0
डढुवाले आलु मर्न थालेपछि किसान चिन्तित
१२ फागुन ।
 
धादिङका विभिन्न स्थानमा लगाइएको आलुमा डढुुवा रोग फैलिन थालेपछि किसान चिन्तामा परेका छन् ।       
 
मौसम परिवर्तनसँगै देखापरेको डढुवा रोगको प्रकोपले आलु उत्पादन नहुने भएपछि किसान चिन्तित बनेका हुन् । आलुको पात र जरासम्म कालो छिर्का देखा परेर बोटसमेत मर्न थालेको किसान बताउँछन् । केही दिनअघि आकासे पानी परेपछि गाउँभरि लगाइएको आलुमा यस्तो समस्या आएको हो ।
 
       आलुमा रोग देखापर्न थालेपछि सल्लाहका लागि कृषक जिल्ला कृषि विकास कार्यालयमा आउन थालेका कार्यालयले जनाएको छ । फल लाग्ने बेलामा धमाधम बोटहरु मर्न थालेपछि आलुको पकेट क्षेत्र मानिएको धादिङको साङकोस, नीलकण्ठ, मुरलीभञ्ज्याङ लगायतका किसान मर्कामा परेका हुन् ।
 
       प्राविधिकहरुको सल्लाहअनुसार उपचार गरिए पनि रोग फैलिने क्रम नरोकिएको साङ्कोस–३ की कृषक शान्ता लम्सालले बताइन् । विशेषगरी धादिङको साङ्कोसस्थित आँसीखोला आसपासका खेतमा लगाइएको आलुमा यस्तो रोग देखापरेको हो ।
 
       रोगले आलुको बोट सुक्न थालेपछि उपचारका लागि प्राविधिकलाई खेतमा हेर्न आग्रह गरेको भए पनि उनीहरुले चासो नदेखाएको किसानले गुनासो गरेका छन् । प्राविधिक नआउँदा किसानलाई कुन औषधि प्रयोग गर्ने भन्ने अन्योलसमेत रहेको रश्मी रिजालले गुनासो गरिन् ।
 
       उनको तीन रोपनी खेतमा लगाएको आलु सुक्न थालेको छ । हावाबाट फैलिने रोग भएकोले नियन्त्रणमा लिन कठिन भएको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले बताउनुभयो ।

Post a Comment

 
Top