0
अनुदान कटौतीपछि अनाथालय व्यवस्थापनमा समस्या
१६ फागुन 
सानैमा अभिभावक गुमाएका अनाथ बालबालिकाको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको कञ्चनपुरको बाल अनाथालयमा आर्थिक सङ्कट उत्पन्न भएको छ ।
 
आर्थिक सङ्कट उत्पन्न भएपछि व्यवस्थापनमा समस्या आएको  अनाथालय सञ्चालन समितिले जनाएको छ । 
 
आर्थिक अभावका कारण अनाथालयमा बस्ने बालबालिकाका लागि बिहान बेलुका राम्ररी खान नपाउने अवस्थामा पुगेको  अनाथालय सञ्चालन समितिका अध्यक्ष नारद पाण्डेयले भन्नुभयो । 
 
अध्यक्ष पाण्डेका अनुसार–‘‘सरकारले अनुदान रोक्दा अनाथालय सञ्चालमा कठिनाई भएको हो’’ । पहिले केन्द्रीय सरकारबाट रु आठ लाख रकम आउन्थ्यो, हाल तीन लाख मात्रै रकम आउने भएकाले अनाथालय सञ्चालनमा कठिनाइ भएको हो । ‘‘२०७० सालदेखि सरकारबाट तीन लाख रुपैयाँ मात्रै आर्थिक सहयोग आएको छ’’, उहाँले भन्नुभयोे । 
 
बाइस वर्षअघि सरकारले नै स्थापना गरेको सुदूरपश्चिमका एक मात्र बाल अनाथालय सरकारी अनुदान कटौती भएपछि सञ्चालन गर्न मुस्किल गरेको छ । 
 
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले अनुदान घटाउँदा महेन्द्रनगरमा रहेको महाकाली अञ्चल बाल अनाथालयका ३२ जना अनाथ बालबालिका अप्ठ्यारोमा परेका छन ।
 
अनाथालय सञ्चालनका लागि बार्षिक रु २० लाख बराबर खर्च हुने गरेको छ । जिल्ला विकासबाट रु चार लाख र भीमदत्त नगरपालिकाबाट रु एक लाख वार्षिक रुपमा अनुदान आउने र अन्य विभिन्न संघ संस्थाहरुको सहयोगमा अनाथालय सञ्चालन भएको अध्यक्ष नारद पाण्डेले बताउनुभयो । 
 
उधारै उधरो भइसक्यो –‘दाल चामल किन्न पनि मुस्किल भएको छ’ अध्यक्ष पाण्डेले भन्नुभयो’ । 
 
अनाथालयमा सुदूर तथा मध्यपश्चिमका विभिन्न जिल्लाका अनाथ बालबालिका बस्दैआएका छन् । आमा बुवा गुमाएका बालबालिका अनाथालयमै बसेर महेन्द्रनगरका विभिन्न विद्यालय तथा उच्च माविहरुमा अध्ययन समेत गरिरहेका छन् । 
 
उनीहरुका लागि सरकारले दिंदै आएको अनुदान २०६१ सालदेखि घट्दै आएको थियो । २०४९ सालमा अनाथालय स्थापना गरेपनि सरकारले प्रत्येक वर्ष रु आठ लाखका दरले अनुदान दिंदै आएको थियो । 
 
रु आठ लाखबाट कटौती हुँदै आएको रकम गत वर्ष दुई लाख ५० हजार उपलब्ध गराएको थियो । अनाथालयमा तीन बालिका र २९ बालक गरी ३२ जना बालबालिका बस्दै आएका छन् । 

Post a Comment

 
Top