0

चुचुरा चुनौती

अधिकारीहरूले अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको वार्षिक बैठकमा नयाँ चुचुराहरूलाई मान्यता दिइने अपेक्षा गरेका थिए
आफ्ना नयाँ पाँचवटा ८,००० मिटर भन्दा अग्ला चुचुराहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने नेपालको प्रयास अहिलेलाई असफल भएको जानकारी बीबीसीलाई प्राप्त भएको छ।
भारत र पाकिस्तानले सो नेपाली प्रस्तावबारे निर्णय नलिएकाले त्यसो भएको अधिकारीहरुले बताएका छन्।
नेपाली अधिकारीहरूले अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको अक्टोबर महिनाको दोश्रो साता स्विट्जरल्याण्डमा सम्पन्न वार्षिक बैठकमा ती चुचुराहरूलाई अन्तर्राष्ट्रिय मान्यता दिइने अपेक्षा गरेका थिए।
ती पाँचवटा नयाँ चुचुराहरू मध्ये तीन कन्चनजङ्गा पर्वतमा पर्दछन्, जसमध्ये दुई नेपाल-भारत सीमाक्षेत्रमा रहेका छन् भने एउटा नेपाली भूभागमा।
बाँकी दुई नयाँ चुचुराहरू नेपाल-चीन सीमानामा रहेको ल्होत्से पर्वतमा पर्दछन्।
तर सो महासंघका पर्वतारोहणसम्बन्धि आयुक्त पियर हम्ब्लेटले बीबीसीसित भने, “त्यसबारे सम्बन्धित देशहरू, चीन, भारत, नेपाल र पाकिस्तानको विचार र सल्लाह नलिइ निर्यण लिन सकिंदैनथ्यो।
"निर्णय नलिइएको कुरा यो प्रसङ्गको एउटा पाटो मात्र हो र म त्यो भन्दा बढी टिप्पणी गर्न सक्तिन"
भारतको पर्वतारोहण संघका सभापति कर्णेल एचएस चौहान
“त्यसैले मैले ती लगायत अन्य सदस्य देशका पर्वतारोहण महासंघलाई पत्र लेखेको थिएँ। तर भारत र पाकिस्तानले त्यसबारे निर्णय गर्न थप समय माग गरे।“
'चीन सकारात्मक'
हम्ब्लेटले चीन सो प्रस्तावबारे सकारात्मक भएको जानकारी पनि दिए।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघका मानार्थ सदस्य आङ्छिरिङ् शेर्पाले कुराकानीमा भारत र पाकिस्तान पनि सकारातामक नै सुनिएको बताए।
“तर ती दुई देशका पर्वतारोहण संघहरूले बैठक गरी निर्णय गर्न बाँकी रहेको बताएपछि कुरा अघि नबढेको हो।“
भारतको पर्वतारोहण महासंघले निर्णय गर्न किन समय लिइरहेको छ भन्ने बीबीसीको प्रश्नमा भारतीय पर्वतारोहीहरूको सो निकायका सभापति कर्णेल एचएस चौहानले भने, “निर्णय नलिइएको कुरा यो प्रसङ्गको एउटा पाटो मात्र हो र म त्यो भन्दा बढी टिप्पणी गर्न सक्तिन।“
पर्वतारोहण विज्ञहरूका अनुसार यो विषयमा भारतमा बहस भइरहेको छ र त्यो लम्बिनुमा भारतपट्टीको कन्चनजङ्गा रहेको भारतीय राज्य सिक्किमका स्थानीय बासिन्दाहरूले सो पर्वतलाई धार्मिक रूपमा हेर्ने गरेको तथ्य पनि रहेको छ।
'अधिकाररहित'
"मैले सदस्य देशका पर्वतारोहण महासंघलाई पत्र लेखेको थिएँ तर भारत र पाकिस्तानले त्यसबारे निर्णय गर्न थप समय माग गरे"
अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघका आयुक्त पियर हम्ब्लेट
पाकिस्तानका पर्वतारोहण अधिकारीहरूले चाहीं नेपालको प्रस्तावमाथि निर्णय गर्ने अधिकार आफूहरूसित नरहेकोले त्यस्तो स्थिति सृजना भएको बताए।
पाकिस्तानको पर्वतारोहण संघका एक वरिष्ठ अधिकारी करार हैदरीले भने, “हाम्रो पर्यटन मन्त्रालयको अधिकार हालै प्रान्तहरुलाई प्रत्यायोजन गरिएकोले संघीय स्तरमा त्यस्तो निर्णय लिन सक्ने कुनै निकाय छैन।
“त्यसैले अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको यसपालीको बैठकमा भागलिंदा हाम्रो टोलीमा अधिकारप्राप्त कोही पनि नभएकाले हामीले थप समय मागेका हौं।“
हैदरीले पाकिस्तान आफैंले पनि ८,००० मिटर भन्दा अग्ला नयाँ चुचुराहरू खोल्न अन्तर्राष्ट्रिय मान्यताका लागि प्रस्ताव ल्याउन लागेको बताए।
अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघका आयुक्त हम्ब्लेटले उनको संगठनले भारतीय तथा पाकिस्तानी पर्वतारोहण संघहरूलाई सो विषयमा निर्णय गर्न तीन महिनासम्म समय दिइने बताए।
“त्यसपछि हाम्रो व्यवस्थापन समितिले अर्को वर्ष हुने हाम्रो आगामी साधारणसभामा यो प्रस्ताव राख्‍ने कि नराख्‍ने भन्नेबारे निर्णय गर्नेछ।“
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष शेर्पाले यदि त्यतिन्जेल पनि यसबारे निर्णय नभए नेपालले ल्होत्से पर्वतका दुई र नेपाली भूमिमै रहेको कन्चनजङ्गाको एक गरी तीन वटा नयाँ चुचुराहरूकालागि मात्रै अन्तर्राष्ट्रिय मान्यता माग गर्ने बताए।

Post a Comment

 
Top