0

चार लाख दर्शनार्थी, नौ लाख मात्रै भेटी

 
फागुन १८– 
यस वर्ष शिवरात्रिका अवसरमा चार लाखले पशुपति दर्शन गरे । तर, भेटी भने नौ लाख रुपैयाँ मात्र संकलन भएको छ । पशुपति विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले यस वर्ष गत वर्षको तुलनामा चार लाख भेटी बढी संकलन भएको दाबी गरे ।
ganja shiva ratri (2)
तर, यो तथ्यांक गत वर्ष शिवरात्रिमा कोषले दिएको तथ्यांकसँग बिल्कुल मेल खाएको छैन । गत वर्ष शिवरात्रिको पर्सिपल्ट २९ फागुनसम्ममा भेटी गणना गर्दा दश लाख रुपैयाँ पुगिसकेको थियो । त्यतिखेर ३० फागुनसम्ममा भेटी गणना गरिसक्ने र रकम बढी हुन सक्ने बताइएको थियो । तर, यसपटक नौ लाख रुपैयाँ संकलन भएको र यो रकम गत वर्षभन्दा चार लाखले बढी भएको बताएर कोषले ढाँटेको छ ।
यस वर्ष मन्दिर दर्शन नै गर्नेगरी करिब पाँच लाख र शिवरात्रिमा सहभागी मात्रै हुन आउनेहरू करिब चार लाख पशुपति क्षेत्रमा आएको पनि सदस्यसचिव टन्डनले बताए । यस वर्ष भारत, मलेसिया, इन्डोनेसियालगायतका मुलुकबाट पनि भक्तजन आएको कोषले जनाएको छ ।
शिवरात्रिका जोगी फर्किए
शिवरात्रिका अवसरमा पशुपतिनाथ आएका नागाबाबा तथा साधुसन्तलाई शनिबार औपचारिक बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले ‘गच्छेअनुसारको’ भिक्षा तथा प्रसाद दिएर उनीहरूलाई बिदाइ गरेको हो । औपचारिक बिदाइमा करिब ३५ सय साधुसन्त सहभागी भएको कोषका सदस्यसचिव डा. टन्डनले बताए ।
शिवरात्रिमा करिब पाँच हजार साधुसन्त सहभागी भए पनि १५ सय साधुसन्त शुक्रबार नै हिँडिसकेकाले बाँकी भएकालाई मात्र बिदाइ गरिएको कोषले जनाएको छ । कोषले साधुसन्तलाई वर्गीेकरण गरी पाँच हजार एक, चार हजार एक, तीन हजार एक, दुई हजार एक, एक हजार एक, सात सय एक, दुई सय एक र एक सय एक रुपैयाँ दक्षिणा दिई बिदाइ गरिएको कोषले जनाएको छ । उनीहरूलाई बिदाइ गर्नुपूर्व त्रिपुरेश्वर अड्डामा खिर खुवाइएको थियो ।
शिवरात्रिमा सहभागी साधुसन्तलाई नागाबाबा, गोरखनाथ समुदायका नवनाथ बाबा, बैरागी, सन्न्यासी र सामान्य गरी पाँच किसिममा वर्गीकरण गरिएको थियो । केहीले दक्षिणामा असन्तुष्टि पनि जनाएका थिए । कोषले साधुसन्तलाई दक्षिणा दिनका लागि सात लाख रकम विनियोजन गरे पनि केही रकम अपुग भएको टन्डनले बताए । उनका अनुसार दक्षिणा र प्रसाद वितरण सकिएपछि आएका करिब साठीजना साधुसन्तलाई सोमबार दक्षिणा र प्रसाद दिएर बिदाइ गरिने कोषले जनाएको छ 

Post a Comment

 
Top