मुलुक द्वन्द्वमा फस्ने खतरा
१६ कात्तिक,
राष्ट्रिय सुरक्षा परिषद सचिवालयले सबैलाई मान्य हुने समाधान निकाल्न सरकारलाई सुझाव दिएको छ । सरकार र सम्पूर्ण राजनीतिक दलहरु निर्वाचन सम्पन्न गराउने अभियानमा जुटेका बेला सचिवालयले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई यस्तो सुझाव दिएको हो ।
सचिवालयले अहिलेको निर्वाचन संविधान बनाउनका लागि भएकाले सबैलाई मान्य हुने समाधान निकालेर मात्र निर्वाचनमा जान रेग्मी र सरकारलाई सुझाव सहितको प्रतिवेदन दिएको छ ।
नेकपा-माओवादीसहितका निर्वाचनको बहिष्कार गर्ने पक्षमा रहेका दलहरुले देशमा हिंसात्मक घटनाका क्रम बढाएको र निर्वाचन अगाडी नै सबैलाई मान्य हुने समाधान ननिकालिएर मुलुक फेरि द्वन्द्वमा फस्ने निष्कर्षसहितको प्रतिवेदन सचिवालयले सरकारलाई बुझाएको छ । उक्त प्रतिवेदनमा बहिष्कारवादी दल रणनीतिक योजनाका साथ चुनाव बहिष्कारको अभियानमा लागेको उल्लेख गरिएको छ ।
विभिन्न कुटनीतिक निकाय, राष्ट्रसंघलगायतका अन्तर्राष्ट्रिय संघ संस्था र नागरिक समाजबाट राष्ट्रिय दबाब र पहलबाट साझा समाधान निकाल्न सचिवालयले सुझाव दिएको छ ।
सेनाका उपरथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका डीआईजीहरु र रक्षा तथा गृहमन्त्रालयको समेत प्रतिनिधित्व रहेको सचिवालयले चुनावका मुखमा विपक्षीबाट सैन्य गतिविधि हुन सक्ने संकेत पाएको भन्दै अध्यक्ष र सरकारलाई जानकारी गराएको हो । साथै सचिवालयले नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले आगामी २५ गतेबाट सञ्चालन गर्न लागेको भनिएको निर्वाचन विरोधी अभियान भन्दा अगाडी नै समाधान निकाल्न पनि सुझाव दिएको छ ।
Post a Comment