गृहमन्त्रालय कसको भन्नेबारे काँग्रेस एमालेको आ–आफ्नै हठ
नेपाली काँग्रेस र एमालेबीच गृहमन्त्रालयमा दुवै पार्टीको दाबी रहेपछि मन्त्रिमण्डल विस्तारको कार्य प्रभावित भएको छ ।
एमालेले यसअघि दुवै दलबीच गृहमन्त्रालय आफ्नो पार्टीलाई दिने सहमति पालना नभएको भन्दै सरकारमा नजाने अकस्मात निर्णय लिएको छ । नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनको समर्थन प्राप्त गर्ने सन्दर्भमा भएका छलफलमा एमालेलाई गृहमन्त्रालय दिने कुनै सहमति नभएको बताउँदै आएको छ ।
गृहमन्त्रालयको विवाद बल्झदै गएपछि सोमबार संसदबाट प्रधानमन्त्री निर्वाचित हुनुभएका नेपाली काँग्रेस सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाले मङ्गलबार पदको शपथ लिएर कार्यभार सम्हाल्नु भए पनि मन्त्रिमण्डल विस्तारमा कठिनाइ भएको छ ।
संविधानसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री सुशील कोइरालाले एमालेसँग मन्त्रिमण्डल विस्तारबारेमा कुरा भइरहेको छ भन्नुभयो ।
“तर एमालेलाई गृहमन्त्रालयको जिम्मेवारी दिने सहमति भने भएको छैन,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।
नेपाली काँग्रेसका नेता एवम् बिनाविभागीयमन्त्री डा रामशरण महतले गृहमन्त्रालयमा काँग्रेसको पनि दाबी छ एमालेको पनि दाबी छ तर यसबारे टुङ्गो लागेको छैन भन्नुभयो ।
गृह नदिएर तपाइँहरूले बेइमान गर्नुभएको छ भन्ने प्रश्नमा मन्त्री महतले भन्नुभयो, “बेइमानी हामीले पनि गरेका छैनौँ उहाँहरूले पनि गर्नुभएको छैन, यद्यपि गृहमन्त्रालय दिने सहमति भएको थिएन, उठेको विषयलाई समाधान गर्ने प्रयासमा हामीहरू छौँ ।”
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले देश, नेपाली जनता सहमतिको पक्षमा छ बिनासहमति संविधान बन्दैन भन्दै संविधान बनाउने प्रक्रियाबाट हामी अघि बढेको बेलामा सहमतिबिना संविधान बन्ने कुनै सम्भावना छैन त्यसैले एमाले सहमतिको पक्षमा छ भन्नुभयो ।
उहाँले काँग्रेससँग गरेको सहमति केही लिखित केही अलिखित थिए त्यसको मान्यता हुनुपर्ने बताउँदै मुलुक, जनताप्रति जिम्मेवार भएर संविधान बनाउने कुरालाई केन्द्रमा राखेर काँग्रेस चलोस् हाम्रो सहयोग हुन्छ भन्नुभयो ।
“तर असहयोग, वेइमानी र धोखाघडीका कुरा भयो भने दुर्भाग्यपूर्ण हुन्छ, समझदारीको परिपालन गर्ने कुरामा पशुपतिनाथले नेपाली काँग्रेसलाई बुद्वि दिउन, अहिले एमाले र काँग्रेस मिलेर जानुको विकल्प छैन ” अध्यक्ष खनालले भन्नुभयो ।
गृहमन्त्री एमालेलाई दिने सहमति साँच्चै भएको हो भन्ने एक अर्को प्रश्नमा अध्यक्ष खनालले भन्नुभयो,“ साँच्चै भाको हो ।”
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिबाट कुरा टुग्याउनुपर्छ भन्दै यदि वचन दिइएको छ भने वचन पालना हुनुपर्छ र सहमतिमा विषयलाई टुङ्ग्याउनुपर्छ भन्नुभयो ।
“काँग्रेसका नेताहरू होइन भन्नुहुन्छ, हाम्रा साथीहरू हो भन्नुहुन्छ, मुख्य नेताले गरेको छैन भन्नुहुन्छ, यस्ता कुरा बसेर टुङ्ग्याउनुपर्छ एमाले सम्मानजनक ढङ्गबाट सरकारमा जान चाहन्छ,” नेता नेपालले भन्नुभयो ।
Post a Comment