0
तेह्र प्रतिशत नागरिक खानेपानीबाट वञ्चित
१२ फागुन
कञ्चनपुरका झन्डै १३ प्रतिशत नागरिक व्यवस्थित खानेपानीबाट वञ्चित भएका छन् । 
 
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार जिल्लामा ८७ प्रतिशत नागरिकले मात्रै व्यवस्थित खानेपानी प्रयोग गर्दछन् । 
 
जिल्ला खानेपानी कार्यालयका शाखा अधिकृत गौराजबहादुर लिम्बूका अनुसार १९ वटै गाविस र एक नगरपालिकामा झन्डै ८२ हजार १३४ घरधुरी रहेका छन् । जसमध्ये ७१ हजार ६०५ घरधुरीका परिवारले मात्रै व्यवस्थित खानेपानी प्रयोग गरिरहेका छन् । 
 
भौगोलिक र आर्थिक विपन्नता भएका समुदायका नागरिक खानेपानीबाट वञ्चित भएको कार्यालयले जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेका समुदाय अझै पनि इनारको पानी खान बाध्य रहेका छन् भने अति गरिब र विपन्न समुदायका घरपरिवार नदीखोलाको पानी पिउन बाध्य भएका छन् ।
 
खुला दिसामुक्त घोषणा गरेका गाविसका घरपरिवारसमेत खानेपानीबाट वञ्चित भएका छन् । लक्ष्मीपुरमा ९३.९३, दोधारा ९१.२१ र चाँदनीमा ८१.९१ घरधुरीले मात्रै व्यवस्थित खानेपानी प्रयोग गरिरहेका छन् भने बाँकी खानेपानीबाट वञ्चित भएका हुन् । नगरपालिकामा पनि ८६.८३ प्रतिशतले मात्रै खानेपानी प्रयोग गरेको खानेपानी कार्यालयले जनाएको छ । 
 
सबैभन्दा बढी लक्ष्मीपुर गाविसका ९३.९३ प्रतिशत घरधुरी र सबैभन्दा कम झलारीका ७६.१२ प्रतिशत घरधुरीले खानेपानी प्रयोग गरिरहेका छन् । खानेपानीबाट वञ्चित गरिएका नागरिकलाई व्यवस्थित खानेपानीको पहुँचमा वृद्धि गर्न कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको शाखा अधिकृत लिम्बूले जानकारी दिनुभयो । 

Post a Comment

 
Top