0

खच्चर व्यवसाय फस्टायो


पुस १४ –
 जिल्लामा ढुवानीको प्रमुख माध्यम बनेको खच्चर व्यवसाय पछिल्लो समयमा फस्टाउँदै गएको छ ।यातायातको सुविधा भएको क्षेत्रबाट ग्रामीण इलाकामा मालसामान ढुवानीका लागि खच्चरको प्रयोग हुन थालेपछि खच्चर बढ्दै गएका हुन् ।
अहिले जिल्लामा एक हजारभन्दा बढी खच्चर कालीकोटका स्थानीयवासीले सञ्चालन गर्दै आएका छन् ।जिल्लाका ३० वटा गाविसमध्ये २१ गाविसमा यातायात नपुगेका कारण पहिले भारी बोक्दै आउने स्थानीय जिल्लावासी पछिल्लो समयमा खुद्रा व्यापारी, कस्मेटिक सामान, खाद्यान्न, दाल, चामल, नुन लगायतका सामान ढुवानी गर्नेक्रम बढेको छ । खच्चर व्यवसाय गर्दै आएका बदालकोटका देवेन्द्र शाहीले खच्चर व्यवसाय बढ्दै गएको भए पनि बाटो लगायतका समस्या बढ्दै गएका कारण खच्चर लडेर मर्ने गरेको बताउनुभयो ।
त्यति मात्र होइन खच्चरको मात्र मृत्यु भएको छैन सोही बाटोमा नानिकोटका खच्चर व्यवसायी हेमराज बोहोराको समेत मृत्यु भएको थियो । उहाँका अनुसार खच्चर ढुवानीका लागि बाटो कर्णाली नदी किनार भएकाले हिँड्नका लागि समस्या आउने मात्र होइन कयौँ खच्चरसमेत मरेको बताउनुभएको छ ।
एक खच्चरको मूल्य कालीकोटमा ७० देखि एक लाखसम्म पर्ने गरेकाले मरेको समयमा घाटा आउने गरेको खच्चर व्यवसायीहरुले बताएका छन् । बाटो कठिनाइ भएपछि कयौँ खच्चर मालसामान बोक्नसमेत छाडेका छन् । बाटो नभएपछि साढे एक घण्टा उकालो चढेर खच्चर चलाउनु परेको बताइएको छ ।
विभिन्न निकायसँग बाटो मर्मतका लागि पहल चाल्दा कसैले सुनुवाइ गरेपछि कालीकोटको शान्तिघाटबाट लालिघाटसम्म ठाउँठाउँमा बाटो भत्किएपछि खच्चर व्यवसायीले २०० मिटर तीन लाखभन्दा बढी रकम जम्मा गरेर मर्मत गरेका छन् ।
यस बाटोमा मुगु, बाजुरा लगायतका ठाउँमा सामान ढुवानी हुने गरेको छ । खच्चर व्यवसायी गठन गरेर हकहितका लागि अघि बढ्ने राहत कोष खडा गर्ने भने पनि समिति निष्क्रिय भएपछि खच्चर व्यवसायीको पक्षमा बोल्ने कोही नभएको खच्चर व्यवसाय गर्दै आएका बदालकोटका बुद्धि ऐडीले गुनासो गर्नुभयो ।
खच्चर व्यवसायमा चुनौती भए पनि पछिल्लो समयमा कालीकोटमा अन्य क्षेत्रको भन्दा छिटो आम्दानी देखिने भएपछि भेडा, बाख्रा बिक्री गरेर भए पनि खच्चर किन्नेहरुको सङ्ख्या बढ्दै गएको छ ।

Post a Comment

 
Top