मौलिकपन तोडिँदै रत्यौलीमा नयाँपन
, १६ फागुन
नेपाली लोकसंस्कृतिमा मौलिक पहिचानका रूपमा रहेको रत्यौली गीतको मौलिकपन हिजोआज फेरिएको छ । विवाहको दिन दुलाहाको घरमा महिलाहरू जम्मा भई रातभर नृत्य र अभिनयसहित खेलिने रत्यौली दिउँसोकोे लगनमा विवाह हुने क्रम बढेसँगै यसको मौलिकपन फेरिएको हो ।
मनोरञ्जनका साथ रात गुजार्न गाइने गीत भएकाले यो गीतलाई रत्यौली भनिएको नेपाली लोकगीतका एकजना अनुसन्धाता डा. दीनबहादुर थापा बताउनुहुन्छ । तर हिजोआज यसको स्वरुप फेरिएको र त्यसको मूल कारण दिनको लगनमा विवाह हुनु नै भएको तर्क थापाको छ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङका प्राध्यापकसमेत रहनुभएका थापाले लामो मौलिक परम्परा बोकेको रत्यौली गीत अहिले आएर झाम्रेमा फेरिएको बताउनुभयो ।
“विगतको द्वन्द्वकालमा रातको समयमा विवाह हुने क्रम रोकिएपछि मौलिक प्रकृतिको रत्यौलीमा पनि परिवर्तन आएको हो”–थापाले भन्नुभयो–“दिनको लगनमा हुने विवाहले रत्यौली पनि अब त दिनौलीजस्तो भइसक्यो ।” विवाहका दिन दुलाहा अन्माइसकेपछि दुलही नभित्र्याइन्जेलसम्म महिलाहरू मात्र दुलाहाको घरमा भेला भई रातभर गाइने गीत नै रत्यौली भएको थापाको भनाइ छ । “त्यस्ता गीतहरू पुरुषले सुन्न नहुने खालका अश्लील र रतिक्रिडासँग सम्बन्धित हुन्थे”–थापाले भन्नुभयो–“‘रत्यौली गाइने ठाउँमा पुरुषलाई निषेध गरिएको हुन्थ्यो र कुनै पुरुषले सुनिहाले उसको आयु घट्छ भन्ने चलन थियो ।”
“महिलाहरूले पुरुषको भेष गरेर लुकीछिपी गाइने त्यस्ता गीतहरू लोप भएर गएका छन्”–थापाले भन्नुभयो–“बरु आजभोलि त पुरुषहरू पनि रत्यौलीमा सहभागी हुन थालेका छन् ।” रत्यौलीको अश्लील पक्षलाई हटाए पनि त्यसको मौलिकपन भने जोगाउनुपर्ने थापाको विचार छ । रत्यौलीका सांस्कृतिक महत्व सस्तो मनोरञ्जनमा फेरिएकामा थापाको चिन्ता छ ।
“रत्यौलीलाई अपमान गर्ने संस्कारको विकास गर्नुहुँदैन”–थापाले भन्नुभयो–“हिजोआज रत्यौलीको रीति, थिति, गाउने सन्दर्भ, विषयवस्तु कुनै पनि पक्षमा रत्यौलीको मौलिकपन भेटिँदैन ।” रत्यौलीको नकारात्मक पक्ष हटाएर सकारात्मक पक्षलाई जोगाइराख्नुपर्ने उहाँको धारणा छ । रत्यौलीमा दुलाहा, दुलही, जन्ती, जोगीको अभिनय, वर–बधूको क्रियाकलाप, प्रेम प्रसङ्ग, बधुशिक्षा जस्ता विषयवस्तु उठान गरी गाइने गरिन्छ ।
रत्यौलीको मुख्य उद्देश्य मनोरञ्जनका साथ रात गुजार्नु हो । केटाको विवाह हुँदा ग्रहशान्ति गरी बालिएको बत्ती अर्को दिन बधू नभित्र्याउँदासम्म निभ्न दिनु हुँदैन भन्ने मान्यताअनुसार रत्यौली गाइन्थ्यो । दुलही लिन पुरुषहरू जन्त गइसकेपछि छिमेकी महिलाहरू जम्मा भएर त्यही बत्ती हेर्दै रात बिताउनका लागि विभिन्न प्रकारका स्वतन्त्र गीतहरू गाएर नाच्ने प्रचलन नै रत्यौलीको मौलिकपन हो ।
Post a Comment