झिलिमिली झिल्ला
झिलिमिली बत्तीको पर्व तिहारताका खासगरी शहरबजारमा दियो र मैनबत्तीको स्थान विस्तारै विजुलीबाट झिलिक मिलिक बल्ने बत्तीले लिन थालेको छ।
उत्सव र पर्वहरुमासमेत प्रयोग हुने यस्ता झिलिमिली बत्ती, धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आयात हुन्छन्।
तिहारमा यसको अत्यधिक प्रयोगलाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तीपनि बढाउने गर्छ।
तिहार शुरु हुनु केही दिन अघिदेखि नै, शहरबजारमा विजुलीबाट बल्ने झिलिमिली बत्तीले घर सजाउन शुरु भइसकेको छ भने गाउँघरमा पनि यस्तो चलन बढ्दै गएको छ।
झिलिमिली व्यापार
भन्सार विभागको आँकडा हेर्ने हो भने गएको आर्थिक वर्षमा झण्डै डेढ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको थियो।
कुल आयातको ९० प्रतिशत भन्दा बढी चीनबाट आएको देखिन्छ।
चालु आर्थिक वर्षको चार महिनामा त्यसको आयात निकै बढेर झण्डै तीन करोड रुपियाँ पुगेको भन्सार विभागका प्रवक्ता सूर्य सेढाईले बताए।
“आर्थिक वर्ष २०७०/७१ को हिजो अस्तिसम्मको आँकडा हेर्ने हो भने, चीनबाट २ करोड चानचुनको सामान आइसकेको छ भनेऽ भारतबाट ८० लाख रुपियाँ बराबरको सामान आइसकेको छ,” सेढाइले भने।
"आर्थिक वर्ष २०७०/७१ को हिजो अस्तिसम्मको आँकडा हेर्ने हो भने, चीनबाट २ करोड चानचुनको सामान आइसकेको छ भने, भारतबाट ८० लाख रुपियाँ बराबरको सामान आइसकेको छ"
सूर्य सेढाई, प्रवक्ता, भन्सार विभाग
यस्ता सामान, राजश्व छलेर अवैध ढंगले पनि नेपाल भित्र्याइने गरेको बताइन्छ।
आयात गरिएका सामानको यस वर्षको व्यापारबारे विद्युतीय उपकरण व्यवसायीहरुको छाता संगठन विद्युतीय व्यवसायी महासंघका अध्यक्ष महेन्द्रकुमार राठीले भने, “गत वर्षकै केही स्टकपनि बाँकी छ। त्यसबाहेक यस वर्ष करीब ३० देखि ४० ट्रक सामान भित्रिएका छन्।”
विद्युत माग
झिलिमिली बत्तीको विक्री र प्रयोगसँगै तिहारको समयमा विद्युतको मागमा पनि अत्यधिक वृद्धि हुने विद्युत प्राधिकरणले जनाएको छ।
अत्यधिक मागलाई व्यवस्थापन गर्न प्राधिकरणले विशेष व्यवस्था गर्ने भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताए।
“लक्ष्मीपूजाको दिन कुलेखानी तथा डिजेल प्लान्ट सबै सञ्चालन गरेर सकेजति आपूर्ति गर्छौं,” क्षेत्रीले भने।
जे होस्, अन्य समयमा लोड शेडिंगको अँध्यारोले गाँजेपनि तिहारमा झिलिमिली बत्तीको रौनकले त्यो अँध्यारोलाई थोरै समयका लागि भएपनि हटाउने गर्दछ।
Post a Comment