मर्मतमा ध्यान नदिँदा दुई दर्जन सडक अलपत्र
२७ माघ ।
यहाँका गाउँपिच्छे खनिएका करिब दुई दर्जन सडक अलपत्र अवस्थामा रहेका छन् । यातायातका साधन पुगेपछि सजिलो होला भनी अघिल्लो वर्ष खनिएका ती सडकहरुको मर्मत हुन नसक्दा अहिले भत्किने र पुरिने भएका छन् ।
यहाँ खनिएका अधिकांश सडकहरु कामभन्दा पनि नाममा सीमित बन्न पुगेका छन् । सडक खन्दै बीचमै छोडेर अलपत्र पर्ने काम बढी भएको स्थानीय सरोकारवाला बताउँछन् । सडक निर्माणमा करोडौँ बजेट सकिए पनि यहाँका स्थानीय बासिन्दाले गाडी चढ्न पाएका छैनन् ।
सडक निर्माण गरेर यातायातका साधन चलाउ भन्ने इच्छाशक्ति र हचुवाको भरमा सडक खनिँदा यस्तो समस्या हुन गएको नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा ग्रामीण सडक, कृषि सडक, पर्यटन सहयोग र जिल्ला सडक निर्माणका लागि भन्दै रु ५० करोड बढी रकम सकिएको स्थानीय विकास अधिकारी चक्रबहादुर बुढाले बताउनुभयो ।
जिल्लामा १५० किमी सडक निर्माण भएपनि हाल सल्लीबजार–जाजरकोट सडकखण्डअन्तर्गत छेडा–खलङ्गाको ६० किमीमा मात्र गाडी चल्ने गर्दछ । त्यसमा पनि ३० किमीमा मात्र तीन महिना गाडी चल्न सक्दछ ।
जिल्ला विकास समिति र गाउँ विकास समितिले खनेका सडकहरु अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । अलपत्र सडकमा खलङ्गादेखि थलह, पाँचकाटिया–पिउली, सानाखोला–देसीपाटा, कार्कीगाउँ–पाँचकाटीय, भुर–भेडेखर्क, मनघाट–दशेरालगायतका सडक निर्माणमा लाखाँै खर्च भए पनि यी सडकको नाम निशानै मेटिएको स्थानीय विकास अधिकारी बुढा स्वीकार गर्दछन् ।
राजनीतिक दबाब, प्राविधिक अध्ययनविपरीत, गुणस्तरहिन तरिकाले सडक निर्माण गर्दा सडकको यो अवस्था भएको नागरिक अगुवा प्रकाश चन्द बताउनुहुन्छ । खलङ्गा–पाँचकाटिया, छेडा–भुर, भुरचौर–भेडेखर्क, पाँचकाटिया–फुलचाउली, खलङ्गा–भेडेखर्च, लित्र्ता–कार्कीगाउँ, पाँचकटिया–पैकलगायतका ठाउँ अलपत्र परेका हुन् ।
जाजरकोटका खलङ्गा, भुर, जगतीपुरलाई मात्र सडक सञ्जालले छोएको छ । करोडाँै बजेट मात्र खन्याउने बेलाबेलामा मर्मततर्फ ध्यान नदिँदा बजेट बालुवामा पानी खन्याए सरह भएको स्थानीयवासीको गुनासो रहेको छ ।
Post a Comment