार गर्नु नै महत्वपूर्ण कारण रहेको जानकारहरुको भनाइ छ । विगतमा तामाङ जातिले दसैं पर्व हाम्रो होइन, यो हिन्दू धर्ममा आधारित पर्व हो र हाम्रो धर्म वौद्ध हो, दसैंजस्तो पर्व मनाउँदा हामीलाई जनजातिको दर्जा मिल्न गाह्रो पर्नेछ भन्दै धेरै तामाङहरुले दसैं बनाउन मानेनन् । त्यस समय यसरी तामाङ जातले दसैं नमान्नु गोर्खे एकताको निम्ति ठूलो बज्रघात मान्दै धेरैले विरोधसमेत गरेका थिए ।
गतवर्ष यता गोरखा समुदायकै एक जात राईहरुले पनि दसैं पर्व उनीहरुको नरहेको र यो पूर्ण रुपले हिन्दू धर्ममा आधारित पर्व हो, यो पर्व मान्दा राईहरुको धर्म, संस्कृति लोप भएर गएको ठहर गर्दै यसरी दसैं पर्व मनाउनाले नै जनजातिको मान्यता पाउन बाधा भएको समेत बताउँदै नमान्ने निर्णय लियो । किरात खम्बु राई सांस्कृतिक संस्थानले सम्पूर्ण पहाडभरिका राई जातिलाई नमान्न निर्देश पनि जारी गर्यो । यसो हुँदा गत वर्षदेखि अधिकांश राईहरुले दसैं मानेनन् ।
यसरी नै गोरखा समुदायकै अर्को एक जात भुजेल अथवा खवासहरुले पनि दसैं उनीहरुको चाड नरहेको ठोकुवा गर्दै, उनीहरुको आफ्नै रीति रिवाज, संस्कृति रहेको बताउँदै आफूहरुलाई पनि जनजातिको मर्यादा प्रदान गर्नुपर्ने सरकारसमक्ष माग राखी दसैं नमान्ने निर्णय लिएको हुँदा कतिपय भुजेलले दसैं नमानेको जानकारी प्राप्त भएको छ ।
यसरी नै गोरखा समुदायका अन्य जातहरु पनि जनजातिको मान्यताको दौडमा सरिक रहेर दसैं पर्व विषयमा चर्चा गर्दै ती जातका कतिपय मानिसहरु दसैं पर्व उनीहरुको नरहेको बताउँछन् । गुरुङ, मगर आदि जातहरुमा पनि सांगठानिक तौरमा दसैं नमान्ने निर्णय लिएको थाहा लागेको छ ।
दसैं पर्वले आफन्त, समाज र जातिमा एकता र सुमधुर सम्बन्ध बनाइराख्नमा मद्दत पुर्‍याउने धेरैको भनाइ छ । पहिलेको समयमा मितेर प्रथा रहेको र यस प्रथा अन्तरगत विभिन्न जात माझ मितेरी साइनो रहनाले तामाङ जातको मानिस बाहुनकोमा टीका लगाउन जाने, राई जातको सार्कीकोमा टीका लगाउन जाने अथवा नेवार जातका गुरुङकोमा जाने गर्थे भनी पाका व्यक्तिहरु बताउँछन् । यसरी एक अर्कामाझ आऊ जाऊ, सुमधुर सम्बन्ध दसैंमा हुने र दसैंलाई सबै जातले साझे पर्वका रुपमा पालन गर्ने हुनाले यस पर्वले गोर्खे जातीय एकतामा महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । यसरी दसैं पर्वको महत्व घट्दै जानु र यो पर्वलाई गोरखा समुदायका कतिपय जातहरुले मात्र छोड्नु भनेको गोरखा एकताको निम्ति नकारात्मक रहेको धेरैको विश्वास छ । गुरुङ, राई, लिम्बु, तामाङ खस आदि जातिको आ-आफ्नो धर्म, संस्कार, परम्परा र रीति रिवाज भएता पनि दसैं पर्व सम्पूर्ण जाति विशेषले बनाउने एकमुष्ट पर्व हो । यसैलाई गोरखा भनिन्छ ।
दसैं पर्व हाम्रो होइन भन्ने कुरोको तथ्य खोज्ने हो भने नेपालमा नै गएर ठोकिन्छ । नेपालमा यस विषयमा कहाँबाट कुरो चुलियो त भन्ने कुराको बोलो पहिल्याउँदा गोपाल गुरुङको लुकेको सत्यतिर समेत ठोकिन पुग्छन् विशेषज्ञहरु । गोपाल गुरुङको किताव र लेखहरुले एकसमय मंगोल र आर्यमाझ तीतोपना ल्याएको बताइन्छ । नाक चुच्चे र नाक थ्याप्चे माझको विवादास्पद कुरोले पछि जात जातको विभिन्न संघ संगठन जन्माएर माओवादी विद्रोहले निकै बल पाएको थियो । यसरी विभिन्न जातका संगठनहरुले माओवादी विद्रोहमा सहयोग गरेता पनि, माओवादीहरु गणतान्त्रिक पद्दतिमा बग्न राजी भएता पनि जातजातिका संगठनहरुले आफ्नै राज्य माग्न थाले ।
वर्तमानमा नेपालमा खम्बुवान, लिम्बुवान, याम्फुवान, मगरात, कर्णली प्रदेश, नेवा प्रदेश, मिथिला प्रदेशजस्ता स-साना राज्यहरुको कुरा उठिरहेछ र नेपाल एउटा अति सानो संघीय राष्ट्र बन्ने स्थितिमा छ । वर्तमानमा नेपाली राष्ट्रिय एकता र अखण्डताको निम्ति दसैं पर्व एक महत्वपूर्ण पर्व रहेको सबैले महसुस गर्न थालेको बताइन्छ र नेपालमा दसैं र टीका बहिस्कार जस्ता कुराहरु बन्द भएको पनि जानकारहरु बताउँछन् ।’

Post a Comment

 
Top