एक्लिदै माधव नेपाल ?
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूलाई किनारा लगाउने खेल भइरहेको गुनासो गरेका छन् । आफूविरुद्ध पार्टीका नेताहरू नै सार्वजनिक रूपमा अभिव्यक्ति दिँदै हिँड्नु आफूलाई किनारा लगाउने प्रयास भएको उनको भनाइ छ ।
केन्द्रीय समिति बैठकमा नेपालले आफूविरुद्ध पार्टीका उपाध्यक्ष वामदेव गौतमले सार्वजनिक रूपमै अभिव्यक्ति दिएकाले त्यसलाई चुनौतीका रूपमा लिएको पनि बताए । ‘एक्ल्याउन खोजेको हो भने यो मेरोविरुद्धको गम्भीर चुनौती हो,’ नेपालले भने, ‘त्यस्तो चुनौती दिइएको हो भने म चुनौती सामना गर्न तयार छु, कारबाही गर्न सक्नुहुन्छ रु’ नेपालले आफूलाई कारबाही गर्ने कुरा सार्वजनिक रूपमै बोलिएकोप्रति आपत्ति जनाएका थिए ।
पार्टी स्थायी समिति बैठक अस्पतालमा राखेर पार्टीले संसदीय दलका नेता केपी शर्मा ओलीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै नेपालले व्यंग्यसमेत गरे । मन्त्रीहरूको नाम छनोट गर्न ग्रान्डी अस्पतालमा बसेको बैठक पार्टी पद्धतिविपरीत भएको भन्दै उनले अस्पतालमा राखिएको बैठकले मानवीय सेवा गर्ने थलोमा पनि राजनीति भएको बताएका थिए ।
‘अस्पताल राजनीति गर्ने ठाउँ होइन, यो मानवीय सेवा गर्ने ठाउँ हो,’ नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘अस्पतालमा बैठक राखेर उहाँ ९ओली०को स्वास्थ्यमाथि पनि खेलवाड भइरहेको छ ।’
कसैलाई एक्ल्याएर होइन उच्चस्तरीय समझदारी बनाएर पार्टीलाई एकजुट बनाउनुपर्ने पक्षमा आफू रहेको नेपालले बताएका थिए । उनले मन्त्रीहरूको नामप्रति भन्दा पद्धतिप्रति आफ्नो विमति रहेको बताएका थिए । ‘नाममा मेरो गुनासो होइन,’ नेपालले भने, ‘कस्तो पद्धति बसाल्ने भन्ने मेरो भनाइ हो ।’
संसदीय दलको नेताको चुनावमा ओली र उपाध्यक्ष गौतमबीच समीकरण बनेपछि नेपाल असन्तुष्ट हुँदै आएका छन् । गत सोमबार मन्त्री छान्न एमाले स्थायी समितिको बैठक ग्रान्डी अस्पतालमा भएको थियो । संसदीय दलका नेता ओली ग्रान्डी अस्पतालमा उपचाररत छन् ।
नेपालको भनाइपछि उपाध्यक्ष गौतमले जवाफ दिएका थिए । बैठकमा नेपालविरुद्ध आफूले अभिव्यक्ति नदिएको गौतमको भनाइ छ । ‘म आठ वर्षपछि रिपोर्टर्स क्लबमा बोल्न गएको थिएँ,’ गौतमले भने, ‘मैले त्यहाँ नबोलेका कुरा पनि आएको छ, मैले कारबाही गर्न भनेको छैन ।’
नेपाललाई आफूहरूले किनारा लगाउने मौकाका रूपमा अस्पतालमा बैठक नबसेको गौतमले बताएका थिए । छिटै निर्णय लिनुपर्ने भएकाले ओली भर्ना भएकै अस्पतालमा हतार–हतार बैठक बस्नुपरेको उनको भनाइ थियो ।
Post a Comment