0

माओवादी प्रचार दाहालकी 'बुहारी’ मा मात्र केन्द्रित
कार्तिक १६ -  
महाकाली अञ्चलको राजनीतिको केन्द्र मानिने कञ्चनपुरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगरको उम्मेदवारी र भडकलो प्रचार यहाँका मतदाताबीच चर्चा र बहसको विषय बनेको छ । पार्टीको केन्द्रीय नेतादेखि कञ्चनपुरको सिंगो पार्टीपंक्ति क्षेत्र नं १ की उम्मेदवार मगरको प्रचारमा उत्रिएपछि जिल्लामा सबै राजनीतिक दलको चुनावी चहलपहललाई ओझेलमा पार्दै उनी चर्चा र बहसको विषय बनेकी हुन् ।
कञ्चनपुरका चारै क्षेत्रका धेरैजसो कार्यकर्ता मगरको प्रचारमा जुटेका छन् । जिल्लाका कार्यकर्ताले नपुगेर एमाओवादी हेडक्वार्टरको निर्देशनमा उनको पक्षमा अवध राज्य समितिका सदस्य बुटवलका गुणाखर भुसालदेखि कैलाली ३ का पूर्व सभासद वीरबहादुर चौधरीसम्म जुटेका छन् । कांग्रेस छाडेर एमाओवादी प्रवेश गरेका क्षेत्र नं ४ का नेता इन्द्रबहादुर खत्रीसमेत मगरकै क्षेत्रमा खटिएका छन् । मगरको क्षेत्रमा एमाओवादीले चुनावी आचारसंहिता उल्लंघन पनि गरिरहेको छ । एक उम्मेदवारले दुइटा मात्र गाडी प्रयोग गर्न पाइने भए पनि यहाँ ६ वटा गाडी र एउटा गाविसमा ४० देखि ६० वटासम्मका दरले मोटरसाइकल प्रचारमा उतारिएको छ ।  
एमाओवादी केन्द्रीय कार्यालयले अरू तीन क्षेत्रको तुलनामा मगरको क्षेत्रमा प्रचार सामग्री र साधन स्रोतसमेत बढी पठाइरहेको छ । एमाओवादीको यस जिल्लामा जति पर्चा, पम्प्लेट र पोस्टर छन्, त्यसको आधाभन्दा बढी मगरकै क्षेत्रमा छन् । दसवटा घरका मतदातालाई एमाओवादीका पक्षमा उभ्याए एक लाख रुपैयाँका दरले दिने प्रलोभनसमेत व्यापक रूपमा बाँडिएको र त्यही हिसाबले खर्चसमेत गरिरहेको दाबी कांग्रेस र एमालेको छ ।
एमाओवादीले विद्यार्थी नेतृ मगरलाई क्षेत्र नं १ बाट पार्टीको उम्मेदवार बनाएपछि पार्टीभित्र र बाहिर उनको विवादास्पद छविको चर्को विरोध भएको थियो । अध्यक्ष दाहालको प्रयासमा पार्टीभित्र मगरको विरोध र बागी उम्मेदवारीको समस्या मात्र साम्य भएको छैन कि उनको पक्षमा केन्द्रदेखि जिल्लाका नेता तथा कार्यकर्ता प्रचारमा जुटेका छन् । क्षेत्र नं १ को प्रचारप्रसार यति झकिझकाउ छ कि त्यसले एमाओवादीको चिन्ता र केन्द्रविन्दु नै यही क्षेत्र हो भन्ने देखिन्छ ।
पार्टीको केन्द्र र जिल्लाबाट विशेष प्राथमिकता पाएको सम्बन्धमा जिज्ञासा राख्न खोज्दा मगरसित फोन सम्पर्क हुन सकेन । एमाओवादीका केन्द्रीय सदस्य टिकेन्द्र भट्टले भने घुमाउरो पारामा जिल्लाका सबै क्षेत्रले विशेष प्राथमिकता पाएका बताए । 'मगरको मात्र होइन, केन्द्रबाट जिल्लाका सबै क्षेत्रले प्राथमिकता पाएका छन्,' भट्टले कान्तिपुरसित भने ।
कांग्रेस र एमालेलगायत दलले मगरले चुनाव आचारसंहिता उल्लंघन गरी बढी गाडी प्रयोग गरिरहेको, साधनस्रोत र पैसा बढी खर्च गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय, कञ्चनपुरका प्रवक्ता जगदीश भट्टले भने मगरबारे मौखिक उजुरी आए पनि लिखित नआएको र आफ्नो कार्यालयले आचारसंहिता उल्लंघन गरिरहेका मगरसहितका सबै उम्मेदवारलाई आचारसंहिता पालना गर्न लिखित रूपमा सचेत गराएको बताए ।
मगरको चर्चाले यो जिल्लामा कांग्रेसका केन्द्रीय सदस्य एनपी सावद, एमाओवादीका वैकल्पिक केन्द्रीय सदस्य टिकेन्द्र भट्ट, एमालेका महाकाली इञ्चार्ज एवं केन्द्रीय सदस्य उर्वादत्त पन्त, कांग्रेसकै युवा हस्ती रमेश लेखकसमेत ओझेलमा परेका छन् । यो जिल्लाको जुनसुकै ठाउँमा जाँदा त्यो क्षेत्रको उम्मेदवारमध्ये कसले जित्छ होइन मगरको के हुन्छ, भन्नेमात्र आमजनताबीच चर्चा हुने गरेको छ ।
मगरसित क्षेत्र नं १ मा कांग्रेसका दिवानसिंह बिष्ट र एमालेका लालबहादुर विश्वकर्माले कडा टक्कर दिइरहेका छन् । ०६४ सालमा यही क्षेत्रबाट जितेका एमाओवादीका पुरन राना अहिले पार्टीबाट समानुपातिक उम्मेदवार छन् । क्षेत्र नं १ का कांग्रेस र एमाले दुवैका उम्मेदवार चुनावी प्रचारप्रसार र तडकभडकमा मगर अगाडि भए पनि मतका हिसाबले आफूहरू अगाडि रहेको बताउँछन् ।
एमाओवादीका अघिल्लो संविधानसभामा विजयी भट्ट नै क्षेत्र नं ३ मा उम्मेदवार छन् । पार्टीको हैसियतले भट्ट माथि भए पनि मगरको क्षेत्रले जति प्राथमिकता पाइरहेको छ, उनले एक छेउ पनि पाउन सकेका छैनन् । भट्टसित कांग्रेसका बहादुरसिंह थापा र एमालेका नरबहादुर धामी प्रतिस्पर्धी हुँदैछन् । थापा कांग्रेसका जिल्ला सभापति एवं अघिल्लो चुनावका निकटतम प्रतिस्पर्धी हुन् भने धामी ०६२/६३ को आन्दोलनको जुझारु विद्यार्थी नेता हुन् ।
क्षेत्र नं २ मा कांग्रेस नेता सावदलाई एमाओवादीका आदिवासी उम्मेदवार अमिनप्रसाद दहित र एमालेका तारा लामा तामाङले कडा चुनौती दिइरहेका छन् । अघिल्लो संविधानसभामा यही क्षेत्रबाट जितेका देवीलाल चौधरी नेकपा-माओवादीमा गएको र एमाओवादी फुटेका कारण सावद विजयी हुने कांग्रेसले दाबी गरेको छ । कांग्रेसका अमरसिंह राना फोरम -लोकतान्त्रिक) बाट उम्मेदवार बनेकाले सावद होइन, आफू विजयी हुने एमाओवादी र एमालेको दाबी छ । यो क्षेत्रमा सुदूर डडेलधुरासहितका सुदूर पश्चिमका पहाडी जिल्लाका बाहुन/छेत्रीको बढी मतदाता छन्, सावदको पुख्र्यौली घर डडेलधुरा भएकाले उनले भेगीय नाताले समेत यो मत बढी पाउने र विजयी हुने कांग्रेसीहरू बताउँछन् ।
क्षेत्र नं ४ मा कांग्रेसका रमेश लेखक र एमालेका उर्वादत्त पन्त तथा एमाओवादीका मोहन गिरी प्रतिस्पर्धामा छन् । यो क्षेत्रमा राप्रपाका धर्मराज जोशीसमेत चर्चामा छन् । उनीसमेत प्रतिस्पर्धामा आउने दाबी राप्रपाको छ । यो क्षेत्रमा मतदाता बढी भएका महाकाली पारिका चाँदनी र दोधारा गाविस निणर्ायक मानिन्छन् । यी दुई गाविसका मुद्दा जुन उम्मेदवारले बढी उठाउन सक्छ, त्यही उम्मेदवारले जित्ने स्थानीयवासी बताउँछन् ।
कञ्चनपुर र कैलालीलाई समेत थरूहट प्रदेशमा राख्ने एजेन्डा यहाँका चारै क्षेत्रका एमाओवादी उम्मेदवारलाई केही समस्यामा पारेको छ । यहाँका थारू समुदायबाहेक बहुसंख्यक मतदाता 'अखण्ड सुदूर पश्चिम' को पक्षमा छन् । कञ्चनपुरमा २० प्रतिशतको हाराहारीमा मात्र थारू मतदाता छन् । कांग्रेस र एमालेले त्यही कारण चुनाव जित्न अखण्ड सुदूर पश्चिमको नारा घन्काइरहेका छन् ।
एमाओवादीका केन्द्रीय सदस्य भट्ट जातीय पहिचानसहितको संघीयता र परिवर्तनको एजेन्डा बोकेको आफ्नो पार्टीले अघिल्लो संविधानसभामा जस्तै जिल्लाका चारै सिट जित्ने दाबी गर्छन् । चारै क्षेत्रमा प्रतिस्पर्धा भने कांग्रेससित हुने उनी बताउँछन् । कांग्रेसका लेखकले भने यसअघि विजयी एमाओवादीले देशलाई संविधान र सुदूर पश्चिमलाई विकास निर्माण दिन नसकेकाले यस पटक आफ्नो पार्टीले चारै सिट जित्ने बताउँछन् । उनी कांग्रेसको क्षेत्र नं. २, ३ र ४ एमालेसँग र १ मा माओवादीसँग प्रतिस्पर्धा हुने बताउँछन् ।

Post a Comment

 
Top