0

स्वाथ्य संस्थाभित्रै वेश्यावृत्ति

 पुस १६ –
 राजविराज नगरपालिकाका स्थानीयवासीलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले राजविराज नगरपालिका कार्यालयले निर्माण गर्न लागेको वडा स्वास्थ्य क्लिनिकको अधुरो भवन अहिले वेश्यावृत्ति, लागुऔषध र लागुपदार्थ सेवनकर्ताका लागि सुरक्षित स्थलका रुपमा परिणत हुन थालेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा साझा प्रकाशन कार्यालयको छेउमा राजविराज नगरपालिकाद्वारा निर्माण हुन लागेको उक्त भवनको निर्माण कार्य केही वर्षदेखि अलपत्र छ ।
कुल रु २२ लाखको लागतमा निर्माणाधीन उक्त भवनको निर्माण कार्य आर्थिक वर्ष २०६७÷६८ मै सक्नुपर्नेमा अझै निर्माण कार्य पुरा नहुँदा भवन अवैध कार्य गर्ने थलोका रुपमा परिचित हुन थालेको नागरिक सञ्जाल सप्तरीका संस्थापक अध्यक्ष सुखराम यादवले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ– “एक वर्षभित्र निर्माण हुनुपर्ने उक्त भवन तीन वर्ष बित्न लाग्दासमेत पूरा गर्नेतर्फ नगरपालिका कार्यालय र उपभोक्ता समिति उदासीन हुनु दुःखद हो ।”
स्वास्थ्य क्लिनिकको अधुरो भवनमा फालिएका कण्डम, सिरिन्ज तथा ड्रग्सका सामानहरु भवनको जताततै फ्याँकिएको अवस्थामा फोटो खिचेर नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराउँदा चाँडै नियन्त्रण गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरिए पनि अझै कार्यान्वयन नभएको साझा प्रकाशन राजविराजका प्रमुख मनोजकुमार माझी बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ–‘‘स्वास्थ्य क्लिनिकको अधुरो भवन अवैध क्रियाकलाप गर्ने स्थलका रुपमा परिणत हुन थालेकाले सो गल्ली भएर आवतजावत गर्न सर्वसाधारण छाडिसकेका छन् ।” स्वास्थ्य क्लिनिकको नाममा निर्माण भएको भवन बेवारिसे अवस्थामा रहेका कारण भवन दुर्गन्धित बनेको माझीको भनाइ छ ।
राजविराज नगरपालिका कार्यालयका प्रमुख देवराज चौलागार्इंले बजेट आभावका कारण भवन निर्माण कार्य रोकिएको बताउँदै छिट्टै उक्त भवन निर्माण कार्य पूरा गरिने बताउनुभयो ।

Post a Comment

 
Top