0

साना नानीलाई कस्तो सास्ती !

श्रीधर पौडेल

 माघ २७ – 

ललितपुरको झम्सिखेलकी शर्मिला अमात्य (नाम परिवर्तन) आफ्नी छ वर्षकी छोरीलाई ‘नाम चलेको स्कुलमा’ पढाउने ध्याउन्नमा हुनुहुन्छ ।

उहाँको यो प्रयत्नले हिजोआज आमाछोरी दुवैको दैनिकी बदलिएको छ । विहान १० बजे देखि घर नजिकैको एउटा मण्टेश्वरीमा पढ्ने उहाँकी छोरीलाई स्कुल छुटेपछि दिउँसो तीन बजे पुल्चोकको एउटा ट्युसन सेण्टरमा पुर्‍याउनु पर्छ ।
दिनभरी स्कुलमा पढाई र खेलाईमा रमाई रहेकी ति सानी नानी ट्युसनका नाममा थपिएको एक घण्टाको बोझले बेलुकी पाँच बजेसम्ममा थकाईले लखतरान हुन्छिन् । ट्युसन कक्षाबाट फर्कदाँ धेरैजसो दिन उनी बाटोमै निदाउँछिन् !  
साना नानी माथि थोपरिएको यो कहरको कथाको भित्रि पाटो गतिलो ब्यापारमा पुगेर टुङ्गिन्छ । अर्थात् ‘नाम चलेको स्कुल’ले लिने प्रवेश परिक्षामा पास हुन आवश्यक तयारी कक्षा भन्दै बग्रेल्ति खुलेका ट्युसन सेण्टरका धन्दाले ससाना नानी माथि दवाव बढेको छ भनें उनीहरुका अभिभावकको दैनिकी पुरै बदलिएको छ ।
यस्ता ट्युसन सेण्टरका सञ्चालकहरुले प्रवेश परिक्षामा पास हुने ग्यारेण्टि सहितका बिज्ञापन गर्छन् । गएको पुष महिनाबाट सुरु भएका यस्ता कक्षाहरुमा, प्याकेज भन्दै प्रति विद्यार्थी १० देखि १२ हजार रुपैयाँ लिने गरिएको फेला परेको छ । त्यसो त अझै पनि ‘मिलाएर’ गर्ने भन्दै यस्ता ट्युसन सेण्टरले दुईचार हजार रुपैयाँ घटाएर भर्ना लिईरहेका छन् । यो क्रम शैक्षिक सत्र सुरु हुने बेलासम्म चलिरहन्छ ।वितेको ८–१० वर्षदेखि हरेक वर्ष यस्तै धन्दा गर्दै आएका ट्युसन सेण्टरमा औषतमा ६० जनासम्म बालबालिका राखिएको फेला परेको छ । अनौपचारिक यहि तथ्यांकलाई हेर्ने हो भने पनि यस्ता सेण्टरमा एक सिजनमा सात लाख रुपैयाँसम्मको कारोबार हुने गरेको देखिन्छ ।
अभिभावकलाई आकर्षित गर्न त्यस्ता ट्युसन सेण्टरहरुले अघिल्ला वर्षहरुमा कुनै ‘नाम चलेको स्कुल’मा प्रवेश परिक्षा पास गरेका विद्यार्थीहरुको फोटो सहितको विवरणसमेत राख्ने गरेका छन् ।यस्ता सेण्टरले हरेक हप्ता जस्तो नाम चलेका विद्यालयमा विद्यार्थीहरुलाई घुमाउन पनि लाने गर्छन् । यसले गर्दा अभिभावकहरुलाई तीनै विद्यालयका पूर्व र वर्तमान शिक्षकहरु त्यस्ता ट्युसन सेण्टरमा आवद्ध भएको पुष्टि गर्न सजिलो हुन्छ । खासगरी रातो बंगला, बुढानिलकण्ठ, सेण्ट जेभियर्स, सेण्ट मेरिज लगायतका विद्यालयको प्रवेश परिक्षालाई लक्षित गर्दै चलिरहेको यो गोरखधन्दा केहि वर्षयता निर्वाध चलिरहेकै छ ।   

विद्यालय खण्डन गर्दैनन् !

कतिपय ट्युसन सेण्टरले ‘नाम चलेको स्कुल’का शिक्षकले नै चलाएको भन्दै ब्यापार गरिरहे पनि यसलाई सम्बन्धित विद्यालयहरुले खण्डन गर्दैनन् । तर सेन्ट जेभियर्सका प्रिन्सिपल अमृत राई यस्ता ट्युसन सेन्टर प्रति आफ्नो विद्यालयको कुनै संलग्नता नभएको बताउनुहुन्छ ।
यस्ता सेन्टरमा पढेकै आधारमा कुनै विद्यार्थीको नाम निस्केको पुष्टि गर्न उहाँको चुनौती छ । त्यसो भए यस्ता कृयाकलाप रोक्न किन तपाईंहरु चासो राख्नु हुन्न त ? भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ ‘हाम्रो नाम राखेर खोलिएका ट्युसन सेन्टरका सञ्चालकलाई बोलाएर यस्ता कृयाकलाप नगर्न सम्झयौं, तर उनीहरु हाम्रा अगाडि हुन्छ हुन्छ भन्छन् तर, यस्ता कृयाकलाप रोकिएनन् ।’
बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशरबहादुर खुलाल कसैले गरेको काममा हस्तक्षेप गर्ने निकाय आफू नभएको तर्क गर्नु हुन्छ । प्रवेश परिक्षा तयारीका नाममा विद्यार्थी र अभिभावकमाथि भइरहेको आर्थिक शोषण र मानसिक दवाव रोक्न तपाईहरुको कुनै दायित्व छैन भन्ने प्रश्नमा उहाँ  त्यस विषयमा सोच्ने दायित्व भए पनि अहिलेसम्म नसोचिएको बताउनुहुन्छ ।
रातो बंगलाकी प्रशासक, प्रकृति कर्माचार्य भन्नुहुन्छ, ‘हामी अभिभावकलाई सबै विद्यालय राम्रो भएको र यस अघि जुन विद्यालयमा तपाईको नानीले पढेको छ, रातो बंगलाको लागि, त्यहि पढाई काफि हुने बताउँछौँ तर, अभिभावक आफैँ कुन ट्युसन सेन्टर राम्रो छ भन्दै सोध्न आउँछन् ।’ तर यसले न बिद्यार्थीको सकस कम गरेको छ न त अभिभावकको आर्थिक भार नै ।

प्रवेश परिक्षाको भूत !


बुढानिलकण्ठ विद्यालयमा हरेक वर्ष कक्षा ५ र कक्षा ११ मा नयाँ भर्ना लिइन्छ । यहाँ पढ्ने सबै विद्यार्थी छात्राबासमा बस्छन् । कक्षा ५ मा एक सय २० जनाको कोटा हुन्छ । त्यस मध्ये विभिन्न जिल्लाबाट ४० जनाले छात्रबृत्तिमा पढ्न पाउँछन् ।
नयाँ भर्ना हुने जम्मा विद्यार्थी मध्ये ८० जना छात्र र ४० जना छात्रा हुनु पर्ने ब्यवस्था छ । गएको शैक्षिक सत्रका लागि यस विद्यालयमा खुल्लामा ५ सय जनाको निवेदन परेको थियो भने छात्रबृत्तिका लागि ११ सय ११ जनाको । गतवर्ष एसएलसीमा सहभागि १ सय १७ जना मध्ये ३७ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए भनें बाँकी विशिष्ट श्रेणीमा उत्तिर्ण भएका थिए ।
रातो बंगलामा कक्षा १ मा मात्रै नयाँ भर्ना लिईन्छ । ६० जनाको सिटका लागि गतवर्ष झण्डै चार सयको आवेदन परेको थियो । २०५२ सालबाट एसएलसीमा संलग्न भएको विद्यालयमा गतवर्ष ५६ जनाले एसएलसी दिएका थिए । जसमध्ये २६ जना डिष्टिङ्सन र ३० जना प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए ।   
सेन्ट जेभियर्स जावलाखेलले कक्षा १ मा मात्रै नयाँ भर्ना लिन्छ । एक सय ३५ सिटका लागि गतवर्ष छ हजार ५७ जनाले प्रवेश परिक्षा दिएका थिए । एक हजार नौ सय ९५ विद्यार्थी पढ्ने यस विद्यालयमा गतवर्ष एक सय १६ जना विद्यार्थीले एसएलसी दिएकोमा ४६ जनाले डिष्टिङ्सन र बाँकी प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए ।  

कहिले रोकिएला बालबालिका माथिको आतंक ?

वालवालिकाको सर्वांगिण विकास गर्ने अवधारणा अनुसार वाल केन्द्रित सिकाइबाट कक्षा कोठा सञ्चालन गर्ने अवधारणा संसारमा आएको पछिल्लो शिक्षण पद्धती हो । तर हाम्रा शैक्षिक क्रियाकलाप अझै पनि अंक केन्द्रित हुँदा विद्यालय प्रवेश देखिनै बालबालिका परीक्षाको आतंकबाट गुज्रन बाध्य छन् ।
यसले बालबालिकाहरुमा प्रतिशोध र हिनताको भावना जगाउन मद्धत गरिराखेको छ । जसरी हुन्छ ‘नाम चलेको स्कुल’मा सन्तान भर्ना गर्ने चाहनामा रहेका अभिभावकले आफ्ना नानीलाई जसरी पनि नाम निकाल्नु पर्छ भनेर दवाव दिन्छन् ।
महिनौ कोचिङ सेण्टरमा राखेको, खर्च गरेको रकम आदी कुराले अभिावकसँगै बालबालिकाको मनोविज्ञानमा पनि पक्कै असर गर्छ । जहाँ पढे पनि राम्रो पढ्ने हो भन्ने ज्ञान अभिभावकमा ल्याउनु जरुरी रहेको सेन्ट जेभियर्सका प्रिन्सिपल राई बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘निश्चित सिट संख्याका लागि हजारौँ विद्यार्थीको आवेदन पर्छ, विद्यार्थीको क्षमता त जाँच्नु पर्‍यो नी !’
तर बाल केन्द्रित सिकाईवाट कक्षा चलाउने दावी विद्यालयहरुको प्रवेश परीक्षा नै अंक केन्द्रित भइरहेको छ । बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल खुलाल भन्नुहुन्छ, ‘अव प्रबेश परिक्षाको विकल्पका बारेमा सोच्नु पर्ने बेला भईसकेको छ ।’

विकल्प, गोला !

अमृत राई, प्रिन्सिपल, सेन्ट जेभियर्स जावलाखेल
कक्षा एकको लागि प्रवेश परीक्षा किन चाहियो ? हामी आफैँ पनि सोच्छौं, साढे ५ देखि साढे ६ वर्षका बालवालिकालाई परीक्षा मानसिक तनाव हो । यो हामीलाई थाहा भएकै कुरा हो । हुँदा हुँदै पनि प्रवेश परिक्षा राख्नु पर्नाको कारण धेरै छन् । पहिलो कक्षा १ मा पढ्ने विद्यार्थीको लागि आवश्यक प्री लर्निङ् थाहा पाउनु त पर्‍यो । जस्तै क ख रा, ए बी सि डि, नम्बर चिनेको छ की छैन थाहा पाउनु त पर्‍यो । दोश्रो नानीहरु विभिन्न ईन्टेलिजेन्स (बौद्धिकता) का हुन्छन् ।
साधारण भाषामा भन्ने हो भने सबै गणितमा राम्रो हुन्छन् भन्ने छैन, सबै विज्ञानमा राम्रो हुन्छन् भन्ने छैन, यो परीक्षा लिनुको कारण बच्चाहरुलाई पास र फेल गर्न होइन ।
नानी कुन बौद्धिकताको छ भन्ने थाहा पाउन हामी परीक्षा लिन्छौं, ता की हाम्रो स्कुलमा भर्ना भएपछि यो नानीको यो बौद्धिकता छ, यो कुरामा चुनौति छ, भन्ने थाहा हुन्छ । उदाहरणका लागि सात वटा बौद्धिकता छ भने भाषामा राम्रो छ तर तार्किक बौद्धिकतामा राम्रो नहोला ।
जबव ऊ कक्षा १ मा आउँछ उसको चुनौतीलाई समाधान गर्नुपर्छ । उसको अवस्था थाहा पाएपछि शिक्षकलाई केन्द्रित हुन सजिलो हुन्छ । कुनै आधार विना त यस्ता कुरा चाल पाईंदैन । त्यसैले, परीक्षा पास फेल भन्दा पनि अभिभावक र शिक्षकलाई बच्चाको चुनौति थाहा दिनका लागि सहयोगि हुन सक्छ ।
एक घण्टाको अवधिमा बच्चाको बौद्धिकता कसरी प्रमाणित हुन्छ ?
जुनै पनि आविष्कार हुन्छन् ती सबै सानो विन्दुबाट हुन्छन्, न्युटनले पत्ता लगाउनु अघि पनि त स्याउ भुईँमै खस्थ्यो नी ! माथि त जान्थेन ! तर ति मानिस मध्ये न्युटनले मात्रै यो प्रश्न गर्नु भयो ? किनकी उहाँमा यो बौद्धिकता थियो । त्यसैले बच्चाको क्षमता थाहा पाउन यस्ता परिक्षण त अवश्य चाहिन्छ ।  
एउटै घरका बच्चा मध्ये कुनै फरासिलो हुन सक्छ कुनै लजालु हुन सक्छ, बच्चाको मनोविज्ञानका अनुसार जो फरसाईलो नानी छ उ ईन्ट्रा पर्सनल ईन्टलिजेन्ट हो, जो लजालु छ त्यो ईन्टर पर्सनल हो । यो दुईवटै जन्मदैँ आएका गुण हुन् । यी दुवै गुण भएका नानीहरुको क्षमता र चुनौति बुझ्नका लागि परीक्षा आवश्यक छ ।
सात हजार विद्यार्थीबाट एक सय ५० हाराहरी छान्नु भनेको असाध्यै चुनौति हो । त्यसैले अन्य अवधारणाका बारेमा सोच्दै छौँ, हामीले प्रि लर्निङ्को परिक्षण गरिसकेपछि गोला हाल्ने की भन्ने सोच्दै छौं ।
हुन त शिक्षा स्वास्थ्य सिमित गर्न सकिदैंन, जहाँ पनि पढ्न र उपचार गर्न पाउने अधिकार हो । तर निश्चित क्षेत्रको वालवालिकालाई मात्रै लिन पाउने आधार बनाउन सकिन्छ ।
पाँच देखि सात किलोमिटर क्षेत्रको विद्यार्थी मात्रै भर्ना गर्न पाईने भन्ने हुन सक्छ । अनी विद्यालयमा पढ्न चाहने विद्यार्थीको क्षमता बुझेर पहिचान गरेपछि गोला हाल्ने, यसो गर्दा अभिभावक पनि सन्तुष्ट हुन सक्छन् ।

Post a Comment

 
Top