0
एसएलसी परिक्षामा ४७ दशमलव ४३ प्रतिशत पास अघिल्लो वर्षको भन्दा ३ दशमलव ५१ प्रतिशत बढी
असार ४ 
यस पटककोे एसएलसी परीक्षामा ४७ दशमलव ४३ प्रतिशत  विद्यार्थी पास भएका छन् । गत चैत महिनामा संचालित एसएलसी परीक्षामा नियमिततर्फ ४७ दशमलव ४३ प्रतिशत अर्थात १ लाख ९२ हजार २ सय ६७ जना विद्यार्थी पास भएका हुन् । यसपटकको उत्तीर्ण संख्या अघिल्लो वर्षको भन्दा ३ दशमलव ५१ प्रतिशत बढी हो । दुई विषयसम्म फेल भएका विद्यार्थीलाई ग्रेस अंक ५ दिइएका कारण उत्तीर्ण प्रतिशत गतवर्ष भन्दा केही बढेको हो । गत वर्ष जम्मा ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी पास भएका थिए ।  
पास हुनेमध्ये छात्रको संख्या ५३ दशमलव ९४ तथा छात्राको संख्या ४० दशमलव ९६ प्रतिशत छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा   ४ लाख ५ हजार ३ सय ३८ जना विद्यार्थी सहभागी भएकामा छात्रतर्फ १ लाख ९ हजार ४३ र छात्रातर्फ ८३ हजार २ सय २४ जना पास भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।
परीक्षामा सहभागीमध्ये २१ हजार २ सय ४७ जना विशिष्ट श्रेणीमा, ९० हजार १ सय ७६ जना प्रथम श्रेणीमा, ७६ हजार ४ सय ८२ जना द्वितीय श्रेणीमा तथा ४ हजार ३ सय ६२ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीको अंक ल्याउनेमध्ये १२ हजार ४ सय २६ जना छात्र हुन् भने ८ हजार ८ सय २१ जना छात्रा हुन् । आवेदन भरेकामध्ये ५ हजार ९९ जना भने परीक्षामा अनुपस्थित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसएलसीको नतिजाले शिक्षामा सरकारले गरेको लगानीमाथि प्रश्न समेत उब्जिएको छ । सरकारले चालु आर्थिक वर्ष शिक्षामा ८६ अर्ब ३ करोड रुपैयाँ बजेट छुट्याएकामा सामुदायिक विद्यालयका ६६ दशमलव ८२ प्रतिशत विद्यार्थी फेल भएका छन् । सामुदायिक विद्यालयबाट ३ लाख २ हजार ३ सय ९९ जना विद्यार्थीले परीक्षा दिएकामा जम्मा ३३ दशमलव १८ प्रतिशत अर्थात १ लाख ३ सय ४२ जना विद्यार्थी पास भएका छन् । सरकारले एक रुपैयाँ पनि लगानी नगरेको निजी विद्यालयका भने ८९ दशमलव २० प्रतिशत अर्थात ९१ हजार ९ सय २५ जना विद्यार्थी पास भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिनुभयो ।   
एक्जाम्टेडतर्फ १ लाख ३६ हजार ५१ जना विद्यार्थीले परीक्षा दिएकामा जम्मा १८ हजार ७ सय ७८ जना अर्थात १३ दशमलव ८० प्रतिशत उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकामध्ये एक जना छात्र र एक जना छात्राले विशिष्ट श्रेणीको अंक ल्याएका छन् । परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा दुई विषयसम्म फेल भएका विद्यार्थीहरुलाई आगामी साउन २० गतेदेखि मौका परीक्षाको व्यवस्था गरेको छ । 

Post a Comment

 
Top