ठूला दैनिकको घट्दो विश्वसनीयता
- पंकज चौधरी
२०६९ साल असोज ५ गते राजधानीमा आयोजित लिटरेरी महोत्सवमा वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली मिडिया टाईकुन, त्यसमा कार्यरत पत्रकार र उनीहरुको पत्रकारिताको धज्जी उडाएका थिए । कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मा, नागरिक दैनिकका सम्पादक किशोर नेपाल र अंग्रेजी दैनिक दि हिमालयन टाईम्सका सम्पादक अजयभद्र खनालवीचको त्यो तातो बहसमा किशोरले भनेका थिए,
‘नेपाली समाजमा नेपाली पत्रिकाहरुको प्रभाव खासै छैन । बरु त्यो प्रभाव त राजनीतिक दलहरुमा र व्युरोक्रेसीमा मात्रै छ । समाजमा यतिका धेरै क्षेत्रमा भ्रष्ट्राचार वढेको छ तर मिडियाले त्यसलाई उधिन्न नै सकेको छैन । त्यसप्रति मिडियाको ध्यान खै ? त्यही भएर अखबारहरु पठनिय छैनन् । हरेक साझ पत्रिकामा समाचार भर्ने र विहान सखारै घरदैलोमा पुर्याउने काममा मात्रै पत्रिकाहरु सिमीत छन् । पत्रिकाहरु रुटिन कामको एउटा श्रृंखलाजस्तो मात्रै छन् । सम्पादकहरु पनि सधै उस्तै र उही कुराहरु मात्रै लेख्छन, सनातनी पाराले । हाम्रा सम्पादकीयहरु कती जनाले पढछन् भन्ने कुरा कसलाई थाहा छ ।’
पत्रकार नेपालको विश्लेषण धेरै हदसम्म सही किन पनि हो भने उनको यो भनाई उनकै अनुभवमै आधारीत पनि छ । हो, नेपाली पत्रकारितामा विश्वसनियताको संकट अहिले झन चुलीदो छ । पत्रिका कुनै न कुनै दल, व्यक्ति, संस्था वा अदृश्य शक्तिको पकेटको पर्चामा परिणत हुँदैछ । यस्तो बेला मुलुकको प्रमुख र ठुला मिडिया कर्पोरेट स्वार्थका नाममा झन बढी अविश्वसनीय, पुर्वाग्रही र संकीर्ण हुँदै गएका छन् । नागरिक दैनिकमा प्रकाशीत ‘दिलशोभाको यौन दुराचार’ शिर्षक समाचारको विश्वसनीयताको प्रश्न उठिरहेको बेला यसले मुलुकका ठुला दैनिककै समाचारको विश्वसनियतामाथि प्रश्न उठाएको छ ।
घटदो विश्वसनियता
२०५८ सालमा होलेरीमा तात्कालीन शाही नेपाली सेनाले माओवादीका दर्जनौं नेता तथा लडाकुलाई घराउ गरेको खबर आयो । स्पेशटाईम दैनिकमा खबर छापियो, ‘सेनाको कारवाहीमा माओवादी नेता बादललगायत दर्जनौं केन्द्रीय नेता र पाँचसयभन्दा बढी लडाकुृ हताहत ।’ यस्तै आशयको खबर घुमाउरो पाराले कान्तिपुर दैनिकमा पनि प्रकाशित भयो । माओवादीको वार्ता टोलीसँगै बादललगायतका मारिएका भनिएका नेता सार्वजनिक भए, मिडियाको झुठको पर्दाफास भयो ।
नेपालका ठुला भनिनै दैनिकको यो एउटा उदाहरण हो । यस्ता उदाहरण प्रशस्त छन् । आम पाठकमा प्रभाव जमाएका भनिएका ठुला दैनिकले सम्प्रेशीत गर्ने समाचार किन झुठा हुन्छन् ? यसको गहिरो कारण छ । जव मिडिया कुनै गलत स्वार्थको चंगुलमा फस्छ, तब उसले गलत सूचनाकै सहारा लिन्छ ।
ऋतिक रोशन कान्ड
नेपालको ‘नम्बर वान’ भनिने दैनिक कान्तिपुरमा गलत समाचारको लामो सूची छ । कान्तिपुरले कुनैबेला ‘कमान् सिंह लामाको निधन’ भनेर समाचार छापेको थियो । तिनै कमान सिंह गणतन्त्र आएपछि दक्षीण कोरीयामा राजदूत भए । चितवनमा केही सन्काहाहरुले भारतीय अभिनेता ऋतिक रोशनले ‘नेपाली मन पर्दैन्’ भने भन्ने झुठो हौवा चलाएर केही कागज थुपारेर ऋतिकको पुत्ला जलाएको खबर चितवनकै एक छापामा प्रकाशित भयो । त्यो खबरको भेरीफाइ नगरी नेपालका ठुला मिडियाले ऋतिकको आलोचनामा मुख्य पृष्ठ खर्चिए । झुठो खबरको पछी लागेका कान्तिपुर र स्पेशटाइम दैनिक (हाल बन्द)ले उचालेको समाचारका कारण काठमाडौंमा आगो बल्यो । तर, ऋतिकले त्यसो भनेको कुरा कतै पुष्टी भएन । ऋतिक रोशन काण्ड नेपाली मिडियामा लागेको कालो दाग थियो ।
धन्य, अनुजा
अनुजा बानीया कान्ड कान्तिपुरमा लागेको अर्को कलंक हो । कान्तिपुरले अनुजा बानीयाका सन्दर्भमा यस्तो समाचार छापेको थियो,
‘काठमाडौँ सीतापाइलाका ६५ वर्षीय पुरुषोत्तम पौडलले आईएमईबाट इटहरी पैसा पठाए । भोलिपल्ट आएर उनैले त्यो पैसा बुझे । जेठी छोरी सुधा पोखरेललाई घर किन्नका लागि त्यो पैसा दिन भन्दै धरान जाने बस चढे । उनको साथमा ९१ लाख रुपैयाँ र गहना पनि थियो । तर, उनले त्यो पैसा राखेको झोला भुलबस बसमै छाडे । भोजपुर, भुल्के घर भई धरान बस्दै आएकी २२ वर्षीया अनुजा बानियाँले बसमा कालो झोला देखिन् । ‘कसको ?’ भन्दै कराइन् । कसैले ‘मेरो’ भनेनन् । अनि, लिएर गइन् । घरमा खोलेर हेर्दा आत्तीइन् । झोलामा त ९१ लाख रुपैयाँ नगद र हीराको हार पो रहेछ, अनुजाको मनमा करुणा पलायो । उनले सोधी खोजी गर्दै त्यो पैसा र गहना इमानदारीपुर्वक पुरुषोत्तमलाई बुझाइन् । अनुजाको इमानदारीताको खबर नेपालको राष्ट्रिय दैनिक कान्तिपुरमा प्रकाशीत भयो । चारैतीर अनुजाको जयजयकार भयो । बीबीसी नेपाली सेवासम्मले उनको अन्तर्वार्ता लियो । राष्ट्रपति डा. रामवरण यादवले अनुजालाई फोन गरेर भने, ‘अनुजा मलाई चिन्यौ ? म राष्ट्रपति रामवरण, नानी तिमीले धेरै राम्रो काम गर्यौ । बधाई छ ।’ तात्कालीन प्रधानन्यायाधीशलेसम्म उनको प्रशंसा गरे ।’
कान्तिपुर दैनिकमा केही वर्षअघि प्रकाशीत यससम्बन्धी समाचार केही दिनमै बिलकुल झुठ, कपोलकल्पीत र भ्रामक सावित भयो । अनुजाको हवाला दिएर समाचारमा प्रकाशीत घटना गलत थियो । पहिलो दिन कान्तिपुरले जुन फोटो छाप्यो, त्यो अनुजाकै थिएन । त्यो त अनुजाको नभएर उनको साथी ममता अधिकारीको थियो । जव अनुजाको असलीयत खुल्दै गयो, ती सबै घटना काल्पनिक र चर्चामा आउन गरिएको स्टन्ट भएको प्रमाणीत भयो । कान्तिपुर दैनिक स्वयंले ‘समाचार अन्तत: काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टी भएको’ भन्दै ‘नियोजित परिस्थिति र नक्कली पात्रहरुका कारण भ्रमपुर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा सम्पूर्ण पाठकसँग क्षमा’ मागेको सूचना छाप्यो । यद्यपि, त्यत्रो गम्भीर गल्ती हुँदा पनि सम्पादक सुधीर शर्माले नैतिकताको आधारमा राजीनामा दिने आँट गर्न सकेनन ।
रसेन्द्र भट्टराई काण्ड
कान्तिपुरको अर्को चर्चित गल्ती हो, रसेन्द्र भट्टराईको । २०६० साल कार्तिक २ गते संजय न्यौपानेको ‘बाइ लाइन’मा ‘पाँच डलरबाट खर्बपति भए नेपाली’ भन्ने समाचार प्रकाशीत भयो । कान्तिपुरको प्रथम पृष्ठको प्रशस्त स्पेश खर्च गरेर प्रकाशीत त्यो समाचारमा रसेन्द्र भट्टराईका बारेमा वर्णन गरिएको थियो ।
समाचारको सुरुमै उल्लेख थियो, ‘उनको निजी हवाईजहाज (एक्जुकेटिभ बोइङ बीबी जेट) छ । रोयल्स रोयस, बीएमडब्लू, मसिडिर्ज, जगुवार,फेरारी आदि कार । अमेरिका बेलायत, स्पेनलगायत मुलुकमा आलिसान बंगलाहरु । संसारकै ‘सबैभन्दा ठूलो ट्रस्ट’ को सञ्चालक पनि । अमेरिकी राष्ट्रपति जर्ज बुश, पूर्व राष्ट्रपति क्लीन्टन, संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नान, बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरले राम्ररी चिन्ने ती धनाढ्य नेपाली हुन् । सम्भवत: उनको जति सम्पत्ती अरु नेपालीको छैन । पत्याउनुस्/नपत्याउनुस्, उनी हुन्– डा. रसेन्द्र भट्टराई (डा. आरबी)। दुई दशकअघि बैंककका लागि जहाज टिकट र साथमा पाँच अमेरिकी डलर लिएर गएका उनी गत वर्ष अप्रत्याशित रुपमा परिवारको सम्पर्कमा आएका हुन् ।’
अस्पताल स्थापना गर्ने सिलसिलामा सोल्टी क्राउन प्लाजास्थित देशकै सबभन्दा दोश्रो महँगो कोठा गोसाइँकुण्ड स्वीट्मा रसेन्द्र ६० दिनदेखि बसिरहेको, त्यसको एक रातको मूल्य ९ सय अमेरिकी डलर (करिब ७० हजार रुपैयाँ) परेको समाचारमा उल्लेख थियो । ‘करिब पाँच दशकअघि काठमाडौंको गुच्चाटोलमा जन्मेका उनको मूल घर बालुवाटार हो । महेन्द्र संस्कृत विश्व विद्यालयका उपकुलपति स्वर्गीय चूडानाथ भट्टरायका एकमात्र छोरा हुन् । ठेक्कापट्टा र व्यापार गर्दागर्दै एक साता जेल परेपछि नेपाल त्यागेको उनी बताउँछन्’, समाचारमा उल्लेख थियो । आखिर त्यो समाचार सफेद झुठ साबित भयो ।
रसेन्द्र भट्टराई समाचारमा भनिए झैं धनी रहेनछन् । त्यसको केही वर्षमै उनको निधन भयो । त्यसको खासै कतै चर्चा भएन । यस्तो पुर्ण रुपमा गलत समाचार प्रकाशीत गर्दा कान्तिपुरका सम्पादक युवराज घिमिरे थिए । पछि उनले यही समाचारको हवाला दिएर कान्तिपुरबाट अलग भएको बताइए पनि उनी अलग हुनुमा यो मात्र कारण थिएन । संजय न्यौपाने अहिले कारोबार दैनिकमा सम्पादक छन् ।
लोकमान प्रकरण
लोकमान प्रकरणमा अन्नपूर्ण पोष्ट दैनिकबाहेक कान्तिपुरलगायतका मिडिया झन बढी आग्रहले पीडित भए । मुलुकका प्रमुख दलहरुले सहमतीका आधारमा अख्तीयारमा लोकमान सिंह कार्कीलाई नियुक्त गर्ने निर्णय गरेपछि कान्तिपुरले लोकमानविरुध्द मिडिया क्याम्पेन सुरु गर्यो । यसक्रममा कान्तिपुरमा धेरै गलत समाचार पनि प्रकाशीत भए । ‘राष्ट्रपतिका सल्लाहकार हरि शर्माले राजीनामा दिएको’ समाचार छापीयो । ‘राजीनामा दिएको हैन’ भनेर राष्ट्रपतिका स्वकीय सचिवदेखि अन्य सल्लाहकारसम्मले खन्डन गरे । आखिर त्यो समाचार हावादारी सावित भयो ।
कान्तिपुरले केही मानिसहरु लोकमानविरुध्द सडकमा उत्रिएको दृश्यको ठुलो फोटो प्रथम पृष्ठमा प्रकाशीत गर्यो । अनी जन आन्दोलन २०६२/०६३ मा उर्लिएको जन लहरकै जस्तो पारेर पाठकलाई भ्रमीत तुल्याउन शीर्षक राख्यो, ‘लोकमानविरुध्द चौतर्फी आन्दोलन चर्कियो ।’ तर, कान्तिपुरले पत्रिकामा चर्काएको आन्दोलन दुई तिन दिन पनि टिकेन । एउटा अनलाईनले लोकमानलाई नियुक्त गरे राजीनामा दिन्छु’ भनेर मन्त्री माधव पौडेलले बोल्दै नबोलेको खबर प्रकाशीत गर्यो । तर, न त माधवले राजीनामा दिए, न त त्यो अनलाईनको खबरकै पुष्टी भयो ।
आशिष लुईंटेल काण्ड
कान्तिपुर दैनिकले युवालाई लक्षित गरेर हरेक शुक्रबार ‘हेलो शुक्रबार’ प्रकाशन गर्दै आएको छ । त्यसमा रहेको ‘विकी टेक’ स्तम्भमा प्रकाशीत हुने प्रविधि सम्बन्धी सामाग्री पनि विदेशी पत्रिकाको हुबहु नक्कल भएको पत्ता लाग्यो । लेखक आशीष लुईंटेलले ति सामाग्री न्युयोर्क टाइम्स, टेलिग्राफबाट हुबहु नेपाली अनुवाद गरेर आफ्नो नाममा छाप्दै आएको पोल खुल्यो । सामाजिक सन्जालमा आशीषको व्यापक विरोध भयो । कान्तिपुरका सम्पादक सुधीर शर्माले ट्विटरमार्फत् त्यस विषयमा स्पष्टीकरण दिए । सुरुमा कान्तिपुरले कुनै गल्ती महसुस गरेन । बरु, श्रोत छुट्न गएको भन्दै ‘प्राबिधिक त्रुटी’को हवाला दियो । सोसल मिडियामा प्रमाणसहित सवै कुरा छताछुल्ल भयो । केही सामाजिक संजाल प्रयोगकर्ताले न्युयोर्क टाइम्स र टेलिग्राफलाई उनीहरुको सामाग्री नेपाली मिडियामा चोरी भइरहेको व्यहोरासहित इमेल र ट्विट् गरे । अन्तत: कान्तिपुरका सम्पादकले ट्विट गर्दै हेलो शुक्रबारको उक्त लेखबारे छानबिन भइरहेको र संयोजकलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए । नेपालको नम्बर वान भनीएको दैनिकले अरुको सामाग्री चोरेर प्रकाशीत गरेको खबरले पनि नेपाली मिडियाको हैसियत छर्लंग पार्छ ।
भक्तमान प्रकरण
नागरीक दैनिकले डा. भक्तमानको अपहरणमा एमाओवादीको संलग्नताको दावी गर्दै धेरै दिनसम्म प्रयोजित खबर प्रकाशीत गरीरह्यो । अन्तत: त्यो घटना आपराधिक समूहले गराएको पुष्टी भयो । नागरीकले ‘भरतपुर क्यान्सर अस्पतालका डा. भक्तमान श्रेष्ठ माओवादी कब्जामा’ शीर्षकमा समाचार प्रकाशीत गरेको थियो । गलत समाचार छापेकोमा नागरीकले क्षमासमेत मागेन । भक्तबहादुरबारे गलत समाचार प्रकाशीत हुँदा नागरीकमा नारायण वाग्ले सम्पादक थिए ।
सिलसिला जारी छ
सन् १८८३ मा जोसेफ पुलिटजरले ‘द न्यूयोर्क वल्र्ड’ नामक दैनिक पत्रिकाको स्वामीत्व किने । अमेरिकी पत्रकारिताका हस्ती विलियम र्हस्टले ‘द न्यूयोर्क जर्नल दैनिक’को स्वामित्व किने । १९ औं शताब्दीको अन्त्यतिर अमेरिकन पत्रकारितामा र्हस्टको द न्यूयोर्क जर्नल र पुलिटजरको द न्यूयोर्क वल्र्ड नामक पत्रिकावीच प्रतिश्पर्धा भयो । सन् १८९६ को फेब्रुअरीको एक अंकमा द न्यूयोर्क वल्र्डमा प्रसिद्द अमेरिकी चित्रकार रिचार्ड आउट केभिटले बनाएको एउटा झुत्रो लुगा लगाएको माग्ने बालकको चित्र प्रकाशीत भयो । चित्रमा कतै कतै पहेलो रंगको प्रयोग गरिएको थियो । त्यस चित्रका कारण न्यूयोर्क वल्र्ड निकै बिक्यो । त्यसलाई पछार्न भन्दै द न्यूयोर्क जर्नलको लागि पनि पत्रिकाले उनै चित्रकार आउट केभिटलाई विभिन्न चित्र कोर्न लगायो । यी चित्रमा विचित्र बालकले पँहेलो लुगा लगाएका थिए । तर त्यो प्रयास काम लागेन । दुई पत्रिकावीच भएको त्यो प्रतिस्पर्धालाई तेस्रो पत्रिका द न्यूयोर्क प्रेसका सम्पादक एरभिन वार्डमानले ‘येलो प्रेस’को संज्ञा दिए । अन्तत: त्यही प्रसँग विश्व पत्रकारीतामा पीत पत्रकारीताको नमुना बन्यो ।
परिवर्तनविरोधी मानसीकता
नेपालका ठृुला मिडियाका पत्रकारमा परिवर्तनविरोधी माइन्ड सेट अझै हटेको छैन् । गणतन्त्र, धर्म निरपेक्षता, पहिचानसहितको संघीयता, समावेशीकरणका एजेन्डाप्रति ठुला मिडियामा कार्यरत सभ्रान्त बर्गको मानसीकता बोकेका पत्रकारमा अझै पनि सकारात्मक सोच पाइदैन । यो कित्ता २०४७ सालको संविधान अर्थात् राजासहितको प्रजातन्त्रको पक्षमा जर्बजस्ती लवीङ गरीरहेको छ । यसका लागि परिवर्तन पक्षधर दलहरुलाई ‘भारतको दलाल’ साबित गर्नु उनीहरुको अभिष्ट देखिन्छ । अर्कोतीर कान्तिपुरका सम्पादक शुधीर शर्मा चुनावको मुखमा ‘प्रयोगशाला’ नामक पुस्तक प्रकाशीत गरेर समग्र परिवर्तन प्रकृयामा आम जनताको भूमिकालाई छायाामा पारेर सवै काम ‘रअ’ले गरेको साबित गर्न उध्दत छन् ।
जनजातीप्रति पुर्वाग्रही
जनजातीप्रति नेपाली मिडिया सदा पुर्वाग्रही रह्यो । एउटा प्रसँग यहा उल्लेखनीय छ । २०५४ सालमा सरकारले स्थानीय निकायले स्थानीय भाषामा पनि काम काज चलाउन सक्ने निर्णय गर्यो । तर, त्यसको अर्थ स्थानीय निकायको काम–काजमा नेपाली भाषामाथि बन्देज लगाउनु भने थिएन । तर, कान्तिपुरलगायतका ठूला भनिने मिडियाल त्यसको गलत व्याख्या गर्दै ‘अब स्थानीय निकायमा नेपाली भाषा प्रतिबन्धीत’ भन्ने आशयका समाचार प्रकाशीत गरे । सरकारको निर्णयविरुध्द सर्वोच्चमा मुद्दा पर्यो । मिडियाको गलत प्रचार र क्याम्पेनका कारण सर्वोच्चले सरकारको निर्णय उल्ट्याइदियो । त्यसपछि जनजाती आक्रोशीत भए ।
नेपाल आदिवासी जनजाती महासंघले कहिल्यै जातीय राज्यको माग गरेन । उल्टै राजकुमार लेखी अध्यक्ष भएको बेला संघले जातीय राज्यविरुध्द प्रस्ताव नै पारित गरेको थियो । जनजातीहरु पहिचानसहितको संघीयता चाहन्छन् । तर नेपालका मुलधारका भनिने मिडियाले बारम्बार जनजाती महासंघलाई ‘जातीय राज्य पक्षधर’ भन्ने पुच्छर झुन्डयाउादै आए । ‘मिडियाका साथीहरुलाई हामीले जातीय राज्य मागेको होइन भनेर सम्झाइरहेका छौं । तर कतिपयले अझै बुझिरहेका छैनन र गलत प्रचार गरीरहेका छन्’, हाल नागरीक पार्टीमा रहेका लेखी भन्छन् ।
अनावश्यक हौवा
अन्तरिम संविधानले ‘संघीय लोकतान्त्रिक गणतन्त्र’को प्रावधान राखेपछि नेपाली मिडियामा दुईखाले अतीवादी प्रचार हुँदै आए । पहिलो त ‘संघीयताले देश टुक्रीन्छ’ भन्ने हौवा खडा गरियो । अर्को चाँही ‘संघीयताको नारा पश्चिमाहरुको लगानीमा भइरहेको’ भन्ने भ्रम फैलाइयो । प्रतिगामी कित्ताका कमल थापादेखी कम्युनिष्ट भनिएका चित्रबहादुर केसीसम्मले ‘संघीयताले देश टुक्रन्छ’ भनेर संघीयताको विरोधमा थालेको अभियानलाई ठूला मिडियाले प्रशस्त स्थान दिए । त्यसैगरी संघीयतालाई युरोपीयन युनीयन र पश्चिमा मुलुकको एजेन्डा साबित गर्ने भरमग्दुर कोशिस गरियो । अढाई सय वर्षदेखी सामन्ती एकात्मक राज्य संरचनाको कोपभाजनमा पर्दै आएका दलीत, जनजाती, महिला, मुश्लीम र अन्य सिमान्तकृत समुदायको जायज माग, संघर्ष र विद्रोहलाई ‘पश्चिमाहरुले उचालेको’ भन्ने नाममा कमजोर गराएर संघीयताको एजेन्डालाई तुहाउने चलखेलमा मिडियाकै कतिपय हस्तीहरु लागे ।
आश्चर्य त के भने संघीयताको विरोध गर्ने मिडियाकर्मीलाई संघ र प्रदेशकै भेद थाहा भएन । विभिन्न प्रदेश मिलेर एउटा मुलुक संघ बन्ने हो । जस्तै तमुवान, लिम्बुवान, नेवा:, अवध, तामसालीङ, भोजपुरा, थारुवानजस्ता प्रदेशहरु मिलेर नेपाल एउटा संघ बन्ने हो । ‘नेपाली मिडियामा बारम्बार प्रदेशहरुलाई संघको रुपमा चित्रण गरियो । विभिन्न संघ मिलेर नेपाल संघीय राज्य हुने भन्ने खालका विलकुल गलत सूचना लामो समयसम्म नाम चलेकै पत्रकारले सम्प्रेशीत गरीरहे’, संघीय मामीलामा कलम चलाउँदै आएका एक पत्रकार भन्छन् ।
Post a Comment