Latest News

0
डा. भगवान, जवाफ देऊ, मेरो बच्चा कसरी मर्‍यो?
कमला थापा :असोज १७ गते राति १० बजेतिर बिदा फारममा ‘६० दिने सुत्केरी बिदा’ भरेर सम्पादक (सञ्जय न्यौपाने) बाट स्वीकृत गराउँदा मेरो मनमा उत्साह मात्रै थियो। सुरुदेखि नै चिकित्सकीय सल्लाह दिइरहेकी डा.अर्चना अमात्यले मेरा पछिल्ला रिपोर्ट हेरेपछि भोलिपल्टै भर्ना हुन मलाई सल्लाह दिइन्। डेलिभरी डेट आउन दुई साता नै बाँकी रहँदा उनले दिएको सल्लाहले मलाई अलि नर्भस भने बनाएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगंज उनले सिफारिस गरेको अस्पताल थियो जहाँ मैले उनकै सिफारिसमा स्त्रीरोग विशेषज्ञ डा. निभा ओझासँग पनि नियमित जाँज गराइरहेकी थिएँ। डा. अर्चना टिचिङकी एशोसियट प्रोफेसर हुन्। टिचिङमा धेरै वर्षको अनुभव संगालेकी उनी अहिले सर्वाङ्ग स्वास्थ्य सदन कुपण्डोलमा काम गर्छिन्।
मेरो शरीरमा दुई दिनदेखि आएको एलर्जी र त्यसले दिने सास्ती मैले धेरैदिन बेहोर्न नपरोस भनेर डा. अर्चनाले डेट अगाडि नै डेलिभरीको सल्लाह दिएकी थिइन्। उनले त्यस दिन डा. निभालाई फोन गरिन् र भनिन्, “हामी दुबै जनाले हेरेको पेसेन्ट कमलाको अचानक एलर्जी देखियो, इट मे बी प्रेग्नेन्सी रिलेटेड, म भोलि नै लेवर(प्रसुती) वार्डमा पठाउँछु, सबै रिपोर्टहरू ठीक छ, डेलिभरीको प्रोसेसमा पठाइदिनू।”

म भोलिपल्ट आठ बजे टिचिङ पुगे । डा. निभाले मेरो छाला, रगत र बच्चाको धड्कन जाँचेपछि सोमबार आउनू भनिन्। त्यसै दिन मैले थाहा पाएँ टिचिङमा प्रसुतीका लागि बेड पाउनु मुस्किल रहेछ। प्यासेजमा प्रसव पीडाले छटपटाइरहेका महिला, डाक्टरहरूको वेवास्ता र नर्सहरूको चुरीफुरीले पहिलो दिन नै मलाई नमिठो लाग्यो। साथीभाइले सल्लाह दिए अरु कुनै अस्पताल जाउ। तर मैले नियमित जाँच गराइरहेको डाक्टर र अस्पताल छोडेर अन्तिम अवस्थामा अन्यत्र जाने आँट गरिन। त्यसो त नियमित जाँच गराउन जाँदा त्यहाँका स्टाफहरूको व्यवहारले मलाई इरिटेड नबनाएको होइन। तर डेलिभरी सरकारी अस्पतालमै गराउनु राम्रो भन्ने सल्लाह मान्दै हामी (म र मेरो श्रीमान) ले टिचिङ अस्पताल रोजेका थियौं।

म सोमबार विहान फेरि अस्पताल पुगें। बानेश्वरदेखि टिचिङसम्मको त्यो यात्रा मेरा लागि अरु दिन भन्दा फरक थियो। जाँदा एक्लै भएकी म भोलिपल्ट दुई भएर फर्किने उमंग थियो। बाटोबाटै मैले अमेरिकामा रहेका श्रीमानलाई फोन गरेँ र मन बलियो बनाएँ। त्यो दिन पनि प्यासेजमा प्रसव पीडाले रोइरहेका महिलाहरूको चाप थियो। १० बजे विहान मैले नाम दर्ता गराएँ। केही बेरमा डा. निभा आइन्। उनले ड्युटीमा रहेका अरु डाक्टरलाई मेरोबारे बताइन र बेड खाली नभए भोलिपल्ट आउनुपर्ने पनिहुनसक्छ है भन्दै बाहिरिइन्। नियमित जाँच गराइरहेकी भए पनि डा. निभासँग मैले अपनत्व महसुस गरेकी थिइन जति डा. अर्चनासँग थियो। मैले यहीँनेर सरकारी र निजी अस्पतालमा डाक्टरले गर्ने व्यवहारबीच भेद पाएँ।

१२ बजेतिर मलाई बेलुका ४ बजे आउनु भनियो। मलाई त्यो दिन पनि बेड नभएर फर्किनुपर्ने डर थियो। मैले देखेकी थिएँ, प्यासेजमा तारन्तार व्यथा लागेका महिलाहरू रुँदै कराउँदै बेड खाली हुने समय कुरिरहेका थिएँ। म फेरि चार बजे फर्किएँ। मेरो शरिरमा एलर्जी बढ्दै गएको थियो। दुई घण्टा जति अन्योलमा विताएपछि साँझको ड्युटीमा रहेकी बस्नेत थरकी एक डाक्टरले मलाई त्यसै दिन भर्ना गरिने बताइन्। आठ बजेतिर मेरो भर्ना प्रक्रिया सुरु भयो। अनि फेरि मेरो मन रोमान्चित भयो डरले, उत्साहले। मैले बाहिर कुरिरहेका आफन्तहरूसँग कुरा गरेँ। घरमा रहेका आफन्तहरूलाई फोन गरेँ। र, श्रीमानसँग च्याटमा केहीबेर कुरा गरेँ।

लेबर वार्डबाट तीन दिनदेखि विमार लागेका महिलाहरूलाई पनि फर्काइँदै थियो। गोरखादेखि ल्याइएकी एक महिलालाई त्यसैगरी फर्काइयो। ब्यथा लागेको तीन दिन भएको बताउने ती महिलालाई भर्नाका लागि रकम डिपोजिट गरीसकेपछि पनि जबरजस्ती अर्को अस्पताल जान भनियो। बेडमा सुताइएकी श्रीमतीलाई उठाएर उनका श्रीमानले डिपोजिटको पैसा र अरु औषधी फिर्ता गराई बेलुका १० बजे कुन अस्पताल लगे होलान्? म प्रसुती भर्ना दर्ता कोठाको मेचमा बसेर धेरैबेर सोचेँ।

प्रसवको चिच्याहट, जताततै लतपतिएको रगत र त्यसबाट निस्किएको दुर्गन्ध। रातको १२/१ बजेतिर लेबर रुम छिर्दा मलाई नर्क त्यही हो जस्तो लाग्यो। ड्युटीमा रहेका डाक्टरहरूलाई विरामीको पर्वाह भन्दा धेरै एक अर्काप्रति गुनासो गर्दै वेफुर्सद। मैले कुनै पनि डाक्टरले विरामीले राखेको जिज्ञासामा नझर्की र बुझ्ने गरी जवाफ दिएको पाइन। मैले भित्तामा राखेका पम्पलेट, जानकारीहरू पढेर जिज्ञासा मेटाएँ। किनकी डाक्टर, नर्ससँग सोध्नु भनेको अर्को झर्किफर्की सुन्नु वा नराम्रो ब्यवहार खेप्नु थियो।

लेवर रुम त्यहाँ हुने फोहोर, दुर्गन्ध, महिलाहरूको चिच्याहटले मात्रै होइन, एकाध बाहेक धेरै डाक्टर र नर्सहरूले गर्ने व्यवहारले पनि नर्कजस्तो बन्दो रहेछ। सिनियर डाक्टर अब्जर्भेसनमा आउँदा बाहेक उनीहरू एकले अर्कोको नकारात्मक टिप्पणी नगरेको सुनिएन। प्रसव वेदना र चिच्याहटबीच पनि व्यक्तिगत हासीमजाकमा व्यस्त प्रशिक्षार्थी डाक्टर र नर्सको के कुरा। उनीहरू दशैं सपिङ र घुमफिर योजना बनाउनै तल्लिन देखिन्थे। एक महिलाले उनका आफन्तसँग पानी र जुस मगाइदेउ, मलाई गाह्रो भयो भन्दा एकजना नर्स अर्कीतिर फर्केर मुर्मुरिइन्, ‘मैले त यस्तो पेसेन्ट देखेकै थिइन्।’ त्यस्तो व्यवहारको प्रत्यक्ष प्रतिकार गर्न नसकेका कुरुवा वार्ड वाहिर आक्रोश पोख्थे। मलाईअस्पतालको त्यो वातावरण गाउँको कुनै पानी पँधेरो भन्दा भिन्न लागेन। पेशागत व्यवसायिकतालाई पँधेर्नी गफले शून्यमा झारेजस्तो।

लेवर रुम बाहिर निस्किँदा धेरै आमाहरूले त्यहाँको नारकीय अवस्था विर्संदा रहेछन्, किनकी उनीहरूसँग बच्चा हुन्छ। आफ्नै कपी जस्तो लाग्ने सानो अनुहार र रुवाई हुन्छ जस्ले नौ महिनासम्मको अफ्ठेरो र प्रसब पीडा बिर्साउँछ। मसँग भने लेबर रुम छिर्दा ढोकामा खोलेको एकजोर चप्पल र अपरेशन थिएटर छिर्दा खोलेको एकसरो गाउन शिवाय केही थिएन। थियो त, एक रात र एक आधा दिन मैले त्यहाँभित्र बिताएको कष्टपूर्ण क्षण र रुखो व्यवहारको तितोस्मरण।

नर्मल डेलीभरीका लागि भर्ना भएकी मलाई १२ घण्टा जतिपछि डाक्टरले अपरेशनमा लैजाने डिसिजन गरेका थिए। त्यति नै बेला एक डाक्टरले सहकर्मीसँग रिसाउदै ‘यो पेसेन्टलाई दुई घण्टा अगाडि नै अपरेशन गर्नुपर्छ भन्दा कसैले सुनेन..’ भन्दै अपरेशनका लागि तयार भए। अपरेशन थिएटरमा लैजानुअघि मेरो सबै जाँच गरियो र बच्चाको धडकन ठीक रहेको बताइयो। अपरेशन सुरु गरेको १० मिनट नपुग्दै मेरो अपरेशन नेतृत्व गरेका डाक्टरले ‘पाँच मिनेटमा बेबी आउट’ भनेको मैले अर्ध बेहोस अवस्थामा सुनें तर बच्चा रोएको सुनिन। अपरेशनपछि रिकभरी रुममा राखिएका बेला ती डाक्टर मेरो नजिक आए र भने,“तपाईको बच्चाले आफै सास फेर्न सकिरहेको छैन, हामी कोशिस गर्दै छौं, रेष्ट गर्नुस्।”

त्यसपछि मलाई कसैले बच्चाको अवस्थाबारे बताएनन्। मेरा आफन्तहरूले आइसियूमा राखिएको र ठीक हुने आश्वासन दिँदै झार्न नसकेका आँसु लुकाएर जाँदा रहेछन्। मैले त्यसबेलासम्म केही अनिष्ट सोचिन। मैले पुज्ने सबै भगवानलाई सम्झें, डाक्टरको भरोसा गरेँ।

अपरेशनको तेस्रो दिन, जब आफन्तहरूले भगवानले नचाहेको कुरा हुँदैन पीर नगर भन्न थाले अनि मैले बुझें नौ महिनादेखि मैले आफूसँग अनुभूत गरेको मेरो अर्को रुप मैले देख्नै नपाई झर्यो‍। मैले डाक्टरहरूलाई सोधें, “तिमीहरूको मेडिकल रिपोर्टले सबै नर्मल भन्थ्यो कसरी यस्तो भयो ?”तर, मलाई कसैले जवाफ दिएन । डा. निभा र उनको टिमकी सिनियर डा. निता सिंहको जवाफ थियो, “बच्चाको घाँटीमा साल बेरिएको थियो, त्यही मृत्युको कारण हुन सक्छ।” यो जवाफ सुन्ने धेरैले भन्छन्,“साल बेरिएर बच्चा मर्दैन। बच्चा सालमै बेरिएर पनि जन्मिन्छ।” त्यसमाथि पनि सुविधा सम्पन्न अस्पतालमा डाक्टरको निगरानीमा रहेको अवस्थामा साल बेरिनु एकदमै सामान्य हो रे।

‘भगवानको इच्छा हो हामीले चाहेर केही हुँदैन, सबैलाई यस्तो पर्छ, चित्त बुझाऊ’ अहिले मलाई सबैले यस्तै भन्छन्। मेरा हजार प्रश्नमा डाक्टरको जवाफ हुन्छ, ‘जे भयो भैहाल्यो, चित्त बुझाऊ ।’ सबै भगवानको देन हो, उनकै अनुसार चल्ने हो भने सुरुमै मलाई मन्दिर जान र अस्पताल नजान किन कसैले सुझाएन? के अस्पताल र डाक्टर माध्यम मात्रै हुन्? जसले राम्रो हुनुको जस र नराम्रो हुनुको अपजस सित्तै भोगिरहेका छन्।

अस्पतालबाट डिस्चार्ज भैसकेपछि पनि म र मेरो श्रीमान फर्किएर दोस्रो तेस्रो पटक अस्पताल गयौं । डाक्टरलाई भेटेर सोध्यौं,“खराबी कहाँ थियो ?” डाक्टरको जवाफ थियो, “मेडिकल लाइनमा केही थोरै यस्ता केश हुन्छन् जसको जवाफ हामीसँग पनि हुँदैन।”

टिचिङ छिर्दा–निस्कँदा अस्पतालको करिडोरमा ओजपूर्ण व्यक्तित्वसहित दौडिरहने त्यहाँका कार्यकारी निर्देशक तथा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालालाई देख्दा मलाई विश्वास थियो, “डाक्टरहरू मैले पुज्ने ढुंगाका देवता भन्दा माथि छन् र अस्पताल मन्दिर भन्दा सुरक्षित ।” अहिले मेरो यो विश्वासप्रति तिम्रो अस्पताल पनि ढुंगाको देवता झै मौन छ । तिम्रो अस्पतालसँग किन कुनै जवाफ छैन डा. भगवान ?
डा. भगवान, मसँग शिक्षण अस्पतालका डाक्टरद्वय मिता र निभासँग बच्चाको मृत्युबारे गरिएको एक घण्टा लामो अडियो संवाद सुरक्षित छ। घटनाप्रति सामान्य मानवीय समवेदनासमेत नभएका डाक्टरको संवाद सुन्दा लाग्छ तिनीहरूमा विकट गाउँमा अस्पतालको विकल्पको रुपमा काम गरिरहेका सुडेनीसँग जति पनि पेशागत मर्यादा र जवाफदेहीता छैन। सामान्य चिकित्सकीय आचारसंहिता समेतको ख्याल नगरी भर्खरै शिशु गुमाएकी आमा र पोष्ट अपरेशन वार्डमा राखिएका विरामीको सामु के बोल्नु हुन्छ के हुदैन भन्ने समेत हेक्का नभएका चिकित्सकको व्यवहारको अनुगमन कसले गर्ने? चिकित्सककै परीक्षणले असामान्य नदेखेको तर विनाकारण बच्चा गुमाएर अस्पताल शैयामा रोइरहेकी आमाको अगाडि चिकित्सकीय पोशाकमा रहेकी डाक्टरले झपार्दै “रुनु पर्दैन, अर्को बच्चा बाँचिहाल्छ नि” भनेर दिने जवाफ कुन आचारसंहिता भित्र पर्ने हो ?

डा. भगवान, के विरामीका आफन्तलाई अस्पतालले गराउने मन्जुरीनामा (विरामीको अपरेशन अगाडि गराइने विभिन्न सर्तसहितको मञ्जुरीनामा पत्र) मा हस्ताक्षर नै चिकित्सकीय लापरवाहीको लाइसेन्स हो? वा घटनाको जवाफदेहिताबाट उन्मुक्तिको कवच हो? जंगलमा कुहिएका महिनौं पुराना शवको पोष्टमार्टम गरी मृत्युको कारण बताउन सक्ने चिकित्सा विज्ञान यति निकम्मा भइसक्यो जसले प्रत्यक्ष रुपमा १५ घण्टा र अप्रत्यक्ष रुपमा ८ महिनादेखि आफ्नो निगरानीमा राखेर जन्माइएको शिशुको मृत्युको कारण चिकित्सा विज्ञानसँग छैन भन्दै सम्भावनाका सूची मात्र पेश गर्न सक्छ? राजधानीका दुई नाम चलेका चिकित्सकको नियमित चेकजाँचमा रहेकी म तिनै डाक्टरको सिफारिसमा शिक्षण अस्पतालको प्रसुती वार्डमा भर्ना हुने अघिल्लो दिनको राती १० बजेसम्म अफिसको नियमित काम गरिरहेकी थिएँ। चार दिन अगाडि गरिएको भिडियो एक्स–रे रिपोर्ट हेर्दै बच्चा स्वस्थ छ भनेर बधाइ दिने तिनै चिकित्सक हुन् जसले १५ घण्टा भन्दा बढी शिक्षण अस्पतालको शैय्यामा बेला–बेला आएर बच्चाको धड्कन जाँच्दै सबै नर्मल छ भनेर मलाई आस्वस्त पारे। शंकाको कुनै ठाउँ दिएनन्। अन्ततः अप्रेशन गरी बच्चा निकाल्ने र बचाउन नसक्ने अनि मृत्युको स्पष्ट कारण समेत बताउन नसक्ने चिकित्सक कुनै जवाफदेहिताको घेरामा बाँधिनु नपर्ने यो कस्तो विडम्वना?

डा. भगवान, मलाई मृत्यु प्रमाणपत्रमा गोलमटोल भाषामा लेखिएको कथित कारण हैन घटना प्रकृतिका आधारमा जवाफदेहितासहित मेरो बच्चाको मृत्युको कारण चाहिएको छ।

लेखिका कारोवार आर्थिक दैनिककी प्रमुख संवाददाता हुन्

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top