0
एआरभी औषधि वितरण हुन सकेन
एचआइभी सङ्क्रमितले प्रयोग गर्ने एआरभी औषधि  जिल्लामा भित्रिए पनि वितरण हुन सकेको छैन । सङ्क्रमितलाई रोग प्रतिरोधात्मक क्षमता घट्न नदिन सरकारले उपलब्ध गराएको औषधि जिल्ला अस्पताल बेनीमा आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा वितरण हुन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालयमा दुई हप्ताअघि एआरभी औषधि प्राप्त भएको थियो । 
 
हाल म्याग्दीका एचआइभी सङ्क्रमित एआरभी औषधि लिन बागलुङ र पोखरा जाने गरेका छन् । जिल्लाबाटै औषधि प्राप्त गर्ने सुविधा नहुँदा झन्झट हुनुका साथै सबै सङ्क्रमितको उपचारमा पहुँच पुग्न सकेको छैन । 
–ः ३ ः–
 
औषधि लिनका लागि जिल्लाबाहिर जानुपर्दा आर्थिक रूपमा धेरै खर्च व्यहोर्नुपर्ने समस्या रहेको सङ्क्रमितसमेत रहेका गुप्त सवा मार्ग सहयोगी समूहका अध्यक्ष होमबहादुर पुर्जाले जानकारी दिनुभयो । 
 
जिल्लामै एआरभी औषधि प्राप्त गर्ने सुविधा भएमा धेरै सङ्क्रमितको उपचारमा पहुँच बढ्ने र जोखिम न्यूनीकरणमा सघाउ पुग्ने अध्यक्ष पुर्जाको भनाइ छ । एआरभी औषधि प्राप्त भए पनि कोठा, फर्निचर, जनशक्तिलगायतको पूर्वाधार अभावका कारण वितरण गर्न नसकेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन घनश्याम सिग्देलले बताउनुभयो । 
 
आन्तरिक व्यवस्थापन गरेर असार महिनाभित्रै एआरभी औषधि वितरण सुरु गरिने  सिग्देलले जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा हाल ६७ जना एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये २७ जना विसं २०६६ मा जिल्ला स्वास्थ्य कार्यालयअन्तर्गत स्थापित स्वेच्छिक रक्त परीक्षण तथा परामर्श केन्द्रमार्फत पहिचान गरिएका हुन् । 
 
अन्य ठाउँमा रगत परीक्षण गरेर पहिचान भएकासहित जिल्लामा ६७ जना सङ्क्रमित भेटिएका फोकल पर्सन सिग्देलले बताउनुभयो । जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र दरवाङमा सञ्चालित भिसिटी सेन्टरमार्फत निःशुल्क रगत परीक्षण र परामर्श सुविधा दिने गरिएको छ । 
सङ्क्रमितलाई उपचारका लागि सहज बनाउन सिडिफोर काउन्ट र एआरभी औषधि लिन जिल्लाबाहिर जान–आउन लागेको यातायात खर्च उपलब्ध गराउने व्यवस्था गरिँदै आएको छ । 
 
यसैबीच जिल्ला स्वास्थ्य कार्यालयले दिउँसो २ बजेसम्म मात्र रगत परीक्षण सुविधा दिने गर्दा टाढाका सेवाग्राही मर्कामा पर्ने गरेका छन् । टाढाटाढाबाट सदरमुकाम आउँदा ढिला हुने र २ बजेपछि रगत परीक्षण तथा परामर्श सेवा नपाउने कारणले सास्ती र बढी आर्थिक खर्च हुने गरेको सेवाग्राहीको गुनासो रहेको छ । 
 
जिल्ला स्वास्थ्य कार्यालयले रगत परीक्षण तथा परामर्श सेवाको समयावधि बढाएमा उक्त सेवामा धेरैको पहुँच बढ्न सक्ने कम्युनिटी सपोर्ट गु्रप म्याग्दीद्वारा सञ्चालित प्रवासी र उनीहरूका परिवारका लागि एचआइभी रोकथाम कार्यक्रमकी संयोजक बिष्णुकुमारी रोकाले बताउनुभयो ।

Post a Comment

 
Top