0
दृष्टिविहीन नेपाली वैज्ञानिक दाहालको सङ्घर्षमय यात्रा
 
भद्रकाली नजिकैबाट बाटो काट्दै गर्दा पछाडिबाट हतारिएर आएका केही व्यक्तिले रमेशप्रसाद दाहाललाई धकेलेर लडाई दिए । बाटो काट्नमा सहयोग गर्नुको साटो धकेलेर लडाई दिएपछि दृष्टिविहीन दाहाल त्यस दिन धेरैबेर खिन्न मन लिएर बस्नुभयो । 
 
आफूजस्ता आँखा नदेख्ने धेरै व्यक्तिको समस्या बाटोमा हिँड्दा र बाटो काट्दाको समस्या हल गर्न केही गर्नुपर्छ भन्ने सोचसहित उहाँले दृष्टिविहीनलाई बाटो काट्दा ट्राफिक लाइटमा घन्टी बज्ने प्रविधि बनाउनुभयो रु ५० हजार खर्च गरेर । सो प्रविधि निर्माण गरिसकेपछि त्यसको प्रयोगका लागि सरकारलाई दबाब दिने अभियान चलाउनुभयो । 
 
आँखा नदेख्नेले निलो बत्ती बलेको थाहा नहुने भएकाले निलो बत्ती बल्ने बित्तिकै त्यसको सङ्केत दिन १५ सेकेण्डसम्म घन्टी बज्ने प्रविधि उहाँले बनाएपछि त्यसलाई प्रयोग गर्न दबाब दिँदै अभियान नै बनाएर विभिन्न सरकारी निकायसम्म धाउनुभयो । 
 
उहाँको अभियानकै क्रममा पछि सरकारले शङ्करदेव क्याम्पस नजिकै पुतलीसडक, बसपार्क र कालिमाटीलगायतका क्षेत्रमा ट्राफिक लाइटमा घन्टी बज्ने प्रविधि राखेको छ । दस वर्ष अगाडि घन्टी बज्ने प्रविधिदेखि सुरु गरेको उहाँको विज्ञान प्रविधिका सिर्जनात्मक कार्य हालसम्म पनि जारी छ । 
 
काठमाडौँ गोठाटारका दाहाल दुवै आँखा देख्नुहुन्न तर आँखा देख्ने व्यक्तिले गर्न नसक्ने विज्ञान प्रविधिसम्बन्धी कार्यमा उहाँ पोख्त हुनुहुन्छ । अर्थात् उहाँले दृष्टिविहीन नेपाली वैज्ञानिकको पहिचान बनाइ सक्नुभएको छ । नेपालमा विभिन्न व्यक्तिले गरी करिब ५० नयाँ प्रविधिको मात्रै उद्योग विभागबाट पेटेन्टराइट लिएका छन् । जसमध्ये दुई वटाको पेटेन्टराइट यिनै दृष्टिविहीन दाहालले लिनुभएको छ ।
 
भूकम्प आउँदा घन्टी बजेर सूचना दिने उद्देश्यले तयार पारिएको ‘भूकम्प सूचक यन्त्र’ बनाएर विसं २०५९ मै ‘पेटेन्टराइट’  पाइसकेको उहाँ बताउनुहुन्छ । 
 
संसारमा दृष्टिविहीन भएर पनि ‘पेटेन्टराइट’ लिने आफूमात्रै भएको दाहालको दाबी छ । त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियरमार्फत भ¥याङ उक्लन र ओर्लन समर्थ बनाउने प्रविधि ल्याडर ¥याम्प  विकास गरी विसं २०६५ मा ‘पेटेन्टराइट’ लिनुभयो ।
 
घर तथा कार्यालयमा अपाङ्गता भएका व्यक्तिको सजिलै पहुँच पुगोस् भनेर साधारण पक्की घरको रेलिङमा ह्विलचियर प्रयोग गर्न सकिने यो प्रविधि बनाएको उहाँ बताउनुहुन्छ । 
 
विज्ञानसम्बन्धी विभिन्न नयाँ आविष्कारमा क्रियाशील वैज्ञानिक दाहाल १७ वटा नयाँ अविष्कारका लागि ‘पेटेन्टराइट’ लिने चरणमै हुनुहुन्छ । 
 
विसं २०२६ मा गोठाटारमा जन्मनुभएका दाहालले जीवनको २४ वर्षसम्म प्राकृतिक सुन्दरताको दृष्यावलोकन गर्ने अवसर पाउनुभएको थियो । विसं २०५० मा ‘रेटिनाइटिस पेमिनटोसा’ नामक आँखासम्बन्धी रोग लागेपछि उहाँका दुवै दृष्टि गुमे । 
 
उहाँका श्रीमती र दुई छोरा  छन् । जेठो छोरा औद्योगिक इन्जिनियर र कान्छो छोरा विविएस तेस्रो वर्षमा अध्ययनरत छन् । विसं २०४५ मा त्रिचन्द्र कलेजबाट आइएस्सी गर्नुभएका उहाँसँग शिक्षण, व्यापारलगायतका काम गरेको अनुभव पनि छ । 
 
सेतो लठ्ठीको सहारामा यात्रा गर्ने क्रममा कम्तिमा एकपटक नलडेको महिना नै हुँदैन उहाँको  । हिँड्दाको अनुभवबारे उहाँ भन्नुहुन्छ, “कहिले घुँडा ठोकिन्छ, कहिले चस्मा खस्छ, कहिले खम्बामा ठोकिन्छ, गाडी चढ्न हात दियो प्रायः गाडीले झन्झट ठानेर रोक्दैनन् ।” 
 
विज्ञानप्रविधिको क्षेत्रमा विकाससँगै अपाङ्गता भएका व्यक्तिको पक्षमा आवाज उठाउने काममा पनि उहाँ सक्रिय हुनुहुन्छ । केही दिन अघि अपाङ्गता भएका व्यक्तिलाई संविधानसभामा मनोनित २६ सिटमा चयन गरिनुपर्छ भन्ने माग राख्दै अपाङ्ग महासङ्घले गरेको छ दिने अनशनमा पनि उहाँ सक्रियतापूर्वक सहभागी हुनुभयो । राजनीतिक विचारमा उहाँ नेकपा (एमाले)सँग निकट हुनुहुन्छ ।
 
अनशनको क्रममा पुगेका एमालेका नेताले विज्ञान र अपाङ्ग दुवै क्षेत्रको प्रतिनिधित्व गर्ने भन्दै उहाँलाई मनोनित २६ मा पार्न पहल गर्ने आश्वासन दिएका छन् । आवश्यक परे त्यो भूमिका निर्वाह गर्न पनि आफू तयार रहेको दाहालको भनाइ छ ।
 
आफूजस्ता व्यक्तिबाट राज्यले सक्दो फाइदा लिनुपर्नेमा उहाँको जोड छ । फाइदा लिन नसक्नु राज्यकै कमजोरी र घाटा भएको बताउँदै आफूजस्ता व्यक्तिको थप व्यक्तित्व विकासका लागि सरकारले लगानी बढाउनुपर्ने माग गर्नुभयो । 
 
विज्ञानप्रविधि अनुसन्धान केन्द्र नामक संस्थाको अध्यक्षसमेत रहनुभएका दाहालले विज्ञान प्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तिलाई सो सङ्गठनमा आबद्ध गराउनुभएको छ ।

Post a Comment

 
Top