0
लुम्बिनी चिनी उद्योगमा छानबिन गर्न कार्यदल गठन
१२ फागुन ।
 
नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले वर्षांैदेखि किसानको उखु कम तौल गरी ठगी गर्दै आएको रहस्य खुलासा भएपछि उद्योग मन्त्रालयले छानबिनका लागि कार्यदल गठन गरेको छ । 
 
मन्त्रालयले नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुका वरिष्ठ निरीक्षक मनिसकुमार दासको संयोजकत्वमा पाँच सदस्यीय छानबिन कार्यदल गठन गरेको हो । जिल्ला प्रशासन कार्यालय नवलपरासीका एक अधिकृत, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलका निरीक्षक शम्भु अचार्य, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि र स्थानीय उखु कृषकको प्रतिनिधि रहने गरी कार्यदल गठन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 
कार्यालयका अनुसार स्ट्यान्डर्ड नापतौल ऐन २०५५ र नियमावलीअनुसार कार्यदल गठन गरी छानबिन सुरु गरिनेछ । उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले उद्योगले किसानको उखु तौल गर्दा घटाएर तौल गरी ठगी गरेको भन्दै बिहीबार स्थानीय प्रशासनमा उजुरी दिनुभएको थियो । 
 
उजुरीपश्चात् गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलको टोलीले तौल केन्द्रबारे छानबिन गर्दा उद्योगमा रहेको तौल केन्द्रका तौल मेसिन विगत तीन वर्षदेखि नवीकरण नभएको पाएको थियो । कार्यालयका निरीक्षक शम्भु आचार्यले उद्योगको तौल मेसिन २०६८ सालदेखि नवीकरण नभएको जानकारी दिनुभयो ।  
 
तौलमा किसानलाई ठगी गर्दै आएको उद्योगले तीन वर्षसम्म घटी देखिने तौलको अनुपातमा क्षतिपूर्ति तिर्नुपर्ने र कानुनबमोजिम कारबाहीको भागी हुनुपर्ने माग उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष ज्ञवालीले गर्दै आउनुभएको छ । 
 
तौल कम भएको आशङ्का गर्दै केही किसानको रोहवरमा बुटवल सिमेन्ट स्वाठीमा रहेको तौल केन्द्रमा ट्र्याक्टरसहितको उखु तौल गर्दा ३३५ केजी उखु कम भएको थियो । सिमेन्ट मिलमा उखु तौल गर्दा १५ हजार ३२० केजी उखु थियो । तर चिनी उद्योगको तौल मेसिनमा तौल गर्दा सोही उखु १४ हजार ९८५ केजी मात्र देखिएको थियो । हालसम्म उद्योगले पाँच लाख क्विन्टलभन्दा बढी उखु तौल गरिसकेको दाबी किसानको रहेको छ । 

Post a Comment

 
Top