सिङ्गो गाउँ जग्गाधनी पुर्जाविहीन
कञ्चनपुर,
पिपलाडीको रानीपुर गाउँका सिङ्गो बासिन्दा जग्गा धनी पुर्जाविहीन रहेका छन् । विसं २०१० देखि बसोवास रहेको यस क्षेत्रका बासिन्दाले हालसम्म जग्गाधनी पुर्जा पाउन नसकेका हुन् । केही वर्षअघि नापी कार्यालयले यहाँका बासिन्दाको जग्गाको वाउन्ड्री कायम गर्ने कार्य गरेबाहेक अन्य कार्य हुन सकेको छैन ।
कित्ताकाट गरी जग्गाधनी पुर्जा लिनका लागि पटकपटक गाविसदेखि जिल्ला कार्यालयसम्म धाउँदासमेत पुर्जा पाउन नसकेको स्थानीय भरत चौधरीले बताउनुभयो .
जग्गा धनी पुर्जा नहँुदा भारतीय सहरमा भौतारिँदै कार्य गर्नुपरेको उल्लेख गर्दै स्थानीय धर्म बोहराले भन्नुभयो, “जग्गाधनी पुर्जा भएमा बैंकमा पुर्जा धितो राखेर ऋण निकालेर घरमै बसेर आजआर्जनका कार्य गर्न सहज हुन्थ्यो ।” जग्गा भएर पनि भारतीय सहरमा मजुरीका लागि पुग्नुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।
जग्गाधनी पुर्जाकै अभावमा कृषि सामग्री कम्पनीले अनुदानमा उपलब्ध गराउने रसायनिक मल लिन, उद्योग स्थापना गर्न र कृषि कार्यालयले दिने सेवा सुविधा पाउनबाट समेत यहाँका बासिन्दा वञ्चित हुनुपरेको स्थानीय गणेश भट्टले बताउनुभयो ।
जग्गाधनी पुर्जा नहुँदा खानेपानी आयोजनासमेत बन्न नसकेको उहाँले उल्लेख गर्नुभयो । जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा सुकुम्बासी भएर बस्नु परेको पीडा यहाँका बासिन्दाको रहेको छ । यहाँ ४०० परिवार बस्दै आएका छन् ।
Post a Comment