0

कसरी चल्छ गुजारा ?


मेरो आर्थिक जीवन सरल प्रकृतिकै छ । म गाउँले किसान परिवारबाट आएको हुनाले मेरो जीवनका आवश्यकता र माग धेरै छैनन् । माग र आपूर्तिबीचको सन्तुलन नै अर्थशास्त्रको गुदी कुरा हो । एकथरीको भनाइ छ, आपूर्ति बढाइदिएपछि विकास हुन्छ, स्वतः माग सिर्जना हुन्छ । अर्को बुझाइ छ, मागको व्यवस्थापन ठीकसँग गरियो भने त्यहीअनुसारको आपूर्ति गरिन्छ । माग र आपूर्तिको सन्तुलन हुनुपर्छ भन्ने आमसिद्धान्त त हुँदै हो । तर, माग नै सीमित भइसकेपछि त्यहाँ आपूर्तिको धेरै समस्या हुँदैन । कतिपय मान्छेले असीमित खालका माग राख्छन्, जसले गर्दा आपूर्ति गर्न गाह्रो हुन्छ ।
बाल्यकालदेखि नै मेरा माग सीमित थिए, छन् । आफ्ना आवश्यकतालाई मैले सहज ढंगले आपूर्ति गर्दैै आएको छु । यस हिसाबले मेरो जीवन गुजारामा खासै समस्या पर्ने गरेको छैन ।
baburam
विद्यार्थी कालमा पनि मैले छात्रवृत्तिमा नै पढें । घरको चामल र गुन्द्रुक बोकेरै एसएलसी पास गरेको हुँ । आइस्सीदेखि पिएचडीसम्म सबै छात्रवृत्तिमै पढेको हुँ । सीमित छात्रवृत्ति रकमले जीवन व्यवस्थापन गर्ने मलाई बानी बस्यो । अहिले खुला परिवेशमा आएर अर्थमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म पनि मेरा जीवनका आकांक्षा सीमित मात्रै छन् । सीमित साधन–स्रोतबाट नै मैले गुजारा गर्दै आएको छु । अहिले म सभासद् पनि छु । सभासद्को हैसियतले मलाई जुन मासिक रकम प्राप्त हुन्छ, त्यसैले नै जीवनयापन छ । पहिले श्रीमती हिसिला यमी र म दुवै सभासद् भयौं । दुवै मन्त्री पनि भयौं । त्यसले गर्दा केही थोरै बचत पनि थियो । हामीले कुनै कुरा लुकाएका छैनौं । हाम्रो जे–जति थोरै बचत हुन्थ्यो, त्यसलाई हामीले खुला, पारदर्शी ढंगले बैंकमा राखेका छौं । मैले प्रत्येक वर्ष आम्दानी विवरण सरकारलाई बुझाउने गर्छु, संविधानसभामा प्रस्तुत गर्ने गर्छु । त्यहाँ मेरो प्रत्येक वर्षको आम्दानी विवरण प्रस्तुत छ । हाम्रो गुजारा सामान्य ढंगले नै चलेको छ ।
योसँगै अलिकति आत्मनिर्भर पनि हुनुपर्छ र अरुको निम्ति पनि मोडेल बन्नुपर्छ भन्ने सोचले केही उत्पादनको सानो प्रयत्न गरेको छु । यो ठूलो काम त होइन, तैपनि हामीले आफ्नो कौसीमा जैविक तरकारीखेती गरेका छौं, स्वस्थ र जैविक तरकारी खान पाइयोस् भन्ने हेतुले । यसले तरकारी किन्ने पैसा पनि जोगाउँछ ।
अलि दीर्घकालका गाउँमा सहकारीका रुपमा बाख्रापालन सुरु गर्ने योजनामा छौं । यसमा छोरी मानुषीले बढी प्रयत्न गरिरहेकी छिन् । केही समयमै बाख्रापालनको फार्म गाउँमा सुरु हुन्छ । यसले जीवनयापनमा सघाउला भन्ने लागेको छ ।
यस अतिरिक्त हामीसँग त्यति ठूला आकांक्षा केही छैनन् । जीवन सरल ढंगले नै चलेको छ । मुख्य कुरा सन्तुष्ट भएरै बाँच्नु हो । असन्तुष्ट भइराख्यो भने जतिसुकै धन भए पनि मान्छेलाई पुग्दैन । त्यसैले न्यूनतम आवश्यकता पूर्ति गर्नुपर्छ । त्यसैमा सन्तुष्ट हुन सक्नुपर्छ । यही नै हाम्रो जीवन दर्शन हो ।

Post a Comment

 
Top