एमालेलार्इ पैसा दिने राज्यलक्ष्मी प्यारी की रगत दिने रामकुमारी
नेकपा एमालेका लागि लोकतान्त्रिक आन्दोलनमा रगत बगाएकी युवा नेतृ रामकुमारी झाँक्रीभन्दा पार्टीलाई चन्दा दिने घरानियाँ समूहकी राज्यलक्ष्मी गोल्छा प्यारी ठहरिएकी छिन् ।
नेकपा एमालेले गोकर्ण रिसोर्टमा महंगो बैठकपछि शुक्रबार अन्तिम रुप दिएको समानुपातिक सभासदको सूचीमा राज्यलक्ष्मी गोल्छाको नाम मधेसी महिलाकातर्फबाट समावेश गरेको छ । तर, उसले चर्चित युवा नेतृ रामकुमारी झाँक्रीलाई भने संविधानसभामा पठाउन आवश्यक ठानेन । नेपाली राजनीतिमा त्याग र बलिदान भन्दा पैसाको प्रभाव बढ्न थालेको भन्दै एमाले वृत्तमा असन्तुष्टिका स्वरहरु सुनिन थालेको छ ।
संघर्षशील युवाको साटो बिरामी भएर थला परेका भरतमोहन अधिकारीलगायतलाई संविधानसभामा पठाएर एमालेले संविधानसभालाई वृद्धाश्रमजस्तो बनाएको आरोप केही एमाले नेताले लगाउन थालेका छन् ।
मैले रत्नपार्कमा बगाएको रगत खेर गयो-झाँक्री
समानुपातिक सूचीमा नपरेपछि युवा नेतृ झाँक्रीले रत्नपार्कमा बगाएको रगत विष्णुमतीको पानी सरह भएको र आफूलाई विगतले गिज्याएको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘राजनीति निर्मम हुन्छ, जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मुल्य हुँदैन भन्ने सुनेकि थिएँ, मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीको लागि विष्णुमतिमा बगेको पानी जस्तै भएछ। विगतले गिजाएजस्तै भाको छ । समानुपातिकतर्फको पार्टी निर्णयः यसले सायद धेरै साथीहरूलाई जस्तै मलाई पनि आर्श्य चकित बनायो ।’
तर, राजनीतिमा तत्काल केहि पाउन र पाइन्छ भनेर लागेकै होइन भन्दै उहाँले समाजभित्र जुन सामाजिक असमानता त्यसलाई हटाउनु पर्छ र हटाउन सकिन्छ भन्ने विश्वासले यो परिवर्तनको आन्दोलनमा लागेको बताउनुभएको छ । झाँक्रीको भनाइ छ, ‘मेरो बिश्वास डगमगाएको छैन म परिवर्तनको आन्दोलनमा लागिनै रहने छु।’
त्यसैगरी दोहोर्याएर सभासद नबनाउने बताउँदै आएको एमालेले पुरानालाई स्थान दिए पनि अखिलका पूर्वअध्यक्षद्वय राजेन्द्र राई र ठाकुर गैरेलाई पनि ‘रिङ आउट’ गरिदिएको छ । पुराना नेता एवं लेखक प्रदीप नेपाललाई सभासद नबनाएर एमालेले महेन्द्र शेरचनलाई प्राथमिकता दिएको छ ।
Post a Comment