0

ओली र सिटौलालाई जित्नैपर्ने चुनौती 


 कार्तिक १७ -

 अघिल्लो संविधानसभा निर्वाचनमा पराजित कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता केपी शर्मा ओलीलाई यसपटक जित्नै पर्ने चुनौती छ । विगतभन्दा माहोल राम्रो बनेको भन्दै दुवै उत्साहित छन् ।
सिटौलाविरुद्ध एमाओवादीकी उम्मेदवार धर्मशिला चपागाईं, एमालेका वसन्त बानियाँ र राप्रपा नेपालका राजेन्द्र लिङदेन उभिएका छन् भने ओलीको प्रतिस्पर्धीका रूपमा एमाओवादीका गोपाल किराँती, कांग्रेसका सुरेश सुब्बा, राप्रपा नेपालका राम थापा मैदानमा छन् ।
एमाओवादी नेता किराँती सोलुबाट ओलीलाई दोस्रोपटक पराजित गर्ने भन्दै तराई झरेका छन् । ओलीले उनी केही समयका लागि खाजा बोकेर झापा झरेको भन्दै व्यंग्य गरे । शाही शासनकालका जिल्ला विकास समिति झापाका पूर्वसभापति लिङदेनले 'जसरी पनि सिटौलालाई हराउने' रणनीति लिएका छन् । पूर्वसभापति भएका बेला त्यस क्षेत्रको विकासमा चासो दिएका उनी विशेषगरी कांग्रेसका मतदाता तान्ने कसरतमा छन् । 'मैले जित्ने भएपछि अरूले हार्छन्' लिङदेनले भने, 'विगतको विकास निर्माण र एजेन्डाका कारण मतदाताले विश्वास दिनुभएको छ ।'
 झापा ७ का एमाले उम्मेदवार ओली सामु जनजाति मतदाता तान्ने, मतदाताका घर-घर पुग्न गाह्रो हुनेलगायतका कारण छन् । अन्य प्रमुख पार्टीका उम्मेदवारलाई जनजातिको मत बाँडियो भने ओलीलाई फाइदा पुग्न सक्छ ।
 झापा ३ का उम्मेदवार सिटौला कांग्रेस ठूलो पार्टी नबनेकाले यसका उम्मेदवारलाई जिताएर संविधान, शान्ति प्रक्रिया र विकास निर्माणले तीव्रता पाउने भन्दै मतदाता उत्साहित भएको दाबी गरे । 'शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने म आफैं पराजित हुनु पर्‍यो । सायद मैले जितेको भए संविधान बन्थ्यो कि, शान्ति प्रक्रिया टुंग्याउन सहज हुन्थ्यो कि, भन्ने जनअपेक्षा रहेछ,' उनले कान्तिपुरसँग भने, 'तसर्थ कांग्रेसले बहुमतका साथ नेतृत्व पाए आगामी दिनमा सबै दलहरूलाई डोर्‍याउन सक्छ ।' उनले 'संविधान लेख्नकै लागि कांग्रेसलाई जनताले बहुमत दिने' उल्लेख गर्दै 'संविधान निर्माण, दिगो शान्ति, सामाजिक सुरक्षा, आर्थिक प्रगति र देशको सर्वांगीण विकासलाई कांग्रेसले प्रमुख एजेन्डा बनाएको' बताए ।
हालसम्म प्रतिस्पर्धी कसैलाई नठानेका सिटौलाले '२०४८ सालदेखि निरन्तर यो क्षेत्रको उम्मेदवार बनेको बताए । 'जित्दा अथवा हार्दा नै किन नहोस मैले आफ्नो क्ष्ाेत्र छाडेको छैन । २०५६ सालको उपनिर्वाचन जित्दाका बेलाभन्दा अहिलेको माहोल अत्यन्तै राम्रो पाएको छु' उनले थपे ।
 एमाओवादी उम्मेदवार चापागाईंले 'संविधानसभाबाटै नयाँ संविधान र विकासमा छलाङ हाम्रो मुख्य मुद्दा भएकाले' जित्ने दाबी गरिन् । ओलीले सोलुबाट 'खाजा' बोकेर झरेका किराँतीलाई मंसिर ४ पछि र्फकने भन्दै कटाक्ष गरे । प्रतिस्पर्धी उम्मेदवार भएकाले दुवैको आरोप प्रत्यारोप एउटै विषयमा मात्र देखिन्छ । ओली भन्छन्, 'सोलुखुम्बुबाट खाजा सामल बोकेर गोपाल किराँती मधेसतिर घुम्न आएका हुन् । मसिर ४ मा खाजासामल पनि सकिन्छ, काम पनि सकिन्छ । अनि उतैतिर लाग्छन् ।' उता किराँती भन्छन्, 'नेपाली व्याकरण बिगार्न माहिर केपी ओली भ्रम्ा छर्न सिपालु हुनुहुन्छ । उहाँको भ्रम्ालाई चिर्न सक्नुपर्छ चुनाव नजित्ने कुरै छैन ।'
अघिल्लो निर्वाच्ानमा एमाओवादीका उम्मेदवार विश्वदीप लिङदेनसँग पराजय भोगेका ओली यसपटक सजिलै चुनाव जित्ने दाबी गर्छन् । 'विगतमा आफूले गल्ती गरेको मतदाताले महसुस गरिसके' शुक्रबार कान्तिपुरसित उनले भने, 'सचेत मतदाताले यसपालि सही निर्णय गर्छन् ।'
शान्ति प्रक्रियाको कामलाई पूर्णता दिनु र मुलुकमा स्थिर लोकतान्त्रिक व्यवस्था स्थापना गर्नु आफ्नो मूल चुनावी एजेन्डा रहेको ओलीले बताए । 'यसबाहेक मुलुकलाई समृद्ध बनाउने आर्थिक एजेन्डा पनि छन् हामीसँग' उनी भन्छन् । स्थानीय रूपमा दमक, रबी, चिसापानी सडकलाई परियोजनाको रूपमा विकास गर्ने, सीमा क्षेत्रको गौरीगन्ज भन्सारको स्तर वृद्धि गरी दमकलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्न, रतुवा र मावा नदी नियन्त्रण आदि पनि एमालेका एजेन्डा छन् ।
किराँतीले आफूलाई संघीयवादीको अगुवाको रूपमा प्रस्तुत गरेका छन् । 'पिछडिएका जनजाति, क्षेत्र, मुस्लिम, दलित, महिला आदिको उत्थानका लागि पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान हाम्राे मूल एजेन्डा हो' उनले भने । दमक, रबी, चिसापानी सडक निर्माण, आदिवासी रंगशाला, गाउँ-गाउँमा सडक निर्माण आदि आफ्ना स्थानीय एजेन्डा भएको उनले बताए । आफ्ना अघिल्ल्ाा सभासदको नकारात्मक भूमिकाका कारण एमाओवादीलाई जनतालाई जवाफ दिन मुस्किल भएको छ । पार्टी आचरणविरोधी काम गरेको भन्दै सभासद भएको केही समयपछि उनलाई साधारण सदस्यबाट पनि एमाओवादीले निकालेको थियो ।
उता माओवादीले आफ्ना विगतका प्रतिबद्धता र जनाधार यथावत् रहेको दाबी गरेको छ । एमाओवादीको क्षेत्र नम्बर ७ का संयोजक गगन पुरी भन्छन्, 'विचार र दृष्टिकोणमा हामी जति स्पष्ट अरू कोही छैनन् । फेरि यो ६ वर्षमा एमाओवादीले जति अरू कसले भित्र्यायो विकास ?'
भाषण गर्दागर्दै एमाओवादीका किराँतीको गला भासिएको छ । कार्यकर्ता गाडीमा माइक राखेर उनको रेकर्डेड भाषण सुनाउँदै घरदैलोमा जुटेका छन् ।
एमाओवादीले आफ्नो प्रतिस्पर्धा एमालेसँग हुने भनेको छ भने एमालेले कांग्रेसलाई प्रतिस्पर्धी ठानेको छ । भाषण गर्दा विपक्षीका नाममा कडा कटाक्ष गर्ने दुई प्रतिस्पर्धी ओली र किराँती नेताहरूको वाक शैली अहिले बदलिएको छ ।
झापा १ मा एमाओवादी, कांग्रेस र एमालेका युवा उम्मेदवारबीच प्रतिस्पर्धा छ । कांग्रेसका विश्वप्रकाश शर्मा, एमालेका रविन कोइराला र एमाओवादीका बोधराज दाहाल छन् ।
 एमाओवादीका दाहालले अघिल्लोपटक पनि जितेका कारण यसपटक हार्ने सम्भावना नरहेको दाबी गरे । कांग्रेसका शर्माले कांग्रेसको अग्रसरतामा मात्रै शान्ति सम्झौता टुंगिएर गणतन्त्र स्थापना भएको स्मरण गराउँदै त्यही योगदानलाई कदर गर्दै जनताले आफूलाई मत दिने दाबी गरे ।
एमालेका रविन कोइरालालेचाहिँ विगतका सभासदले गतिलो भूमिका खेल्न नसकेको उल्लेख गर्दै पार्टीको आधार राम्रो भएकाले जित्ने आधार भएको बताए ।
झापा ४ मा एमाओवादीको पुरुषोत्तम चुडाल, कांग्रेसका उद्धव थापा, एमालेका प्रेम गिरी प्रतिस्पर्धामा छन् । ५ मा एमाओवादीका झलकबहादुर दर्लामी, कांग्रेसका केशवकुमार बुढाथोकी, एमालेका एलपी सावा प्रतिस्पर्धामा छन् । ६ मा एमालेका दीपक कार्की, कांग्रेसका रामकुमारी पौडेल र एमाओवादीका पुष्प ढकाल भिड्दैछन् ।

Post a Comment

 
Top