0

भूत लाग्ने डरले स्वास्थ्य चौकी जाँदैनन् सुत्केरी

 
imagesफागुन १८ – 
दुर्गम तथा विकट क्षेत्रमा पर्ने साल्मेचाकल–२ की कान्छी माया तामाङ घरमै तीनपटक सुत्केरी भइन् । स्वास्थ्य चौकी गए भूत लाग्ने डरले उनी स्वास्थ्य चौकी नगएकी हुन् । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या वृद्धि गर्न प्रोत्साहन भत्ता बाँड्ने गरे पनि दुर्गम तथा विकट डाँडापारी क्षेत्रका महिला आकर्षित हुन सकेका छैनन् ।
काभ्रेको डाँडापारी क्षेत्रमा अस्पतालमा सुत्केरी भएमा बच्चालाई भूतप्रेत र बोक्सी लाग्छ भन्ने अन्धविश्वास छ । ‘स्वास्थ्य चौकी तथा उप–स्वास्थ्यचौकीमा बच्चा जन्माएमा बोक्सीले समात्छ भन्दै स्वास्थ्य संस्थामा जान मान्दैनन्,’ स्थानीय स्वयंसेविका सरस्वती आचार्यले बताइन् ।
तालढुंगा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको पनि व्यवस्था छ । तर, पनि गाउँका प्रायस् महिला सुत्केरी गराउन आउँदैनन् । आए पनि भूत नलागोस् भनेर गुरुवालाई साथै लिएर आउने गरेको चौकीका इन्चार्ज रामपुकार यादवले बताए । ‘बिरामी हुँदा धामी, झाँक्री र गुरुवाको भर पर्नेलाई सुत्केरी हुन अस्पताल गए सुरक्षित हुइन्छ भन्ने थाहा छ,’ स्थानीय राजनीतिक कार्यकर्ता शेखर लामाले भने, ‘तर, परम्परादेखि नै चल्दै आएको चलनले जरा गाडेकाले हटाउन नसकिएको हो ।’
भूत लाग्दैन भनेर आफूहरूले जति सम्झाए पनि गाउँका मानिसले नमान्ने गरेको बताउँछिन् स्वयंसेविका आचार्य । उनले भनिन्, ‘देशका विभिन्न स्वास्थ्य चौकीमा सुत्केरीलाई अस्पतालमा गएर बच्चा जन्माए सरकारले पैसा दिन्छु भन्ने कुरा त थाहा छ । तर, उनीहरूलाई त्यो पैसाको मलतब छैन ।’

Post a Comment

 
Top