0
प्राकृतिक उपचार केन्द्र बन्दै सिङ्गा तातोपानी कुण्ड
 २७ माघ
 बागलुङ भीमपोखराकी सरस्वती गौतम सिङ्गा तातोपानी कुण्डमा आएको दुई साता भयो । घुँडा दुख्ने समस्या भएकी गौतम तातोपानी कुण्डमा स्थान गरी रोग निको पार्ने विश्वास लिएर यहाँ आउनुभएको हो । 
 
पटकपटक घुँडा दुःखेको निको पार्ने औषधि पनि खाएँ, केही समय निको हुने र फेरि दुख्ने क्रम नरोकिएपछि गत वर्ष पनि कुण्डमा आएर स्नान गरेकी गौतमले आफ्नो घुँडा दुख्ने रोग निकै सञ्चो भएका बताउनुभयो । 
 
“मलाई धेरै खुसी लागेको छ”–उहाँले भन्नुभयो–“औषधि उपचारमा निको नभएको मेरो समस्या यहाँ आएर धेरै निको भएको छ ।” जिल्लाको सिङ्गा–४ मा रहेको तातोपानी कुण्डमा स्नान गरी रोग निको पार्नका लागि गौतम जस्तै सयौँ मानिसको दैनिक भीड लाग्ने गरेको छ । 
 
अहिले कुण्डमा डुब्न र स्नानका लागि देशका विभिन्न ठाउँबाट बर्सेनि एक हजार ८०० को हाराहारीमा मानिस आएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । 
 
कुण्डमा नियमित नुहाउनाले ग्यास्टिक, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुन्निने, गलगाँड लगायतका रोगहरु निको हुने विश्वासले देशका विभिन्न ठाउँबाट सर्वसाधारण आउने गरेको कुण्ड व्यवस्थापन समितिले जनाएको छ । रोग निको पार्न डुब्नका लागि जमिनभित्रबाट निस्कने तातो पानी कुण्डमा जम्मा गरिएको छ । 
 
तातोपानी कुण्डमा डुबेपछि कम्बल वा बाक्लो कपडा ओढेर न्यानो ठाउँमा पसिना निकाल्ने गरी आराम गर्ने र कुण्डको छेउमै रहेको तातोपानीमा नुहाउने गरिन्छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डको मुहानबाट निस्कने तातोपानीमा प्रचुर मात्रामा वीरेनुन र गन्धक भएकाले यहाँको पानी पिउँदा छाला, नसा र पेटसम्बन्धी रोगहरु निको हुने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले बताउनुभयो ।
 
कुनै डाक्टर वा विशेषज्ञहरुबाट प्रमाणीकरण नभएको  भएपनि तातोपानी कुण्डमा स्नान गरी रोग निको भएका बिरामीहरुको अनुभव र भनाइलाई आधार मानेर मुलुकका अधिकाँश जिल्लाबाट बिरामीहरु आउने गरेका छन् । 
 
अध्यक्ष शाक्यका अनुसार पछिल्लो समय जापान, इटाली, भुटान, अमेरिका, भारत लगायतका मुलुकहरुबाट समेत स्नानका लागि मानिसहरु आउने गरेका छन् । जिल्ला सदरमुकाम बेनीदेखि ९ किलोमिटर पश्चिममा रहेको यो कुण्डमा बेनी–दरबाङ्ग सडकखण्डमा नियमितरुपमा सञ्चालनमा आउने सवारी साधन मार्फत सहजै पुग्न सकिन्छ ।
 
खुट्टा दुखाइ कम गर्नका लागि पटकपटक दबाई खाँदा पनि फेरि बल्झियो, निकै कम आर्थिक शुल्क खर्चेरै रोग निको हुने थाहा पाएपछि कुण्डमा डुब्न र स्नानका लागि आएको हुँ, झापाका टेकबहादुर रम्तेलले बताउनुभयो ।  
 
गत वर्ष पनि आएको थिएँ, हातखुट्टा दुख्ने समस्या हटेपछि यो वर्ष पनि स्नानका लागि आएको गुल्मीकी मीना गैरेले बताउनुभयो । ढाड दुखाइले समस्यामा परेका बागलुङका श्रीप्रसाद श्रीपालीले पहिलोपटक स्नानका लागि आएको र एक साताको अवधिमा केही सञ्चो हुँदै गएको अनुभव सुनाउनुभयो । बिना झन्झट, डाक्टर र अस्पतालबिना नै आफूहरुको रोग निको भएकामा बिरामीहरु नै दङ्ग परेको बताउँछन् । 
 
मुहानबाट निस्कने ४८ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको पानी भएको कुण्डमा शरीरको बाहिरी भाग डुबाउने र स्नान गरी विभिन्न रोग निको भएर गएका बिरामीहरु बर्सेनि पटकपटक आउने गरेको पाइएको छ । विशेषगरी जाडो मौसम र माघ, फागुन चैत महिना यहाँ डुब्नका लागि अनुकूल मौसम हुने भए पनि बाह्रै महिना बिरामीहरु कुण्डमा स्नान र डुब्नका लागि आउने गरेको कुण्डका कर्मचारीहरु बताउँछन् ।  
 
एकपटकमा ५०० जनासम्म डुब्न मिल्ने गरी बनाइएको पोखरीमा बिरामीको भीड भएकाले अहिले महिला र पुरुषको बिहान र बेलुकामा दैनिक दुई÷दुई घण्टाको दरले पालो लगाउने गरिएको छ । कुण्डको व्यवस्थापन समितिले एकजनाबाट १५ दिनसम्म डुबेको रु १५० शुल्क लिने गरेको जनाएको छ । 
 
कुण्डमा गत वर्ष करिब १५ हजार बिरामीले स्नान गरेका थिए । कुण्डमा उठाउने शुल्कमध्ये केही रकम कुण्डको संरक्षण र त्यहाँको भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने गरिएको छ भने डेढ वर्षदेखि स्थानीय सरस्वती माविमा ६ जना शिक्षकको तलबसमेत कुण्डले नै सहयोग गर्दै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 
 
पछिल्लो तीन वर्षयता कुण्डमा स्नान गर्ने बिरामीको चाप बढेको छ, यो महिनासम्म ११ हजार बिरामी आइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार माघ महिनामा मात्रै दुई हजार ६०० जना कुण्डमा डुब्न र स्नान गर्नका लागि आएका छन् । 
 
कुण्डमा आउने बिरामीलाई पालैपालो डुब्ने व्यवस्था गर्नका लागि अहिले चारजना कर्मचारी खटाइएको छ । पहिले म्याग्दी नदीको किनारमा रहेको कुण्डलाई अहिले संरक्षण गरिएको छ भने कुण्डमा आउने बिरामीको सुविधाका लागि कुण्डमाथि छानो, नजिकै शौचालय, ड्रेस रुम, आराम स्थल, पूजा गर्ने मन्दिर, पैदलमार्ग, कार्यालय लगायतका भौतिक पूर्वाधारहरुसमेत निर्माण भएका छन् । 
 
यसैबीच प्राकृतिक उपचार केन्द्रका रुपमा चिनिँदै गएको तातोपानी कुण्डको सहायक मूलहरुको संरक्षण, नयाँ कुण्डको निर्माण, कुण्डमा डुबेपछि स्नान गर्नका लागि बाथरुमको व्यवस्थापन, खानेपानीको संरक्षण लगायतका पूर्वाधारको आवश्यकता देखिएको व्यवस्थापन समितिले जनाएको छ । 

Post a Comment

 
Top