नगरपालिकाभित्रै ५० घरलाई एक धारा
१७ कात्तिक
बाग्लुङ नगरपालिकाको एक गाउँका बासिन्दा नगरपालिका बनेको १६ वर्ष बित्दासम्म पनि खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् । पानी जस्तो दैनिक आधारभूत आवश्यकताको समेत परिपूर्ति हुन नसक्नुले नगर क्षेत्रभित्रकै विकासको स्तरमा प्रश्न उठेको छ ।
नगरपालिकाको वाड नं–७ स्थित भीरमुनिका बासिन्दा वर्षौदेखि पिउने पानीको चर्को अभावबाट गुज्रिरहेका छन् । उक्त गाउँमा रहेका करिब ५० घरका बासिन्दा अहिले एउटै खानेपानी धारामा निर्भर हुनुपरेको छ, त्यो पनि वर्षायामको समयमा मात्र । हिउँदमा त त्यही धारामा पनि पानी बन्द हुने गरेको छ ।
“पाँच महिना त त्यही धारामा पनि पानी आउँदैन, फागुन लागेपछि घरदेखि टाढाको बाटोमा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ” स्थानीय शान्त विश्वकर्माले भन्नुभयो । वर्षैपिच्छे पानीको समस्या समाधानका लागि योजना माग गरेपनि कुनै ठोस योजना निर्माणको पहल हुन नसकेको स्थानीय अगुवाकुमार विश्वकर्माले बताउनुभयो ।
“नगरपालिकाबाट पानीको लागि भनेर थोरै बजेट छुट्टिन्छ, त्यसले कुनै काम गर्न सकिदैन, यहाँको आवश्यकताको पहिचान गरी प्राथमिकताका साथ योजना बन्नुपर्छ” विश्वकर्माले भन्नुभयो ।
Post a Comment