कोइरालालाई विरासत जोगाउने चुनौति
गच्छदार दोहोर्याउने ध्याउन्नमा
कार्तिक १८ -
राष्ट्रिय राजनीतिमा विशेष महत्व राख्दै आएको मोरङमा केही चर्चित केन्दि्रय नेताहरु प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये कोही आफ्नो पहिलेको अवस्थालाई निरन्तरता दिन लागिपरेका छन् भने कोही प्रतिष्ठा जोगाउन पनि जित्नैपर्ने दबाबमा चुनावी अभियानमा खटिरहेका छन् ।
यस्तै क्षेत्रमध्येको हो मोरङ ७ । यो क्षेत्रका मुख्य प्रंतिस्पर्धीका रुपमा कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अघि छन् । पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्रमा कोइराला गच्छदारबाट पराजित भएका थिए । सुनसरी ३ बाट पनि विजयी बनेका गच्छदारले मोरङ ७ छाडेपछि भएको उपनिर्वाचनमा कोइराला विजयी बनेका थिए । उपनिर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिकका चुमनारायण तबदारलाई पराजित गरेका थिए ।
यसपालि पनि यिनै दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आफ्नो क्षेत्रमा विकासका साना-ठूला काम गरेकाले आफूलाई मतदाताले विश्वास गरेको गच्छदारको भनाइ छ । उता, फोरम विभाजनको असर प्रष्टै देखिएको अवस्थामा कोइरालाले यसबाट केही लाभ लिन सक्ने अवस्था देखिएको छ ।
प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कोइराला परिवारको विरासत जोगाउने चुनौती शेखर कोइरालाका सामु छ । कोइराला परिवारका सदस्य भएकै नाताले मोरङ ७ बाट निर्वाचनमा विजय वा पराजयले नेपाली राजनीतिमै महत्व राख्ने भएकाले पनि उनलाई जिताउन पार्टी पंक्ति डटेर लागेको छ । उनका समर्थकमात्र होइन आफैं पनि दुई सातायता घरदैलो अभियानमा लागिपरेका छन् ।
कोइराला परिवारको विरासतका रुपमा उनलाई लिने गरिए पनि उनी स्वयं भने यसलाई अस्वीकार गर्छन् । कोइराला परिवारले प्रजातन्त्रका लागि गरेको योगदानबारे सबै जानकार रहेको तर्क उनको छ ।
गत निर्वाचन मधेस आन्दोलनलगत्तै भएकाले मधेसमा मधेसी नेताहरुको पक्षमा बेग्लै लहर देखिएको थियो । तर यसपालि सबैजसो मधेसी दल विभाजित भइसकेको अवस्था भएकाले फरक अवस्था छ ।
गत निर्वाचनमा गच्छदार १८ हजार ४ सय ८६ मत पाएर बिजयी बनेका थिए । कोइरालाले १३ हजार २ सय ६१ मत पाएका थिए । तेस्राे स्थानमा आएको नेकपा एमालेका पक्षमा ५ हजार ७ सय ६८ मत गएको थियो । यो क्षेत्रमा ५९ हजार २ सय ५५ मतदाता छन् । विराटनगर उपमहानगरपालिकाका ८ वटा वडा समेत समेटिएको मोरङ ७ मा तेतरिया, सिसबनी बडहरा, डंग्राहा, टंकीसिनवारी र हात्तीमुडा गाविस पर्छन् ।
यसपालि यो क्षेत्रमा एमाओवादीका गोपाल छेत्री र एमालेकी यशोदा अधिकारी प्रतिस्पर्धामा छिन् । ९ वटा क्ष्ाेत्र रहेको मोरङमा अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीले ४, कांग्रेसले २, फोरमले ३ क्षेत्र जितेको थियो ।
Post a Comment