नयाँ दुर्व्यसनीलाई सुधार्नमा व्यस्त पूर्वदुर्व्यसनी
' विगत सम्झँदै भन्छन्, ‘मन परेकी श्रीमतिसमेत खुसी राख्न सकिएन’ '
- अन्जली रम्तेल
पुस ११–
लागुपदार्थको दुव्र्यसनमा लागेर आफूलाई मात्र हैन आफ्ना परिवारका सदस्यलाई समेत निकै दुःख दिने सुजिन महर्जन अहिले दुव्र्यसनमा लागेका अरुलाई सुधार्ने काममा व्यस्त छन् ।
घरका परिवारसँग मात्र हैन आफ्नो घरतर्फ हेर्ने छिमेकीसँग समेत उनी झगडा गर्न तयार हुन्थे । उनी भन्छन्–‘‘कसैले मेरो घरमा हे¥यो भने पनि मलाई रिस उठिहाल्थ्यो, अनि म तथानाम गाली गर्न थाल्थेँ छिमेकीहरु आफैँ आफ्नो झ्याल ढोका थुनेर बस्थे ।’’
‘‘ती दिनहरु सम्झँदा पनि अहिले नरमाइलो लाग्छ मलाई’’, उनी विगततर्फ फर्कंदै भन्छन्– “आफूले निकै मन पराएर बिहे गरेकी श्रीमतीलाई समेत मैले खुसी राख्न सकिन । उनीसँग पनि लागुपदार्थ किन्नको लागि पैसा मागेर धुरुक्कै पाथेँ । धन्न उनले मलाई यो सब थाहा पाएर पनि छाडेर गइनन् ।’’
उनी आफ्नी आमालाई समेत दिएको दुःख सम्झन्छन्– ‘‘आमाले पैसा नदिँदा तीनतले घरको छतबाट समेत हाम फालेँ तर पनि मैले लागुपदार्थ छाड्न सकेको थिइन् ।’’ आमा र श्रीमतीको निरन्तर प्रयासपछि उनी पुनःस्थापना केन्द्र पुगे । यस्ता आठ÷दस वटा केन्द्र चहारिसकेपछि मात्र बल्ल उनले दुव्र्यसन त्याग्न सके ।
अहिले उनी लागुपदार्थ दुव्र्यसनविरुद्ध ललितपुर एड्भोकेसी नेटवर्क फर ड्रग युजर्स नामक संस्थाका प्रमुख भएर कार्य गरिरहेका छन् । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै दुव्र्यसनीको सङ्ख्या ललितपुरमा रहेको उनको भनाइ छ ।
लागुपदार्थ प्रयोग गरिरहेको अवस्थामा प्रहरीले भेटेमा सिधै जेलमा पु¥याउने भएकाले पनि अहिले उनीहरुलाई जेलबाट छुटाउने र परामर्श दिने काममा व्यस्त हुनु परिरहेको सुजिनले बताए । उनले भने– ‘‘लागुपदार्थ दुव्र्यसनमा लागेकाहरु आपराधिक क्रियाकलापमा समेत संलग्न हुने गरेकाले दुव्र्यसनीलाई सामाजिक मात्र नभई कानुनी रुपमा समेत अप्ठेरो पर्ने गरेको छ ।’’
यस्तै लागुपदार्थ दुव्र्यसनविरुद्ध कार्यरत संस्था नयाँ गोरेटोका निर्देशक दिपु जोशी करिब १५ वर्ष अघिसम्म पनि लागुपदार्थको नसामा झुम्मिने गर्दथे । साथीहरुले लागुपदार्थ प्रयोग गरेको देखेर उनले एक पटक ‘ट्राई’ गर्दा के पो होलार भन्दै सुरु गरेका थिए ।
‘‘सुरुवातको केही समय आनन्द महसुस हुने भए पनि केही समयपछि नै त्यसको ‘डोज्’ बढाउँदै लैजानुपर्नेभयो, समय अनि पैसा दुवैको बर्बादी सिवाय केही भएन,’’ उनले भने–‘‘कमाउने उमेर पनि नभएकाले परिवारमा नै भर पर्नुपर्ने थियो । मेरो आनीबानीमा आएको परिवर्तनका कारण पनि परिवारले मेरोबारेमा थाह पाउन धेरै बेर लागेन ।’’
उनले लागुपदार्थ सेवन गर्ने थाहा पाएपछि सुरुमा त उनलाई परिवारका सदस्यले पैसा दिनै छाडेका थिए । तर रातदिन सुत्न पनि नसक्ने उनको अवस्था देखेपछि भने परिवारले नै पैसा दिएर लागुपदार्थ खान पठाउन बाध्य भए । त्यसको पनि सीमा नाघेपछि भने उनलाई पुनःस्थापना केन्द्रमा पठाइयो ।
पटकपटक केन्द्रको बसाइँ पछि भने दिपुमा सकारात्मक परिवर्तन देखा पर्न थाल्यो । उनी भन्छन्– ‘‘लागुपदार्थ खान पैसाका लागि मैले मान्छे मार्नेबाहेक सबै काम गरेँ । अहिले सम्झँदा किन गरेँ हुँला त्यस्तो नराम्रो काम भन्ने हिनताबोध हुन्छ ।’’
तीस वर्षीय शशी श्रेष्ठले पनि लागुपदार्थको प्रयोग गर्न छाडेको सात वर्ष भइसकेको छ । किशोरावस्थामा साथीभाइले चुरोट तानेको देखेर आफूले पनि त्यसैको सिको गरेपछि उनको लागुपदार्थ सेवनको यात्रा सुरु भएको थियो ।
चुरोटबाट सुरु भएको उनको यात्रा ब्राउन सुगर र सिरिञ्जसम्म पुगेको थियो । नेवार समुदाय भएकाले जाँडरक्सी खानुलाई सामान्य नै मानिन्छ । त्यसैले लागुपदार्थ खाएर आएको बेलामा पनि परिवारले उसले रक्सी खाएको भनी ठान्थे ।
लागुपदार्थ खाँदाखाँदा उनको ज्यान सुकेर सिन्को जस्तो भइसकेको थियो भने पैसाको पनि निकै अभाव हुन थालिसकेको थियो । उनी भन्छन्–‘‘एक त अब मरिन्छ भन्ने पीर पनि लाग्न थालिसकेको थियो र अर्को पैसा पनि सकिँदै गइरहेको थियो । अनि अन्तिम विकल्पमा मैले पुनःस्थापना केन्द्रमा जाने निर्णय गरेँ ।’’
‘‘केन्द्रमा जाने मेरो निर्णयप्रति परिवारले विश्वास नै गरेनन्, किनकी उनीहरुलाई मैले लागुपदार्थ प्रयोग गर्छु भन्ने नै थाह थिएन । आफ्नै इच्छाको कारण केन्द्रमा गएकाले छाड्न पनि त्यति गाह्रो भएन । इच्छा शक्ति भएमा लागुपदार्थ छाड्न अप्ठेरो हुँदैन रहेछ’’–उनले आफ्नो अनुभव सुनाए ।
लागुपदार्थ छाडेपछि उनी पनि नयाँ गोरेटो संस्थामा नै आबद्ध छन् । अहिले संस्थाले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा उनी सक्रिय सहभागी भई लागुपदार्थ विरुद्ध जनचेतना जगाउने काम गर्दै आइरहेका छन् ।
राम्रा काम गर्ने यस्ता केन्द्रका कारण कतिपय दुव्र्यसनी सुधारको बाटोमा लागेका छन् भने सुधार केन्द्रमा उपचारका नाममा दिइने यातनाका कारण कतिपय दुव्र्यसनी सुधारगृहको नामदेखि पनि डराउने गर्दछन् ।
यस्तै सुधारगृहको फन्दामा परेर फर्केका युवा हुन्– मोहन बर्देवा । तीन महिना सुधारगृहको बसाइँका कारण उनमा थप मानसिक विक्षिप्तता देखिएको थियो । सुधार गर्ने नाममा आफूमाथि अमानवीय यातना दिइएको उनी बताउँछन् । शारीरिक तथा मानसिक रुपमा उनलाई निकै यातना दिएका कारण अस्पतालमा नै गएर उपचार गराउनु परेको थियो ।
अहिले सामान्य अवस्थामा रहेका र दुव्र्यसनबाट समेत टाढिइसकेका उनी भन्छन्– ‘‘त्यतिबेलाको त्यो क्षण सम्झँदा अहिले पनि आङै सिरिङ्ग हुने गरेको छ । त्यस सुधारगृहका कारण अस्पतालमा भर्ना हुनु परेको त छँदै थियो, मानसिक रुपमा समेत सुधारगृह भन्ने बित्तिकै शत्रुलाई समेत जान नपरोस् भन्ने लागेको छ ।’’
मनोविज्ञ डा अनिता तामाङ लागुपदार्थको दुव्र्यसनमा फस्न पुगेका युवालाई मनोवैज्ञानिक ढङ्गले उपचार गर्नुपर्ने बताउछिन् । परिवारका सदस्यले जबर्जस्ती कुलतबाट छुटाउन खोज्छन्, तर त्यसो गर्नु हुँदैन । दुव्र्यसनीलाई लागुपदार्थको प्रयोग गरेपछि त्यसले आफ्नो जीवनमा पार्ने नकारात्मक असरबारे उनीहरुलाई जानकारी गराई उनीहरुसँगै बसेर छलफलमार्फत उपचार गराउनुपर्ने उनले बताइन् ।
लागुपदार्थ दुव्र्यसनविरुद्ध कार्यरत विभिन्न संघसंस्थाको अध्ययनअनुसार नेपालका करिब १० लाख युवा लागुपदार्थको दुव्र्यसनमा फसिसकेका छन् । सरकारले छिट्टै नै प्रभावकारी रुपमा लागुपदार्थ विरुद्धको सचेतना कार्यक्रम युवामाझ नलैजाने हो भने यो सङ्ख्या बढेर कति पुग्ला भन्ने अनुमानै गर्न नसकिने यस क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाको धारणा छ ।
Post a Comment