संकटमा सप्रिएका प्रतिभा
सुजाता कार्की |
एचआईभी संक्रमित बालबालिकालाई सकेसम्म भर्ना लिँदैनन् विद्यालयहरू । अझ कतिपय विद्यालय प्रशासनले भर्ना गरिएका विद्यार्थीलाई पनि संक्रमित भएको थाहा हुनेबित्तिकै स्कुलबाट निकालेको पनि सुनिन्छ। समाज जतिसुकै शिक्षित हुँदै जाओस्, एचआईभी संक्रमितप्रति संकुचित र अवहेलनापूर्ण व्यवहार भइरहेकै छ।
यस्तो व्यवहारको सिकार भएका देशभरका असंख्य बालबालिकाका उदाहरणमध्ये पर्छन्, मञ्जु पुन, सोनु विकलगायतका १७ बालबालिका।
एचआईभी संक्रमित बालबालिकाको जीवन र शैक्षिक भविष्य दुवै अस्तव्यस्त भएको समाचारबाट पढेपछि मलहम लगाउन कस्सिएका थिए, लेबोरेटरी माविका पूर्वप्रशासक राजकुमार पुन। यसका लागि विभिन्न जिल्लाका संक्रमित बालबालिकाल राजधानी ल्याएर शिक्षा दिलाउन चार वर्ष 'बेबी लाइफ होम' नामक दर्ता गरे।
संस्थामा ल्याइएका संक्रमित बालबालिकालाई विभिन्न विद्यालयमा भर्ना गरेर शिक्षा दिन खोजे तर सकेनन्। नसक्नुको कारण थियो, 'इज्जत जाने' डरले विद्यालयले भर्ना नलिनु। सेवाभन्दा व्यापारमुखी भावना भएका ती विद्यालयले संक्रमित बालबालिकालाई शिक्षा दिन चाहेनन्।
यस्तो भएपछि उनीहरूको भविष्य सपार्न आफैं स्कुल खोल्ने निधोमा पुगे राजकुमार । सहयोगी उमा गुरुङको सहकार्यमा 'सफलता एचआईभी शिक्षा साधन' नामक विद्यालय दर्ता गरे। अहिले त्यो स्कुलमा विभिन्न जिल्लाका १७ जना संक्रमित बालबालिका पढिरहेका छन्।
कुनै बेला विद्यालयको ढोकाबाटै फर्काइएका संक्रमित बालबालिका अहिले आफ्नो प्रतिभा तिर्खादै अन्य विद्यालयको विद्यार्थीकै हाराहारीमा प्रतिस्पर्धा गर्न सफल भएका छन्। सुरुमा बोल्न हिच्किचाउने दुब्ला शरीरका बालबालिका अहिले शरीर र शैक्षिक दुवै रूपमा बलियो बनिरहेका छन्। ठूलै संक्रमण शरीरमा भए पनि उनीको मानसिकता सकारात्मक भविष्यमा केही गर्ने सोचले भरिएको छ।
संक्रमणकै बीचबाट भविष्यमा नर्स, डाक्टर र पाइलट बन्ने सपना बुनेका छन् उनीहरूले। कीर्तिपुर डाँडामा पुग्ने जो कोहीले पनि उनीहरूको जीवनमा आएको हरियाली देख्न सक्छ। जन्मथलोमा रहँदा विद्यालय देख्न नपाएका उनीहरू अहिले अंगे्रजीमा आफ्नो परिचय दिन्छन्। बालबालिका अहिले खुला रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्न आँट गर्छन्। 'समाजमा हामी खुल्न चाहन्छौं', उनीहरू एकै स्वरमा भन्छन्।
यिनै बालबालिकामध्येकी एक हुन्, १२ वर्षीया मञ्जु चन्द। भविष्यमा समाजसेवा गर्ने उद्देश्य उनको छ। उनी भन्छिन् 'एचआईभी लाग्दैमा चाँडो मरिन्छ भन्ने होइन रहेछ। फेरि एचआईभीले मात्रै मरिन्छ भन्ने पनि होइन। कुनै दुर्घटनाबाट पनि मर्ने सकिने रहेछ।'
यतिसम्म बुझेकी मञ्जु थप्छिन्, 'मर्नको लागि काल पर्खिन पर्दैन। सबैले एक दिन मर्नै पर्छ तर बाँचुञ्जेल हाँसीखुसी समाजमा राम्रो काम गर्नुपर्छ।' आफूजस्ता एचआईभी संक्रमित साथीलाई सहयोग गर्नु मुख्य कर्तव्य भएको धारणा उनको छ।
यही धारणाले मञ्जुलाई सन् २०१३ को किड कुइनमा 'मस डिसिप्लिन' अवार्ड पनि दिलायो। अवार्ड जितेपछि उनले आफू एचआईभी संक्रमित भएको बताउँदा कार्यक्रममा उपस्थित सबै भावुक बन्न पुगेका थिए। त्यस्तै मञ्जुले त्यही वर्ष ब्रिटिस काउन्सिल सोसियल एक्सनलाई बुझाएको सामाजिक कार्यसम्बन्धी प्रस्ताव उत्कृष्ट ठहरिएपछि दुई सय पाउन्ड पुरस्कार जितेकी थिइन्। त्यसबापत पाएको रकमले नजिकको मच्छेगाउँ गाविसमा जनचेतना कार्यक्रम गरेकी थिइन्।
त्यही विद्यालयमा नर्सरीमा पढिरहेकी पाँच वर्षीया सोनी विकले राम्रो गीत गाएबापत नइ प्रकाशनले दिने चिचिला पुरस्कार पाएकी थिइन्। अर्की विद्यार्थी १२ वर्र्षीया उर्मिला अर्याल मेगा डान्सको देशव्यापी प्रतिस्पर्धामा उत्कृष्ट १५ मा पुगेकी थिइन्।
विद्यालयले अहिले एउटै कक्षा कोठमा नर्सरीदेखि ५ कक्षासम्म विभाजन गरेर सफलतापूर्वक अध्ययन अध्यापन अगाडि बढाइरहेको छ। सार्वजनिक बिदाको दिनमा अरू विद्यालयले जस्तै बिदा दिने यो स्कुल विद्यालय पोसाक आदिले गर्दा अरू स्कुलभन्दा कम छैन्।
अनुशासन पनि उनीहरूबाट प्रभावित हुने अर्को एउटा पक्ष हो। उनीहरू कक्षाकोठामा चुपचाप शान्तसँग एकआपसमा मिलेर बस्छन्। निर्धारित समयमा सुत्ने र उठ्ने गर्छन्। नाच्न, गाउन, खेल्न सबैमा उत्कृष्ट यी बालबालिका आफ्नो रुचिअनुसार सबै प्रतिभाको पारखी छन्। सबैमा जोश, जाँगर, उत्साह र सबैलाई केही गरौं भन्ने दृढता छ।
उनीहरूको प्रतिभाले सबैजनालाई प्रभाव पारेको छ। त्यहाँ पुग्ने व्यक्तिले केही न केही मात्रमा सहयोग गरेरै जान्छ। अध्यक्ष पुनका अनुसार बालबालिका समाजमा खुल्न चाहन्छन्। त्यसैले समाजमा रहेको भेदभाव अन्त्य गरी सबैको साथको खाँचो छ। सुरुमा 'एचआईभी घर' भन्ने नाम दिइएको विद्यालय अहिले सबैको प्यारो बन्दैछ। संक्रमतिलाई हेर्ने समाजको दृष्टिकोणमा केही मात्रामा भए पनि परिवर्तन आएको उनीहरूले महसुस गरेका छन्।
Post a Comment