0
सञ्जाल सम्बन्ध
'किन चलाउनुहुन्छ फेसबुक?' सातदोबाटोमा डेरा गरी बस्ने सुनसरीकी सरस्वती केसी 'सरु' (३०) को सहज उत्तर छ- 'बूढोसँग गफ गर्न।' हिजोआज सुरु र रोजगारको सिलसिलामा जर्मनी पुगेका नरेन्द्र खत्रीबीच संवादसूत्रको काम गरिरहेको छ, सामाजिक सञ्जाल फेसबुकले।
दुई वर्षअघिसम्म साइबर र पीसीओमा पुगेर इन्टरनेट फोनमा झुन्डिने सरुलाई अहिले यस्तो गर्नु परेको छैन। 'सामान्य हालखबरदेखि घरायसी निर्णय पनि फेसबुकबाटै सल्ट्याउँछौं', सरु भन्छिन्, 'उता साँझ पर्न लाग्दा यता आफ्नो सुत्ने बेला भएको हुन्छ, तैपनि च्याट गर्न थालेपछि रात बितेको थाहै हुन्न।'
नरेन्द्रकै सुझाउमा सरुले दुई वर्षअघि फेसबुक एकाउन्ट खोलेकी हुन्। 'मलाई फेसबुक भनेको के हो? भन्ने थाहा थिएन', सरु भन्छिन्, 'साइबरको मान्छेलाई भनेर उनैले खोलिदिएको, पासवर्डसमेत उनैले राखिदिएका छन्।' खर्चिलो फोनभन्दा फेसबुकले सरु-नरेन्द्र जोडीलाई अझै नजिक्याएको छ।
६ वर्षदेखि जर्मनीमा रहेका पतिबारे सरुका मनमा कुरा खेल्थ्यो। 'बूढाले खाए खाएनन्? कस्ता भए भन्ने चिन्ता परिरहन्थ्यो', केसी भन्छिन्, 'अहिले त फोटो हेर्न पनि पाइन्छ, कहिलेकाहीँ भिडियो च्याट नै गर्छौं।'
फेसबुकमात्र होइन, अहिले सरु फुर्सद भएका बेला स्काइपमा कुरा गर्छिन्। आफ्नो स्मार्टफोनमा 'ह्वाट्सएप', 'निम्बज', 'भाइबर' लगायतका एप्स राखेकी छन्। तिनबाट पनि म्यासेज पठाउँछिन्। 'सबैभन्दा धेरैचाहिँ फेसबुक नै चलाइन्छ। सुरुदेखि चलाएकाले होला, यसैमा मन जान्छ', सरु भन्छिन्।
कोटेश्वरका मुकुन्द शिवाकोटी (५२) अमेरिकामा रहेका छोराछोरी र पतिसँग कुरा गर्नका निम्ति मात्र ल्यापटप खोल्छन्। समय आकलन गर्छन् र आफन्त जागै र फुर्सदमै भएको अनुमान लगाउँछन्। अनि स्काइपबाट कल गर्छन्। 'छोराछोरी फुर्सदमा छैनन् वा सुतेका छन् भने स्काइप चलाउँदिनँ', शिवाकोटी भन्छन्, 'फेसबुक खोल्छु र फोटो हेर्छु।'
उनकी छोरी काजोल अध्ययनका लागि अमेरिका गएको नौ वर्ष भइसक्यो। काजोलले उतै घरजम गरिन्। छोरा कृतेश अमेरिका गएको पनि चार वर्ष भइसक्यो। 'छोराछोरीकै कारण फेसबुक र स्काइप चलाउन थालियो', शिवाकोटी भन्छन्, 'नभए मेरा आँखा कमजोर छन्, के चलाउँथेँ र?'
सरु र शिवाकोटीका निम्ति सामाजिक सञ्जाल आफन्तसँग संवादको सूत्रधार हो। यसको प्रयोग उनीहरू आवश्यकताले गरिरहेका छन्। तर, हाम्रै समाजमा धेरै पात्र यस्ता छन्, जसले समाजिक सञ्जाल विशुद्ध मनोरञ्जन र फुर्सदको समय बिताउन प्रयोग गरिरहेका छन्। फेसबुक, ट्विटर, गुगलप्लस, पिनट्रेस्ट, लिन्क्डइनलगायतका सामाजिक सञ्जालमा नझुन्डिने युवापुस्ता कमै होलान्।
तर, अहिले आवश्यकताले कम्प्युटर र सूचनाप्रविधिको शून्य ज्ञान भएकासमेत समाजिक सञ्जालमा आबद्ध भई सञ्जाल विस्तार गरिरहेका छन्। दैनिक १५ सयको हाराहारीमा नेपाली रोजगारका निम्ति बिदेसिने गर्छन्। यसरी बिदेसिनेमध्ये नेपालमा फेसबुक एकाउन्ट नखोलेका समेत पर्छन्। तर, जब उनीहरू विदेश पुग्छन्, तब परिवारसँग सम्पर्क स्थापित गर्न सामाजिक सञ्जालमा आबद्ध हुन थाल्छन्।
संवादको आवश्यकता र साथीभाइको लहलहैमा लागेर सामाजिक सञ्जालमा आबद्ध हुनेका आफ्नै कथा छन्। कसैलाई यसले सजिलो पारिदिएको छ- सरु र शिवाकोटीको जस्तै त कतिलाई अप्ठ्यारो पनि। कपनका लेखराज निरौलाका निम्ति भने फुर्सदमा समय कटाउने मेलो भएको छ- 'फेसबुक'।
'अहिले कतै काम गरेको छैन, फुर्सदमा सधैं फेसबुकमै हो समय कटाउने', हेल्थ असिस्टेन्ट निरौला भन्छन्, 'नयाँ समाचार र घटनाको जानकारी फेसबुकबाटै हुन्छ।'
पाँच वर्षअघि फेसबुक खोलेका उनी अहिले ट्विटर, गुगलप्लसलगायतका सामाजिक सञ्जालमा पनि आबद्ध छन्। सामाजिक सञ्जालमा अभ्यस्त निरौलाका निम्ति यी सञ्जालबाट बाहिरिएर बस्न सकिएलाजस्तो लाग्दैन। 'मलाई त फेसबुकबाट बाहिरिएर बस्न सकिएलाजस्तो लाग्दैन', उनी भन्छन्, 'यो पनि दैनिक आवश्यकताजस्तै भइसकेको छ।'
यस्ता सञ्जालका धेरैखाले सामाजिक पाटा छन्। कतिलाई सामाजिक सञ्जालले फन्दामा पारेका छन् त कतिलाई जीवनकै ठूला निर्णय गर्न सहज पनि तुल्याएका छन्। काठमाडौंकी प्रज्ञा र स्विडेनका सरोजका लागि भने फेसबुक जीवनकै ठूलो निर्णयका निम्ति सहायक भएको छ। 'फेसबुक नभएको भए मेरो उहाँसँग सायद भेट हुन्न थियो होला', प्रज्ञा भन्छिन्, 'फेसबुकबाटै भेट भएर दुई वर्षदेखि हाम्रो अफेयर चलिरहेको छ।'
उनलाई दुई वर्षअघि सरोजले फेसबुकमा 'रिक्वेस्ट' पठाएका थिए। 'एकजना म्युचुअल फ्रेन्ड देखेर एसेप्ट गरेको अफेयर नै चल्यो', एक वर्षपछि विवाह गर्ने निर्णयमा पुगेकी उनी भन्छिन्, 'फेसबुक हाम्रो जीवनको एउटा महत्त्वपूर्ण पुल भएको छ।'
हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरवर्गले कलेज 'प्रोजेक्ट'का रूपमा सन् २००४ फ्रेब्रुअरी ४ मा बनाएको फेसबुकमा अहिले विश्वरभरका मानिस आबद्ध छन्। गत वर्षको अन्त्यसम्मको तथ्यांक (डिसेम्बर २०१३) हेर्दा विश्वका पाँचजनामध्ये एकजनाले फेसबुक प्रयोग गर्ने देखिन्छ। माइक्रो ब्लगिङ साइटका रूपमा चर्चित ट्विटरका प्रयोगकर्ता भने हालसम्म २० करोडभन्दा बढी पुगिसकेका छन्।
'सुरुमा सम्पर्क र संवादका निम्ति समाजिक सञ्जालमा आबद्ध हुन्छन्', समाजशास्त्री सुरेश ढकाल भन्छन्, 'त्यसपछि यसमै निर्भर हुँदै जान्छन्।' नेपालीको बढ्दो सामाजिक सञ्जाल क्रेजले यसलाई पुष्टि गरिरहेको छ। फेसबुकका अनुसार हाल नेपालमा यसका प्रयोगकर्ताको संख्या ३४ लाखको हाराहारी छ।
सामाजिक सञ्जालको प्रयोग ज्ञान आर्जन गर्न र सूचना सम्प्रेषणका निम्तिभन्दा मनोरञ्जनका रूपमा मात्र प्रयोग भएको उनको विश्लेषण छ। '९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताले विशुद्ध मनोरञ्जन र फेसनका रूपमा प्रयोग गर्छन्', ढकाल भन्छन्, 'यो पनि एउटा उपभोक्तावादी संस्कृतिको उपज हो।' सामाजिक सञ्जालमा आबद्ध नभएको व्यक्तिलाई 'असामाजिक'जस्तै ठान्ने प्रवृत्ति बढेकाले पनि धेरैलाई यसतर्फ आकर्षित गरेको ढकालको विश्लेषण छ।
सामाजिक सञ्जालले व्यक्तिपिच्छे फरकफरक अनुभूति र अनुभव दिएको छ। नेपालमा भने सामाजिक सञ्जालको प्रयोगकै कारण इन्टरनेट चलाउनेहरू पनि बढिरहेका छन्। सुगमदेखि दुर्गमसम्म सामाजिक सञ्जाल प्रयोग गर्नकै निम्ति धेरैले इन्टरनेट प्रयोग गर्छन्।
'फेसबुक चलाउनकै लागि मैले पनि जीपीआरएस एक्टिम गरेको छु', खोटाङको खार्पास्थित भाषा निम्न माध्यमिक विद्यालयका शिक्षक अस्मिन मगर फेसबुक च्याटमै भन्छन्, 'यहा गाउँमा पनि धेरैले फेसबुक चलाउँछन्, जसका इमेल छैनन् तिनका पनि फेसबुक एकाउन्ट छन्।'
सामाजिक सञ्जालमा जति नेपाली अभ्यस्त बन्दैछन्, त्यति नै इन्टरनेट प्रयोगकर्ता पनि बढिरहेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म करिब २९ प्रतिशत नेपाली इन्टरनेटको सञ्जालमा आबद्ध छन्। तीमध्ये सबैभन्दा धेरैले मोबाइलमा इन्टरनेट चलाउँछन्।
७६ लाख ६४ हजार इन्टरनेट प्रयोगकर्ता नेपालीमध्ये ७२ लाख २२ हजारले जीएसएम मोबाइलमार्फत इन्टरनेट चलाउने गरेका छन्। मोबाइलमा इन्टरनेट प्रयोग गर्नेमध्ये धेरैले अन्य साइटभन्दा सामाजिक सञ्जाल नै धेरै प्रयोग गर्ने गरेका छन्।
सामाजिक सञ्जालले धेरैखाले सामाजिक आयाम ल्याएका छन्। कुनै आयाम सकारात्मक, सन्देशमूलक र सहज छन् त कुनै नकारात्मक, असामाजिक र अनैतिक। तर, सन्देश जस्ता भए पनि सामाजिक सञ्जालको विस्तारको गति भने बढिरहेको छ- अनवरत।

Post a Comment

 
Top