हेलिकोप्टर हंगामा
- कुसुम भट्टराई
पजेरो आफैमा खराब थिएन । अत्याधुनिक जिपको दोष नै के थियो र ? तर बिगत बाह्र वर्षको संसदीय कालखन्डमा नेपाली काँग्रेस र एमालेका कतिपय सांसदहरुले पजेरोकै बदनाम गरे । सुविधाबापत पाएको फोनसमेत पाँच लाख रुपैयाँसम्ममा बेच्न पछि नपर्ने कतिपय सांसदहरुले सांसद भए बापत पजेरो चढ्दा पाउने सुविधाको व्यापक दुरुपयोग गरे । त्यस कालखण्डमा ‘पजेरो संस्कृति’ निकै बदनाम पनि भएको थियो ।
एमालेबाट विभाजित भएको नेकपा(माले)ले त्यसताक पजेरो संस्कृतीको व्यापक विरोध गर्यो । पछि मालेका नेताहरु पनि पजेरो चढ्न थाले । यो पंक्तिकारले कमरेड बामदेव गौतमसँग एमाले मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा सोधेको थियो, ‘कमरेडले पजेरो संस्कृतिको व्यापक विरोध गर्नु भयो, तर अहिले आफै पजेरोमा हिँड्नुहुन्छ नी ।’ त्यसबेला बामदेवले मुसुक्क हाँस्दै भनेका थिए,
‘हेर्नुस, पजेरो भनेको साधन हो । हामी देश र जनताको मुक्तीको लागि हिँडेका छौं । देश र जनताको मुक्तिको लागि हिँड्नु पर्दा पजेरो मात्र हैन, हेलिकोप्टर नै चढ्नुपर्ने हुनसक्छ । हवाई जहाज पनि चढ्नुपर्ने हुनसक्छ । हवाई जहाज मात्र के रकेट नै चढेर अन्तरीक्षमा पनि पुग्नुपर्ने हुनसक्छ । देश र जनताको लागि हामी पजेरो त के रकेट चढ्न पनि तयार छौं । अन्तरीक्षमा पुग्न पनि तयार छौं ।’
बामदेव गौतमको तर्क मलाई ठिकै लागेको थियो । किनकी, साधन आफैंमा गलत हुन सक्दैन । त्यसलाई प्रयोग गर्ने व्यक्ति र नियत भने सही र गलत दुबै हुनसक्छ । र, अहिले एमाओवादी अध्यक्ष प्रचण्डले हेलिकोप्टर चढ्नु पछाडिको नियत र उद्देश्य विलकुल सही र जनपक्षीय छ । किनकी, उनी संविधानसभा निर्वाचन अभियानका क्रममा हेलिकोप्टर चढिरहेका हुन् । एमाले र कांग्रेसका नेताझैं आतंककारी मास्ने नाममा द्वन्द्वकालमा दिनहुँ हेलिकोप्टर चढेर हवाइ निरिक्षण गर्ने, माओवादी नेताको टाउकाको मोल तोक्ने र राज्यको ढुकुटी स्वाहा पार्ने बर्गमा प्रचण्ड पर्दैनन् ।
संविधानसभा निर्वाचनमा एमाओवादी अध्यक्ष प्रचण्डले हेलिकोप्टर सवारी गरेकोमा चर्को विरोध गरिरहेका काँग्रेस र एमालेका नेता–कार्यकर्ता र केही मिडियाकर्मीलाई कमरेड बामदेव गौतमको जवाफ नै प्रशस्त छ । प्रचण्डको हेलिकोप्टर सवारीका सन्दर्भमा समाचार सम्प्रेषण गर्दा मिडियाकर्मीले ‘आवश्यकता’ र ‘आरामदायी सुविधा’बीचको भेद खुट्याउन नसकेका हुन् या बुझेर पनि बुझ पचाएका हुन् भन्ने प्रश्न खडा हुन्छ । आवश्यकता र आरामदायी सुविधाका सम्बन्धमा केही वर्ष पहिले ओशो सिध्दार्थले मसँग व्यक्त गर्नु भएका केही उद्गार सम्झन चाहन्छु ।
ओशो रजनीशका साख्खै भाइ ओशो सिध्दार्थ काठमाडौं आएको बेला मैले उहाँसँग साक्षात्कारको मौका पाएको थिएँ । मैले सोधेको थिएँ, ‘के ध्यान साधना सबैका लागि आवश्यक छ ?’ त्यसबेला ओशो सिध्दार्थले भन्नुभएको थियो, ‘ध्यान सबैका लागि आवश्यकता नहुनसक्छ । ख्याल गर्नुस् ध्यान आवश्यकता हैन, आरामदायी सुविधा हो । ध्यान नेसेसीटी हैन, यो लग्जरी हो । मानिलिनुस, कुनै मानिसका लागि काठमाडौंबाट बिराटनगर जानुछ । उसका लागि बसको यात्रा आवश्यकता हो । जहाज वा हेलिकोप्टर भने उसका लागि लग्जरी हो, आरामदायी सुविधा हो । तर, राष्ट्रप्रमुख, शीर्ष नेता वा मन्त्रीका लागि हेलिकोप्टरको यात्रा लग्जरी हैन, आवश्यकता हो ।’
सुविधा र आवश्यकतावीचको भेदबारे गुरु ओशोले भनेका यी वाक्य झलझली सम्झीरहेका कारण मलाई प्रचण्डको हेलिकोप्टर यात्राबारे मिडियाको प्रचार अतिरंजनापूर्ण लाग्यो । किनकी, प्रचण्डजस्तो नेपालको नम्बर एक शीर्ष नेताका लागि हेलिकोप्टर सवारी कुनै सुविधाभोग हैन, आवश्यकता हो । सुरक्षाका दृष्टिले पनि प्रचण्डका लागि हेलिकप्टर सवारी जायज छ । यसअघि लामो दुरीमा स्थल मार्गबाट यात्रा गर्दा मदन भण्डारीलगायत नेपालका केही लोकपिय नेताहरुको दुर्घटना वा हत्या भइरहेको परिप्रेक्ष्यमा प्रचण्डजस्ता विभिन्न प्रतिगामी र अतीबादीहरुको तारो भइरहेका नेताले ‘हेलिकोप्टर चढनु हुँदैन’ भन्ने दावी गर्नु ‘प्रचण्ड असुरक्षीत हुनुपर्छ’ भन्नु नै हो ।
भारत, चीन, अमेरीकालगायत विश्वका अधिकांश मुलुकका शीर्ष नेताहरु लामो दुरीमा हेलिकोप्टर चढ्ने गर्छन् । अमेरीकी राष्ट्रपति बाराक ओबामाले मरीन वान हेलिकोप्टर प्रयोग गर्दै आएका छन् । रुसी राष्ट्रपती भ्लादीमीर पुटीन एमआइ–८ हेलिकोप्टर चढिरहन्छन् । उनको लागि मस्कोमा विशेष हेलीप्याड बनाइएको छ ।
भारतीय प्रधानमन्त्री मनमोहन सिंह र सोनीया गान्धीले आफ्नो निवासबाट अन्र्तराष्ट्रिय विमानस्थलसम्म जानका लागि समेत हेलिकप्टर चढ्न थालेका छन् । निवासबाट विमानस्थलसम्म जाँदा ट्राफिक व्यवस्थापन र सुरक्षाका चुनौती बढेपछि हेलिकोप्टरबाट सहज निकास निकालिएको थियो । त्यो आवश्यकता थियो, आरामदायी सुविधा थिएन ।
भारतकी नेतृ सोनीया गान्धी सरकारको कुनै उच्च पदमा छैनन् । तर, उनले बिगत आठ वर्षदेखि इन्डियन एयर फोर्स (आइएएफ)को हेलिकोप्टर चढ्दै आएकी छन् । भारतमा प्रधानमन्त्री, राष्ट्रपती, गुहमन्त्री, उपराष्ट्रपति र रक्षा मन्त्रीलाई मात्र इन्डियन एयर फोर्स (इएएफ)को हेलिकोप्टर चढ्न पाउने अनुमती छ । तैपनि सुरक्षा र अन्य धेरै कारणले सोनीया इन्डीयन एयर फोर्सको हेलिकोप्टर चढ्छिन । अचेल चुनावी सभामा सोनीयाका पुत्र राहुल पनि हेलिकोप्टर चढेर विभिन्न क्षेत्रमा गइरहेका भेटिन्छन् ।
भारतका भावी प्रधानमन्त्रीका रुपमा भारतीय जनता पार्टीले अघि सारेका गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी दिनको ६ घन्टा त हेलिकोप्टरमै हुन्छन् भनेर त्यहाँका मिडियामा समाचार आइरहन्छन् । गत वर्ष गुजरातमा चुनाव प्रचारका क्रममा मोदी दिनहुँ कम्तीमा ८ वटा आमसभामा भाषण गर्न हेलिकोप्टर चढेर जान्थे । विहान ८ देखी राती ११ बजेसम्म उनी प्रचारमै हुन्थे । मोदीले चुनाव प्रचारका क्रममा तीन सिटर, सात सिटर हेलिकोप्टर र एउटा एयरक्राफ्ट भाडामा लिएका थिए । अहिले पनि मोदी हेलिकोप्टरमै विभिन्न क्षेत्रको भ्रमणमा गइरहन्छन् । खासमा यो पनि मोदीको आरामदायी सुविधा हैन, आवश्यकता हो ।
कुनै पनि मुलुकको एउटा राष्ट्रियस्तरको नेता निर्वाचनको बेला आफनो निर्वाचन क्षेत्रमा मात्र सिमिति हुनसक्दैन । प्रचण्ड भनेका सिंगो नेपाललाई नै नेतृत्व गर्ने अत्याधिक प्रवल सम्भावना भएका नेता हुन् । एमाओवादीले उनलाई राष्ट्र नेताको रुपमा अघि सारेको छ । जनयुध्दको गौरवमय इतिहास, बर्तमानको अग्रगामी भूमिका र भएका नेपाली नेताहरुको दाँजोमा पनि नम्बर एक स्थानमा रहेका नेता प्रचण्ड अब मुलुककै राष्ट्राध्यक्ष हुनसक्ने सम्भावना पनि उच्च छ । यस्तो नेताको सुरक्षा गर्नु र उनलाई जोखिमयुक्त यात्रा नगर्न सल्लाह दिनुपर्नेमा उल्टै हेलिकोप्टर चढेकोमा विरोध गर्नु भनेको नियत ठिक नहुनु हो ।
नेपाली मिडियामा कतिपय पात्र यस्ता छन्, जसलाई एमाओवादी नेताले जे गरे पनि मन पर्दैन । प्रधानमन्त्री भएपछि डा. बाबुराम भट्टराईले आरामदायी सुविधाका मर्सीडीज गाडीहरु छाडेर मुस्ताङ म्याक्स चढ्न थाले । खासमा सुरक्षाको हिसाबले त्यो पनि जोखीमपुर्ण नै थियो । तैपनि उनले आवश्यकताको कोणबाट हेरेर मुस्ताङ म्याक्सबाट काम चलाए । बाबुरामले मुस्ताङ म्याक्स चढ्दा प्रशंसा गर्नुको साटो उपहास गर्न थालियो । सुरक्षाका दृष्टिले प्रधानमन्त्रीले मुस्ताङ म्याक्स चढनु जोखीमपुर्ण भन्दै समाचार प्रकाशित भए । कसै कसैले बाबुरामको प्रोपोगन्डा भन्न थाले । राम्रो कामको सुरुवात गर्दा जुन जुन मिडियाले बाबुरामको खोइरो खने, तिनै व्यक्ति र पात्र अहिले प्रचण्डले हेलिकोप्टर चढेकोमा आपत्ति जनाइरहेका छन् । यही नै पुर्वाग्रही मानसिकता हो ।
अन्त्यमा फेरी कमरेड बामदेवकै भनाइ उधृत गर्न चाहन्छु, ‘देश र जनताको मुक्तीका लागि पजेरो र हेलिकोप्टर मात्र हैन, रकेट पनि चढ्न तयार हुनुपर्छ ।’
Post a Comment