ओलीले भने, ‘धामी–झाँक्रीले पार्टी चल्दैन’
- पंकज चौधरी/ दिलमान बुढा
रामकुमारीको साटो एमालेले व्यापारिक घरानाकी राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएको छ । यसमा आर्थिक चलखेल धेरै भएको कार्यकर्ताको आशंका छ । नेपाली विद्यार्थी आन्दोलनमा विशिष्ट पहिचान बनाएकी झाँक्री २०४८ सालदेखी अखिलको राजनीतिमा लागेकी हुन् । विभिन्न कमिटी हुँदै २०६५ सालमा सम्पन्न अनेरास्ववियुको पोखरामा सम्पन्न २० औं राष्ट्रिय सम्मेलनबाट उनी इतिहासमै पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित भएकी थिइन् । एमालेले रामकुमारीलाई सभासद बनाउनुको साटो उल्टै अनेरास्ववीयू केन्द्रीय सदस्यमा झाँक्रीसँग पराजित गोकुल घर्तीलाई सभासद बनाएर हरुवाहरुको हालीमुहाल गराएको छ ।
ओली गुट हावी
यसरी एमालेले पार्टीका लागि आन्दोलनमा रगत बगाउनसमेत पछी नपर्ने रामकुमारीको साटो पार्टीलाई अकुत चन्दा दिने राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएपछि यो पार्टी पनि पुँजीपतीहरुकै पृष्ठपोषक पार्टी रहेछ भन्दै युवापँक्तीमा निराशा छाएको छ । यसबाट पार्टीमा त्याग र बलिदानको साटो पैसाको प्रभाव बढेको स्पष्ट हुन्छ । यसपटक समानुपातीक सभासद चयनमा केपी ओलीको प्रभावका कारण पनि गणतन्त्रवादी अपमनीत भएको एक एमाले कार्यकर्ता बताउँछन् । किनकी, ओली संवेधानिक राजतन्त्र पक्षधर हुन, उनलाई गणतन्त्र मन पर्दैन ।
ओली गुट हावी भएकै कारण अध्यक्ष झलनाथ खनालको पकड जिल्ला भनिएको ताप्लेजुङ, पाँचथर, ईलाम, सुनसरी, उदयपुर, खोटाङ तथा सोलुखुम्बु र अछामलगायतका जिल्लाबाट कसैलाई सभासद बनाइएन । बरु ओलीको पकड रहेको झापाबाट पाँच जना सभासद भए । हरेक नेताले आफ्नो पक्षका मानिसलाई सभासदमा समेटनुपर्ने भएकाले अरुको बारेमा खासै विरोध गरेनन । यही शुत्रका कारण खनालले झाँक्रीलाई सभासद बनाउन अन्तीम अवस्थासम्म प्रयास गर्दा पनि अन्य नेताले साथ दिएनन । ओली पक्षले त खुलेरै अस्वीकार ग¥यो । वैठकमा ओलीले यहाँसम्म भने, ‘अब धामी झाँक्रीले पार्टी चल्दैन । त्यस्ताको पछी नलागौं ।’
खनालको पक्ष लिंदा आफना मानिसको कोटा गुम्ने डरले अन्य नेताले पनि खनाललाई साथ दिएनन । यही कारण समानुपातीकमा ओलीको पल्ला भारी भएको एक एमाले नेता बताउँछन् । एमाले नेता माधव नेपालले त रामकुमारीको नाम नै लिएर ‘म प्रधानमन्त्री भएको बेला मेरै सरकार ढाल्न सडकमा आउनेहरुलाई किन समर्थन गर्ने ?’ भन्दै रामकुमारीको नाममा आपत्ति जनाएका थिए । त्यसपछि ओलीले रामकुमारीको ठाउँमा उनकै प्रतिश्पर्धी गोकुलको नाम प्रस्ताव गरे । ओलीको लिस्ट सदर भइरहँदा गोकर्ण रिसोर्टमा भएको बैठकमा बामदेव गौतम, युवराज, ज्ञवाली, भरतमोहन अधिकारी, अमृत बोहराजस्ता नेताहरु रमीते मात्र बनेका थिए । ‘केपी ओली र इश्वर पोखरेलको मनमौजीमा सभासद चयन गरियो’, एक एमाले नेता भन्छन् । महासचिव इश्वर पोखरेलले आफुलाई चुनाव हराउन लागेको भन्दै प्रदीप नेपालको नाम पनि समानुपातीकबाट काटे ।’
असन्तुष्टीको आगो
‘राजनीति निर्मम हुन्छ, जहाँ मानिसको कुनै रगत, पसिना, आँशु र इतिहासको मुल्य हुँदैन भन्ने सुनेकि थिएँ, मेरो रत्नपार्कमा पोखिएको रगत पनि मेरो पार्टीको लागि विष्णुमतिमा बगेको पानी जस्तै भएछ । विगतले गिजाएजस्तै भाको छ । समानुपातिकतर्फको पार्टी निर्णयः यसले सायद धेरै साथीहरूलाई जस्तै मलाई पनि आश्चर्यचकित बनायो । तर, राजनीतिमा तत्काल केहि पाउन र पाइन्छ भनेर लागेकै होइन । समाजभित्र जुन सामाजिक असमानता छ, त्यसलाई हटाउनु पर्छ र हटाउन सकिन्छ भन्ने विश्वासले यो परिवर्तनको आन्दोलनमा लागेकी हुँ । मेरो बिश्वास डगमगाएको छैन म परिवर्तनको आन्दोलनमा लागिनै रहने छु ।’
‘एमाले सांसद छनौटबारे केही त बोल्नै पर्ने भयो । एमालेले राम कुमारी झाँक्री, ठाकुर गैरे, म राजेन्द्र राईलाई समानुपातिकबाट सभासद् छनौट नगरेको सन्दर्भमा विभिन्न माध्यममार्फत चर्को प्रतिक्रिया आई रहेको छ । अरुको पनि छ तर हाम्रो बारेमा अलि बढी छ । अझ भन्ने हो भने त्यस निर्णयले हामीलाई अन्याय भयो भन्ने खालका टिप्पणी, प्रतिक्रिया, त्यस निर्णयप्रति असहमति, विरोध, आक्रोस व्यक्त भइरहेको छ । त्यसैले यस विषयमा नबोलुँ भन्दाभन्दै पनि केही कुरा बोल्नैपर्ने भएको छ, यद्यपि कतिपयले यस्ता विषयमा सार्वजनिक रुपले बोल्ने, धारणा राख्ने कुरालाई उचित ठान्दैनन् ।
क. विरोधमा दम छः
आम मानिसहरुले निरपेक्ष रुपमा रामकुमारी, ठाकुर, राजेन्द्र राईलाई सभासद् बनाइनु पथ्र्यो, नबनाइँदा घोर अन्याय भयो, गलत भयो भनेर भनी रहेका छैनन् र त्यसो भन्नु गलत पनि हुनेछ । उनीहरुको भनाई त के हो भने सापेक्ष ढङ्गले हेर्दा अथवा तुलना गरेर हेर्दा राम कुमारी, ठाकुर, राजेन्द्रभन्दा कम प्राथमिकतामा पर्नुपर्ने, कम्जोर अथवा उनीहरुलाई छाडेर अथवा उनहरुको सट्टामा बनाउन नसुहाउने मानिसलाई सभासद् बनाउने निर्णय गरियो, त्यसैले यो अनुचित र अन्यायपूर्ण भयो । वास्तवमा उनीहरुको भनाइ, निष्कर्षमा दम छ ।
किनकि,
१. एमालेले कहिल्यै एमाले नभएका र अहिले पनि एमाले हुन् कि होइनन स्पष्ट नभएका, भविष्यको त कुरै छाडौँ, जिन्दगीमा कहिल्यै राजनीति नगरेका अथवा सम्पूर्ण जिन्दगी आजका मितिसम्म अरु नै काम र त्यो पनि निजी काममा, मूलतः कमाई धमाइमा लागेर राम्रै आर्थिक हैसियत बनाएका, (सामाजिक हैसियत जे जस्तो भए पनि)उद्योगपति, उद्योगपतिका परिवारका सदस्य अथवा कम्तीमा पनि नेताहरुलाई आर्थीक सहयोग गर्न सक्ने हैसियत बनाएका, भएका र त्यस्ता सहयोग गर्दै आएकाहरुलाई सभासद् बनाउने निर्णय गरिएको छ । (भूलचुकले एकजना होइन, निकै जनालाई बनाउने निर्णय गरिएको छ, प्रमाण चाहिए म पनि दिन सक्छु) ।
२. एमालेका नेता, कार्यकर्तामध्ये पनि इतिहास, योगदान, योग्यता सबै हिसाबले रामकुमारी, ठाकुर, राजेन्द्रभन्दा थोरै मात्र होइन, निकै पछाडि बनाइएकाहरुलाई पनि सभासद् बनाउने निर्णय गरिएको छ । मैले पहिला पनि उल्लेख गरेको थिएँ, अनेरास्ववियुको साइनोबाट मात्र हेर्दा पनि मभन्दा जुनियर, मेरा मातहतमा बसेर काम गरेका मैले चिनेका मात्र २१ जना प्रत्यक्षमा उम्मेद्वार बनाइएका थिए र अहिले पनि निकै जनालाई सभासद् बनाउने निर्णय गरिएको छ ।
३. एउटै परिवारका एकभन्दा बढीलाई सभासद् बनाउने निर्णय भएको छ ।
४. धेरैपटक मन्त्री, सांसद भएका, लाभको पदमा बसेकाहरुलाई फेरि पनि सभासद् बनाउने निर्णय भएको छ ।
ख. गल्तीको सजाय पो हो कि भन्ने भ्रम नपरोस्ः
निश्चय पनि हामीलाई सभासद् नबनाएकोमा धेरैलाई आश्चर्य लाग्छ, आक्रोशित बनाउँछ भने कतिपयले अर्को पाटोबाट अथवा कतै हामीले गम्भीर गल्ती गरेकोले हामीलाई मौका नदिइएको हो कि भनेर पनि सोच्न, शंका गर्न सक्नेछन् । तर मेरा राजनीतिक जीवनका सबै साथी र नेताहरुलाई साक्षी राखेर भन्न सक्छु मेरा ३० वर्षे राजनीतिक यात्रामा आजका मितिसम्म पार्टी, संगठनले कारवाही गर्नुको त कुरै छाडौ स्पष्टीकरण सोध्ने, चेतावनी दिनेसम्मको पनि गल्ती गरेको छैन ।
हो ,पछिल्लो समय पार्टीले दिएका केही पदहरु मैले अस्वीकार गरेका कुरालाई गल्तीको रुपमा पनि उठाउन सक्लान् कतिपयले तर त्यो कुनै गल्ती होइन, पद, जिम्मेवारी भन्ने कुरा राजनीतिक पार्टी, संगठनमा सल्लाह र सहमतिमा लिने कुरा हो, फौजी संगठनमा भने बेग्लै कुरा हो । यसैमा तानिएर अनेक तर्क गर्न सकिन्छ तर सबैलाई छाडेर दुईटा मात्र तर्क गर्ने हो भने पद अस्वीकार गरेकै कारणले सभासद् बनाउन नमिल्ने हो भने सभासद् बनाउने सूचीमा किन राखिएको, ल मैले त पद अस्वीकार गरें भने राम कुमारी र ठाकुरले त्यसो गरेका थिएनन्, उनीहरुलाई किन नबनाइएको ?
ग) निर्णयको निर्णायक कारणहरुः
१. यस्तो निर्णय हुनुको सबैभन्दा मूख्य कारण खास–खास नेताको आग्रह र गुटगत मानसिकता वा त्यसै अनुसारको भूमिका हो ।
२. यस्तो निर्णय हुनुमा आर्थिक प्रभाव पनि कारकको रुपमा रहेको छ । यसकै सन्दर्भमा आर्थिक लेनादेन भन्न खोजिएको होइन अघिपछिको लेनदेन ।
३. निर्णयमा चाकरीको प्रभाव पनि देखिन्छ ।
४. निर्णयमा ठूला नेताहरुको बाँडी खाने, मिली खाने प्रवृत्तिले पनि काम गरेको छ ।
अन्त्यमा,
१. हामीसँग सम्बन्धित निर्णयमा चासो राख्ने, सकारात्मक, नकारात्मक टिप्पणी गर्ने सबैलाई हार्दीक धन्यवाद दिँदै सुझाव र सहयोगको अपेक्षा गर्दछु ।
२. किनारा लाग्छ कि भनेर चिन्ता गर्ने र किनारा लगाउन सकिन्छ भनी सोच्ने र प्रयत्न गर्ने सबैलाई खुला जानकारी त्यो काम मबाट हुने छैन, हेर्दै जानु होला ।
Post a Comment