0

चितवनको ‘डेटिङ स्पट’ नारायणी किनार

 हिजोआज नारायणगढ र आसपासका युवायुवतीहरु फुर्सदको समयमा घुम्न र साथीभाई भेट्न नारायणी नदी किनारमा पुग्छन् ।

व्यापारिक केन्द्र नारायणगढ र आसपासमा पार्क नभएपछि खुल्ला ठाउँमा सुस्ताउन चाहनेले नारायणी नदी किनार नै रोज्छन् । दुई दुई बर्षमा चितवन महोत्सब हुने नारायणी किनारको प्रर्दशनी मैदानमा फोहर फाल्न रोक लगाएदेखिनै मानिसहरुको चहल पहल बढ्न थालेको हो ।
उद्योग वाणिज्य संघले चितवनले ब्यवसायीको सहयोगमा नदी किनारमा बुद्ध, शिवका प्रतिमा तथा दुई दुई जना बस्न मिल्ने सिमेन्टका बेञ्च बनाई दिएपछि यहाँ घुम्न आउनेका लागि अझ सहज भएको छ ।
युवा युवती भने राती अबेरसम्म पनि नारायणी नदी किनारमा कुराकानी र गफगाफ गरिरहेका हुन्छन् । विवाहित जोडीहरु पनि मौसम अनुसारका फलफूल सहित फुर्सदको समयमा पुग्छन् । यहाँ बृद्धबृद्धाहरु पनि उत्तिकै आउँछन् । तर युवायुवती नै बढी आउने वरपरका वासिन्दा बताउँछन् । नारायणगढका कलेज बंक गरेर नदी किनारमा पुग्ने विद्यार्थीहरु पनि उत्तिकै छन् ।
नदी किनारमा घुम्न आउनेहरु बढेपछि चटपट, फुल्की, फलफूल तथा चिसो पेय पदार्थ विक्री गर्ने ब्यवसायीको संख्या पनि यस क्षेत्रमा बढेको छ । घाम चर्केको बेलामा बाहेक अरु बेलामा धेरै युवायुवतीहरु यहाँ आउने भएकाले ब्यापार राम्रो हुने ठेलामा ब्यापार गर्ने सुरेन्द्र साहले बताउनुभयो । घुम्न आउने कतिपय युवायुवती आपत्तिजनक अवस्थामा पनि भेटिने उहाँले बताउनुभयो ।
युवायुवतीको चहल पहल बढेपछि नारायणी नदी किनारलाई पार्कको रुपमा विकास गर्न नगरपालिकाले टेन्डर आह्वान गरेपनि उद्योग वाणिज्य संघको विरोधपछि ठेक्कामा लगाउने प्रक्रिया रोकिएको छ । उद्योग वाणिज्य संघको पहलमा नदी किनारको संरक्षण, सरसफाइ तथा सजावटका लागि लाखौ खर्चेर काम भएपनि संघसंग कुनै समन्वय नगरी टेन्डर गरिएकाले विरोध गरेको संघका निवर्तमान अध्यक्ष डा. तिलचन्द्र भटटराईले बताउनुभयो । नदी किनारमा सोलार वत्ती राख्ने र वृक्षारोपण गर्ने योजना नगरपालिासँग भएपनि सहमति नजुट्दा काम नभएको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top