0

आत्मा सन्तुष्टी र फलिफापको कामना सहित म्हःपूजा गरियो


 नेवार समुदायले परिवारका सम्पूर्ण सदस्य बसी म्हःपूजा अर्थात् आत्मपूजा गरेका छन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आएको छ ।
हिन्दू तथा बज्रयानी बौद्ध तान्त्रिक परम्परा अनुसार नेवार समुदायले म्हःपूजा गर्ने गर्दछन् । म्हःपूजामा विशेषगरी कालो भटमास, अक्षता, धानको लावा, सयपत्री फूललगायतले तान्त्रिक रुपमा मण्डला बनाई आफ्नै शरीरको पूजा गर्ने गरिन्छ ।

यसरी म्हः पूजा गर्नाले शारीरिक र मानसिक शुद्धी हुने धार्मिक विश्वास छ । सयपत्री र गोदावरीको मालासँगै काँचो धागोमा पाँच वटा रंग भएको कपडा राखिएको जजङ्कासमेत लगाउने गरिन्छ ।

जजङ्कालाई पञ्च तत्वको प्रतिकको रुपमा लिइन्छ । म्हःपूजा गर्दा कुचो, कलश, नाङ्लो, ठूलो सिलौटोमा समेत पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि मण्डलामा नै भोज खाने प्रचलन पनि छ ।
आजकै दिनदेखि नेपालको मौलिक संवत् नेपाल संवत्को नयाँ वर्ष सुरु भएको छ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेको र सोही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।
नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःको देश र जनताप्रतिको योगदानको कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले विसं. २०५६ मङ्सिर २ मा साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । यसैगरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको मन्त्रिपरिषद्द्वारा विसं. २०६५ कात्तिक ७ मा राष्ट्रिय विभूति शङ्खधर साख्वाःद्वारा प्रतिपादित यस संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरिएको थियो ।

Post a Comment

 
Top