0

निर्वाचन आयोगले बालकृष्ण ढुंगेलसहित ७ उम्मेदवार विरुद्ध स्पष्टीकरण लिंदै

फाइल फोट: बालकृष्ण ढुंगेल ।
 १६ कात्तिक 
 निर्वाचन आयोगले एमाओवादीका ५ सहित ७ समानुपातिकतर्फका उम्मेदवारलाई आज आयोगमा उपस्थित हुन पत्राचार गरेको छ । आयोगले उम्मेदवारको योग्यतामा प्रश्न उठाउँदै उजुरी परेका उम्मेदवारलाई आयोगमा उपस्थित हुन पत्राचार गरेको हो ।
आयोगले एमाओवादीका बालकृष्ण ढुंगेल, अनिताकुमारी परियार, धनमाया विक खनाल, हरिराम श्रीपाइली र उषा साह फकिर, लिग नेपाल शान्ति एकता पार्टीकी विमला लक्ष्मी शाह र समाजवादी जनता पार्टीकी रिता थापा मगरलाई आज आयोगमा उपस्थित हुन पत्राचार गरेको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार बिहान ११ बजे सातै जना उम्मेदवारहरुलाई उजुरी विरुद्धको प्रमाण भए प्रमाणसहित आफै आयोगमा उपस्थित हुन सूचित गरिएको छ । उजुरी परेका ७ उम्मेदवारहरुलाई आयोगले आयोगमा बोलाई उजुरी विरुद्धको प्रमाण पेश गर्न समय दिएको हो ।
एमाओवादीबाट सामानुपातिकतर्फका उम्मेदवार बनेका ढुंगेल विरुद्ध ज्यान मुद्दामा सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाईसकेको र उनको उम्मेदवारी संविधान विपरित भएको जिकिर गर्दै आयोगमा उजुरी परेको छ । त्यस्तै एमाओवादीकै परियार र खनाल दलित अयोगमा सदस्य रहेको भन्दै उजुरी परेको छ ।
त्यस्तै फकिर विरुद्ध एमाओवादीकै मोहम्मद जाकिर हुसैनले उजुरी दिएका छन् । समाजवादीकी उम्मेदवार मगर विरुद्ध दोहोरो नागरिकता भएको जिकिर गर्दै उनको उम्मेदवारी बदर गर्न माग गरिएको छ ।
त्यस्तै लिग नेपालकी समानुपातिक उम्मेदवार साह विरुद्ध पनि आफ्नै पार्टीका हिराचन्द्र चौलगाईंले आयोगमा उजुरी दिएका छन् । आफू विरुद्ध परेको उजुरी विरुद्ध उम्मेदवारले स्पष्ट प्रमाण पेश गर्न नसके निर्वाचन आयोगले उम्मेदवारी बदरसम्म गर्न सक्नेछ ।

Post a Comment

 
Top