आलम हत्या प्रकरण: कुशहवाको दाउद कनेक्सन
,१६ कातिक
‘एउटै मियानमा दुई तलबार नरहे’ जस्तै एउटै जिल्ला त्यसमा पनि एउटै क्षेत्रमा दुई शक्ति रहन सक्ने कुरै भएन त्यो पनि एउटै ‘ग्याङ’ र एउटै शक्तिबाट परिचालित । नेकपा एमालेका यी दुईजना नेता रामचन्द्र कुशवाहा र महमुद आलम पार्टीमा मात्र होइन कि अन्तर्राष्ट्रिय आतंकवादी नाइके दाउद इब्राहिम गिरोहमा पनि संलग्न रहेको अनुसन्धानहरुबाट खुलेको छ । जिल्ला, क्षेत्र, पार्टी तथा अन्तर्राष्ट्रिय अपराधी संगठनमा सँगै हुँदा यी दुईजनाको बीचमा कहिल्यै कुरा मिलेन र एकअर्कालाई सिध्याउने खेलमा लागिरहे । अन्ततस् कुशवाहाले आलमलाई अन्तर्राष्ट्रिय गिरोहबाट नै हत्या गराउन सफल भए ।
टिकटको लफडा
एमाले पार्टी संगठनमा कुशवाहाभन्दा आलमको राम्रो पकड थियो । तर, अन्तर्राष्ट्रिय आपराधिक गिरोहमा आलमभन्दा कुशवाहाको राम्रो पकड रहेको यो घटनाले पुष्टि भएको छ । कुशवाहा पार्टीका केन्द्रीय प्रतिनिधि तथा लोकतान्त्रिक मधेशी संगठनका महासचिव मात्र हुन् भने आलम पार्टीको केन्द्रीय सदस्य तथा वर्गीय संगठनका प्रमुख थिए । पार्टीमा पनि को कति बलियो कसको पकड कति भन्दै प्रतिस्पर्धा हुने गथ्र्यो । आलम एमाले अध्यक्ष झलनाथ खनाल समूहका हुन् भने कुशवाहा वरिष्ठ नेता माधव नेपाल समूहका । यी दुईजनाबीच जहिले पनि राजनीतिक प्रतिशोधका कारण भनाभन हुनुको साथै एक अर्कालाई सिध्याइदिने धम्की पनि राजनीतिक बैठकमा समेत हुने गरेको उनीहरुका राजनीतिक सहकर्मीहरु बताउँछन् ।
एमालेका पूर्वसभासद् रामचन्द्र प्यासी कुशवाहले राजनीतिक प्रतिशोध साँध्नका लागि नै नेता आलमको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बारा प्रहरी स्रोतका अनुसार नेता कुशवाहाले अघिल्लो संविधानसभा चुनावमा पनि आफूले मात्र प्रत्यक्षमा चुनाव लड्न टिकट पाउनुपर्छ भन्दै पार्टीमा दबाब दिएका थिए तर झलनाथ खनाल अध्यक्ष भएको र पार्टीमा पनि खनालकै पकड भएको कारण कुशवाहाले टिकट नपाएर आलमले पाएका थिए । आलमलाई तमलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले हराएका थिए । चुनावमा आलम हारेपछि माधव नेपालले पार्टीमा दवाव दिएर कुशवाहालाई समानुपातिकबाट सभासद् बनाएका थिए ।
मंसिर ४ गते हुने दोस्रो सविधानसभा चुनावमा पनि आफूले टिकट पाउनुपर्छ भनि पार्टीमा निकै चर्को दवाव दिएका कुशवाहाले मधेशी संगठनबाट पनि चर्को दवाव दिन लगाएको पार्टी स्रोतले जनाएको छ । रघुवीर महासेठ अध्यक्ष रहेका मधेशी संगठनको तर्फबाट पार्टीलाई ज्ञापनपत्र बुझाउने काम भएको थियो । जसमा सबभन्दा बढी अग्रसरता संगठनका महासचिव कुशवाहाले नै लिएका थिए । चुनावको टिकट वितरण हुनुअघिदेखि नै टिकट पाउनका लागि आलम र कुशवाहाबीचमा द्वन्द्व रहेको बारा प्रहरीले जनाएको छ ।
बारा क्षेत्र नं। ४ मा प्रत्यक्षतर्फ आलमले टिकट पाएपछि असन्तुष्ट बनेका कुशवाहले दुई भारतीय नागरिक राजु श्रीवास्तव र अतिक खानको सहयोगमा भारत र दुबईबाट दाउद इब्राहिमको ग्याङबाट सार्प सुटर मगाएर आलमको हत्या गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निष्कर्ष छ । ब्युरोले आलम हत्या अभियोगमा कुशवाहसँगै उनका दुवै भारतीय सहयोगीलाई कात्तिक ९ गते पक्राउ गरेको थियो ।
२०५६ सालको चुनावमा सलिम मियाा अन्सारी मालेबाट क्षेत्र नम्बर ४ को उम्मेदवार बन्दा कुशवाह उनका मुख्य सहयोगी थिए, एमालेबाट मन्त्री बनेका सलिमको स्वकीय सचिवको रुपमा कुशवाहाले नै काम गरेका थिए । सलिम मियाँ मालेबाट क्षेत्र नं। ४ को उम्मेदवार भएपछि आलम सोही क्षेत्रबाट एमालेको उम्मेदवार बनेका थिए तर दुवैजना पराजित भएका थिए । एमाले र माले एकीकरणपछि सलिम मियाँसँगै कुशवाहा पनि एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेलगत्तै कुशवाहा र आलमबीच द्वन्द्व शुरु भएको थियो । नक्कली भारतीय रुपैयाँ तथा अन्य अवैद्य करोवारोमा संलग्न सलिम मियाँसँग रहेर कुशवाहा पनि त्यस्ता कारोवारहरुमा हात हालेर अन्तर्राष्ट्रिय गिरोहसँग सम्पर्क बढाएका थिए ।
कुशवाहाका भाइको बिहेमा दाउदका भाइ
रामचन्द्र प्यासी कुशवाहाले आफ्ना भाइ सोमेश्वर कुशवाहाको बिहेमा दाउद इब्राहिमका भाइ अनि इम्ब्राहिमलाई निमन्त्रणा दिई बोलएका थिए । इब्राहिमलाई विहेको पार्टी दिन कुशवाहाले वीरगंजको विश्वा होटल पूरै बुक गराएका थिए त्यो दिन त्यो होटलमा कसैलाई छिर्न दिएका थिएनन् । यहाँसम्म कि त्यो दिनका पार्टीमा कुशवाहाले आफ्ना नजिकका दुई चारजनाबाहेक अरु कसैलाई निमन्त्रणा दिएका थिएनन् । र, सो भोजले त्यतिबेला निकै चर्चा पाएको थियो । कुशवाहाका भाइ सोमेश्वर कुशवाहा अझै पनि अर्धभूमिगत अवस्थामा रहँदै आएको स्रोतले बताएको छ ।
रामचन्द्र प्यासी कुशवाहाले सलिम मियाँ अन्सारीसँग रहेर विभिन्न करोवारमा लगानी गर्न थाले यहाँसम्म कि सलिमका छोरा युनुस अन्सारी जो नक्कली भारतीय रुपैयाँको कारोबारमा जेलमा थिए, त्योसँग पनि राम्रो सम्बन्ध थियो र दुवैजना बिजनेश पार्टनर बनेका थिए । युनुस जेलमा हुँदा नेशनल टेलिभिजनदेखि लिएर वीरगंजको गढीमाई एफएम कुशवाहाले युनुसको आग्रहमा आफ्नो नाममा लिएका थिए तर विवास्पद भएका कारण नेशनल टीभी चल्न सकेन । यसका आलावा युनुशको थुप्रै कारोवारमा कुशवाहाको पार्टनरशीप रहेको स्रोतको दाबी छ । युनुस अन्सारी हाल जेलबाट रिहा भएका छन् तर चर्चामा कतै छैन । युनुस अन्सारी जेल गएपछि सलिम मियाँ अन्सारीले कुशवाहासित निकै आशा गरेका थिए कि एमालेलाई भनसुन गरेर आफ्ना छोरालाई जेलबाट छुटाई दिन सक्लान् कि भनेर । तर, कुशवाहाले सलिमको कुरै सुनेनन् । सोही घटनाका कारण सलिमको परिवारसँग कुशवाहाको सम्बन्ध बिग्रेको अन्सारीको पारिवारिक स्रोतले जनाएको छ ।
ब्युरो प्रमुख डीआईजी प्रकाश अर्यालका अनुसार भारतको रक्सौलमा बस्दै आएका श्रीवास्तवले भारतीय अपराधीसँग सम्पर्क गराएका थिए । यसअघि पनि श्रीवास्तवले कुशवाहालाई यस्तै प्रकारका थुप्रै सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । श्रीवास्ताव भारतका चलेका पत्रकार हुन् तर केही समयदेखि पत्रकारिता छाडेर बेरोजगार भई नेपालको भारतीय नाका रक्सौलमा बस्दै आएका छन् । श्रीवास्ताव बिहारबाट निस्कने ‘आज’ दैनिकका रिपोर्टर थिए । पत्रकार भएको कारणले भारतका विभिन्न खुफिया एजेन्सीदेखि लिएर नेता तथा अपराधिक समूहसँग चिनजान भएका कारण कुशवाहालाई त्यसप्रकारको फाइदा दिँदै गएको स्रोतको दाबी छ ।
आलमलाई हत्या गर्नमा भारतीय पक्षबाट श्रीवास्तवले सहयोग गरेका थिए भने नेपालबाट अतिक खानले सहयोग गरेका थिए । खान भारतीय नागरिक भए पनि तराई मूलकी नेपाली युवतीसँग बिहे गरेर वीरगन्जको लक्ष्मी टोलमा बस्दै आएका थिए । उनी सिभिल इन्जिनियर हुन् । लामो समयदेखि वीरगञ्जमा बसे पनि खानको असली कारोबार के हो भन्ने हालसम्म खुलेको थिएन । प्रहरी स्रोतका अनुसार आलमलाई हत्या गर्ने योजना बनेपछि भारत बनारसमा रहेका जमिर खान नेपाल आएर अतिक खानमार्फत कुशवाहासँग १० लाख रुपैयाँ लिएर गएका थिए । जमिरले नै दाउदका समूहलाई सम्पर्क गरी सार्प सुटर झिकाएर आलमको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसरी भयो हत्या
हत्याको योजना बनेपछि रामचन्द्र कुशवाहामार्फत श्रीवास्तव र खानले आलमको दैनिक क्रियाकलापलाई निगरानीमा राखेका थिए । आलमलाई टिकट पाउनुअघिदेखि निगरानीमा राखेर पटक–पटक हत्या गर्ने प्रयास गरेका थिए तर समयले साथ नदिएको कारण उनी जोगिँदै गएका थिए । आलमको हत्यामा कुशवाहालगायत १० जनाको संलग्नता रहेको प्रहरीको दाबी छ । त्यसमध्ये तीनजना समातिएका छन् भने गोली प्रहार गर्नेलगायत अन्य सातजना प्रहरीको पकडमा आएका छैनन् । हत्या भएको एक महिनाअघि नै दुवईको सार्पसुटर भारतको रक्सौल हुँदै वीरगञ्जमा अतिक खानको सम्पर्कमा गएका थिए । भदौ १४ गते श्रीवास्तवसँगै वीरगञ्ज छिरेका सुटर खानको सम्पर्कमा गई रानीपोखरी होटलको कोठा नम्बर १०३ मा बसेका थिए । त्यस राति खान र श्रीवास्तव पनि त्यही होटलमा बसेर आलमको क्रियाकलापको बारेमा जानकारी गराएका थिए । त्यस अवधिमा आलमलाई हत्या गर्ने पटक–पटक प्रयास गरिएको थियो तर टिकटको दौडधुपमा रहेका आलम काठमाडौमा बढी समय बिताएका कारण हत्या सफल भइरहेको थिएन । प्रहरी स्रोतले भन्यो– आलमलाई हत्या गर्ने उद्देश्यले तीनजना काठमाडौसम्म पनि पुगेका थिए तर त्यहाँको सुरक्षा व्यवस्था कडा भएको कारण आलमको हत्या सम्भव नभएपछि भदौ २४ गते जोरपाटीमा एकजना भारतीय मुस्लिम नागरिकको हत्या गरेर रातारात वीरगञ्ज फर्केका थिए । आलमलाई निगरानी राख्न कलंकी, बागबजार र जोरपाटीमा अलग–अलग सुराकी बसेका बसेका थिए । आलम प्रत्यक्षतर्फको टिकट पाउने पक्का भएपछि असोज १६ गते आफ्नो् गृह जिल्ला बारा फर्केका थिए । आलम फर्केलगत्तै सुटरहरु पुनस् सक्रिय भएका थिए र दुई दिन नबित्दै आलमको हत्या भएको थियो । दिउँसो साढे ११ बजेतिर बाराको लिपनिमाल गाविस–१ स्थित पथलैया–वीरगन्ज सडक खण्डमा पर्ने चावासती दाना मिलअगाडि सडक छेउमा उभिएका आलमलाई दुवईबाट आएका सुटरले हात मिलाएजस्तो गर्दै गोली हानेर मोटरसाइकल चढी वीरगन्ज हुँदै रक्सौल भागेका थिए ।
Post a Comment