0

जिन्दगी फुलाउने ठाउँ, नदी

मिलन तिमिल्सिना

 पुस १० – पुसको ठण्डी, त्यसमाथि ठाउँको नामै चिसापानी । चौबीसै घण्टा चिसो हावा चलिरहने कर्णाली नदी छेउ त्यसै उभिरहँदा पनि हातखुट्टा कठ्याँग्रिन्छ ।

तर बर्दिया ठाकुरद्वारका जाँगरिला युवालाई ठण्डीले रोक्दैन । निकुञ्ज घुम्न आउने पर्यटकले लौ डुंगा चढौं भन्ने वित्तिकै मन्डी फालेर झिसमिसेमै कर्णाली नदी पुग्छन् र पर्यटकसँग रमाउँदै चिसो नदीमा हेलिन्छन् ।
ओठ निचोरे दूध निस्कला या ननिस्किएला, तर ओठ मास्तिर जुँगाको रेखी भने भर्खर मात्र निस्कन सुरु गरेको छ ।
सँगै पढ्ने धेरै साथी दिनभर खेलबाड गरेर दिन बिताउँछन् । तर ठाकुरद्वारका १७ वर्षीय मदन थापा किताब कापी पल्टाएर र खेलेर मात्र दिन बिताउनुहुन्न । फुर्सद हुने वित्तिकै यसैगरी नदीमा डुंगा खियाएर आफ्नो जिन्दगीका पाना पल्टाउँदै भविष्य फुलाइरहनुभएको छ । ‘सधैं जागिरे त होइन, तर फुर्सद भएको बेला रिसोर्टमा आइपर्ने धेरै काम गर्छु र आफूलाई लेखपढ गर्ने खर्च जुटाउने गर्छु’ निकुञ्ज घुम्न आउने पर्यटकलाई कर्णाली नदीमा डुंगा चलाइरहेको बेला भेटिएका मदनले उज्यालो अनलाइनसित भन्नुभयो ।
डुंगा चलाउनेदेखि, पर्यटकलाई जंगलभित्र घुमाउने र रिसोर्टमा वेटर र किचनको काम समेत भ्याउनुपर्छ । ‘दाइ थारु होम रिसोर्टमा फुलटाइम गर्नुहुन्छ, अनि उहाँले नै मलाई यो काम सिकाउनुभएको’ मदनले भन्नुभयो ।
जंगल सफारी र  डुंगा खियाउने काम रमाइलो पनि हुने, फुर्सदको काम सदुपयोग पनि हुने र आप्mनो पढाई खर्च पनि जुट्ने भएकाले आफूले यो काम थालेको मदनले बताउनुभयो ।
मदन मात्रै होइन ठाकुरद्वारका अरु केही युवा पनि यसैगरी फुर्सदको समय सदुपयोग गर्छन् । ‘फुर्सद हुने वित्तिकै क्यारेमबोर्ड खेलेर ट्याम पास गर्ने साथीहरु पनि छन्, तर हामी चाहिँ जंगल, नदी र रिसोर्टमा रमाउने गरेका छौं’ मदनका साथी सितारामले भन्नुभयो । मदन १२ कक्षा पढ्दै हुनुहुन्छ भने सितारामले यसवर्ष एसएलसी परीक्षा दिँदै हुनुहुन्छ । कामले पढाईमा असर नगरोस् भनेर दुवैजना सचेत हुनुहुन्छ । ‘जंगल र नदीको घुमाईबाट पनि हामीले धेरै शिक्षा लिने गरेका छौं, विदेशी पर्यटकसँगको संगतले अंग्रेजी भाषा पनि सुधार भएको छ’ दुवैजनाले भन्नुभयो, ‘स्कूल, कलेज र काम दुवै ठाउँबाट हामीले शिक्षा लिइरहेका छौं ।’ठाकुरद्वारका झण्डै दुईसय जना युवा यहीँका होटलमा कार्यरत छन् । ‘यहाँका युवा कामको खोजीमा विदेश भौंतारिन नपरोस् भनेर हामीले उनीहरुलाई नै पहिलो प्राथमिकता दिएका छौं’ ठाकुरद्वारको थारु होमका सञ्चालक एवं पर्यटन व्यवसायी मोहनलाल चौधरीले भन्नुभयो, ‘यहाँ युवाहरुको लागि यो ठाउँ नै विदेशजस्तो भएको छ ।’
ठाकुरद्वारमा रहेका १९ वटा होटल तथा रिसोर्टमा धेरै कामदार यहीँका स्थानीय युवा रहेका उहाँले जानकारी दिनुभयो ।
तर सबै युवा काममा रुची राख्दैनन् । ‘युवाहरुमा आत्मविश्वास जगाउन जरुरी छ, पर्यटन प्रवद्र्धनमा सरकारले चासो राख्ने हो भने वर्दिया निकुञ्जले स्थानीयलाई मात्र होइन अरु ठाउँका युवालाई पनि मजाले रोजगार दिलाउनेमा दुईमत छैन’ चौधरीले भन्नुभयो ।

Post a Comment

 
Top