0
फौजी कीराको प्रकोप देखिन थाल्यो
 ७ जेठ
 एक हप्तायता बढेको गर्मीसँगै म्याग्दीका किसानले लगाएको बर्खे बालीमा फौजी कीराको प्रकोप देखिन थालेको छ । 
 
जिल्लाको उत्तरी र पश्चिमी क्षेत्रका गाविसमा गरिएको मकै, आलु र तरकारीखेतीमा फौजी कीराको प्रकोप बढेको हो । घार, दाना, बाबियाचौर र ताकममा फौजी कीराको समस्या देखिएको कृषकले बताएका छन् । 
पानी पर्न छाडेपछि देखिन थालेको फौजी कीराले खेतबारीमा लगाएको मकै, आलु तथा गोलभँेडा, बन्दा, काउलीलगायत तरकारीको पात खाएर नष्ट गर्न थालेको बाबियाचौरको सिमलचौरका कृषक शान्तराज पौडेलले बताउनुभयो । 
दाना र घार गाविसमा देखिएको फौजी कीरा नियन्त्रणका लागि आवश्यक विषादी र प्राविधिक परिचालन गरिसकिएको जानकारी दिँदै वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जिल्लाका अन्य ठाउँमा पनि फौजी कीराले सताउन थालेको खबर आएको बताउनुभयो । फौजी कीराको समस्या देखिएमा कृषकले सम्बन्धित सेवा केन्द्र अथवा कार्यालयमा जानकारी गराएमा नियन्त्रणका लागि सहयोग गरिने अधिकृत श्रेष्ठले बताउनुभयो । 

Post a Comment

 
Top