0
सभासद पद पैसामा साटियो- राजेन्द्र रार्इ 
 एमालेका युवा नेता राजेन्द्र राईले एमालेको समानुपातिकमा सभासद छनौटमा पैसाको प्रभाव परेको आरोप लगाउनुभएको छ । समानुपातिक सूचीमा रहेर पनि रार्इसहित लामो समय योगदान गरेका नेताहरूलार्इ पाखा लगाएर पार्टीमा योगदानै नगरेका उद्योगीहरूलार्इ सभासद बनाइएपछि राईले शनिबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । पार्टीका ठूला नेताहरूले देशका लागि रगत बगाएर योगदान गरेकालाई पाखा लगाएर पैसाको बिटो फ्याक्नेलाई सभासद बनाएको रार्इले दावी गर्नुभएको हो ।

पार्टी भित्र गुटगत राजीतिको घिनलाग्दो खेलले सभासद छनौटमा इमान्दार कार्यकर्तालाई पाखा लगाइएर चाकडी गर्नेहरुलाई ठूला नेताहरुले प्राथमिकता दिएको नेता राईको दावी छ । ‘एमालेलाई इमान्दार नेता कार्यकर्ता भन्दा पैसाले पुरिदिने बफादार व्यापारीहरुको खाँचो रहेको समानुपातिक सभासदको छनौटले प्रमाणित गरिसकेको छ,’ राईले भन्नुभएको छ, ‘जिन्दगीमा कहिल्यै राजनीति नगरेका कुनै सामाजिक कामैन नगरी कमाईमा लागेर राम्रै आर्थिक हैसियत बनाएका उद्योगपति, उद्योगपतिका परिवारका सदस्य र नेताहरुलाई आर्थिक सहयोग गर्नसक्ने हैसियत बनाएका र सहयोग गर्दै आएकाहरुलाई सभासद् बनाउने निर्णय गरिएको छ ।’

 
मंसिर ४ को चुनावका क्रममा भोजपुरको क्षेत्र नं. १ मा एमालेको चुनावी सभालार्इ सम्वोधन गर्दै राजेन्द्र रार्इ
नेता राईले फेसबुकमार्फत सार्वजनिक गर्नुभएको धारणको पूर्ण पाठ पढ्नुस्ः
 
एमाले सांसद छनौट बारे केही त बोल्नै पर्ने भयोः
एमालेले राम कुमारी झाँक्री, ठाकुर गैरे, म राजेन्द्र राईलाई समानुपातिकबाट सभासद् छनौट नगरेको सन्दर्भमा विभिन्न माध्यम मार्फत चर्को प्रतिक्रिया आई रहेको छ,९ अरुको पनि छ तर हाम्रो बारेमा अलि बढी छ० अझ भन्ने हो भने त्यस निर्णयले हामीलाई अन्याय भयो भन्ने खालका टिप्पणी, प्रतिक्रिया, त्यस निर्णयप्रति असहमति, विरोध, आक्रोस व्यक्त भई रहेको छ । त्यसैले यस विषयमा नबोलुँ भन्दाभन्दै पनि केही कुरा बोल्नै पर्ने भएको छ, यद्यपि कतिपयले यस्ता विषयमा सार्वजनिक रुपले बोल्ने, धारणा राख्ने कुरालाई कतिपयले उचित ठान्दैनन् ।

क. विरोधमा दम छः

आम मानिसहरुले।निरपेक्ष रुपमा रामकुमारी, ठाकुर, राजेन्द्र राईलाई सभासद् बनाइनु पथ्र्यो, नबनाइँदा घोर अन्याय भयो, गलत भयो भनेर भनी रहेका छैनन् र त्यसो भन्नु गलत पनि हुनेछ । उनीहरुको भनाई त के हो भने सापेक्ष ढङ्गले हेर्दा अथवा तुलना गरेर हेर्दा राम कुमारी, ठाकुर, राजेन्द्रभन्दा कम प्राथमिकतामा पर्नु पर्ने, कम्जोर अथवा उनीहरुलाई छाडेर अथवा उनहरुको सट्टामा बनाउन नसुहाउने मानिसहरुलाई सभासद् बनाउने निर्णय गरियो, त्यसैले यो अनुचित र अन्यायपूर्ण भयो । वास्तवमा उनीहरुको भनाई, निष्कर्षमा दम छ ।
किनकि,

१) एमालेले कहिल्यै एमाले नभएका र अहिले पनि एमाले हुन् कि होइनन् स्पष्ट नभएका, (भविष्यको त कुरै छाडौँ), जिन्दगीमा कहिल्यै राजनीति नगरेका अथवा सम्पूर्ण जिन्दगी आजका मितिसम्म अरु नै काम र त्यो पनि निजी काममा, मूलतः कमाई धमाइमा लागेर राम्रै आर्थिक हैसियत बनाएका, (सामाजिक हैसियत जे जस्तो भए पनि) उद्योगपति, उद्योगपतिका परिवारका सदस्य अथवा कम्तीमा पनि नेताहरुलाई आर्थिक सहयोग गर्न सक्ने हैसियत बनाएका, भएका र त्यस्ता सहयोग गर्दै आएकाहरुलाई सभासद् बनाउने निर्णय गरिएको छ । (भूलचुकले एकजना होइन निकै जनालाई बनाउने निर्णय गरिएको छ, प्रमाण चाहिए म पनि दिन सक्छु) ।

२. एमालेका नेता, कार्यकर्ता मध्य पनि इतिहास, योगदान, योग्यता सबै हिसाबले राम कुमारी, ठाकुर, राजेन्द्रभन्दा थोरै मात्र होइन निकै पछाडि बनाइएकाहरुलाई पनि सभासद् बनाउने निर्णय गरिएको छ । मैले पहिला पनि उल्लेख गरेको थिएँ, अनेरास्ववियुको साइनोबाट मात्र हेर्दा पनि मभन्दा जुनियर, मेरा मातहतमा बसेर काम गरेका मैले चिनेका मात्र २१ जना प्रत्यक्षमा उम्मेद्वार बनाइएका थिए र अहिले पनि निकै जनालाई सभासद् बनाउने निर्णय गरिएको छ ।

३. एउटै परिवारका एकभन्दा बढीलाई सभासद् बनाउने निर्णय भएको छ ।

४. धेरै पटक मन्त्री, सांसद भएका, लाभको पदमा बसेकाहरुलाई फेरि पनि सभासद् बनाउने निर्णय भएको छ ।

ख. गल्तीको सजाय पो हो कि भन्ने भ्रम नपरोस्ः

निश्चय पनि हामीलाई सभासद् नबनाएकोमा धेरैलाई आश्चर्य लाग्छ, आक्रोशित बनाउछ भने कतिपयले अर्को पाटोबाट अथवा कतै हामीले गम्भीर गल्ती गरेकोले हामीलाई मौका नदिइएको हो कि भनेर पनि सोच्न, शंका गर्न सक्नेछन् । तर मेरा राजनीतिक जीवनका सबै साथी र नेताहरुलाई साची राखेर भन्न सक्छु मेरा ३० वर्षे राजनीतिक यात्रामा आजका मितिसम्म पार्टी, संगठनले कारवाही गर्नुको त कुरै छाडौ स्पष्टीकरण सोध्ने, चेतावनी दिनेसम्मको पनि गल्ती गरेको छैन । हो ,पछिल्लो समय पार्टीले दिएका केही पदहरु मैले अस्वीकार गरेका कुरालाई गल्तीको रुपमा पनि उठाउन सक्लान् कतिपयले तर त्यो कुनै गल्ती होइन, पद, जिम्मेवारी भन्ने कुरा राजनीतिक पार्टी, संगठनमा सल्लाह र सहमतिमा लिने कुरा हो, फौजी संगठनमा भने बेग्लै कुरा हो । यसैमा तानिएर अनेक तर्क गर्न सकिन्छ तर सबैलाई छाडेर दुईटा मात्र तर्क गर्ने हो भने पद अस्वीकार गरेकै कारणले सभासद् बनाउन नमिल्ने हो भने सभासद् बनाउने सूचीमा किन राखिएको, ल मैले त पद अस्वीकार गरेँ भने राम कुमारी र ठाकुरले त्यसो गरेका थिएनन्, उनीहरुलाई किन नबनाइएको ।

ग. निर्णयको निर्णायक कारणहरुः

१. यस्तो निर्णय हुनुको सबैभन्दा मूख्य कारण खास खास नेताको आग्रह र गुटगत मानसिकता वा त्यसै अनुसारको भूमिका हो ।

२. यस्तो निर्णय हुनुमा आर्थिक प्रभाव पनि कारकको रुपमा रहेको छ (यसकै सन्दर्भमा आर्थिक लेनादेना भन्न खोजिएको होइन अघि पछिको लेनादेन) ।

३. निर्णयमा चाकरीको प्रभाव पनि देखिन्छ ।

४. निर्णयमा ठूला नेताहरुको बाँडी खाने, मिली खाने प्रवृत्तिले पनि काम गरेको छ ।

अन्त्यमा,

१. हामीसँग सम्बन्धित निर्णयमा चासो राख्ने, सकारात्मक, नकारात्मक टिप्पणी गर्ने सबैलाई हार्दिक धन्यवाद दिँदै सुझाव र सहयोगको अपेक्षा गर्दछु ।

२. किनारा लाग्छ कि भनेर चिन्ता गर्ने र किनारा लगाउन सकिन्छ भनी सोच्ने र प्रयत्न गर्ने सबैलाई खुला जानकारी त्यो काम मबाट हुने छैन, हेर्दै जानु होला ।

Post a Comment

 
Top