सत्तारुढ दलविच विवाद
असार ५
पुनर्निमाण प्राधिकरण गठनको विषयलाई लिएर सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबीच चर्को विवाद् देखिएको छ । काँग्रेस र एमालेबीच पुनर्निमाण प्राधिकरण कहिले गठन गर्ने भन्नेमा विवाद् देखिएको हो । दुई दलबीचको विवाद्का कारण शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन घण्टा लामो बैठक अनिर्णित भएको छ । नेपाली काँग्रेसले दाता सम्मेलन अघि नै अध्यादेशमार्फत प्रधानमन्त्रीको अध्यक्षतामा प्राधिकरण गठन गरिनुपर्ने बताएकामा एमालेले नमानेपछि बैठक अनिर्णित भएको हो ।
पुनर्निमाणका लागि अन्र्तराष्ट्रिय सहयोग जुटाउन सरकारले यहि असार १० गते काठमाडौमा दाता सम्मेलन गर्दै छ । एमालेले दाताहरुलाई देखाउनका लागि नभइ पुनर्निमाणको काम प्रभावकारी रुपमा गर्न प्राधिकरण चाहिएको भन्दै अध्यादेशमार्फत भन्दा संसद्मार्फत प्राधिकरण गठन गर्नुपर्ने बताएको छ । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्राधिकरणको संरचनाका विषयमा खासै विवाद् नरहेको तर कहिले गठन गर्ने भन्ने विषयमा भने काँग्रेस र एमालेको मत बाझिएको संचारकर्मीलाई जानकारी दिनुभयो ।
एमालेले भने प्राधिकरण गठनका विषयमा अझै छलफलको आवश्यकता रहेको बताएको छ । एमाले उपाध्यक्ष विद्या भण्डारीले संसद्को संकल्प प्रस्तावको भावना अनुसार प्राधिकरण गठन गरिनुपर्ने पार्टीको अडान बैठकमा राखेको बताउनुभयो । व्यवस्थापिका संसद्ले गत वैशाख ३० गते भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणका लागि अधिकार सम्पन्न पुनर्निमाण प्राधिकरण गठन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो ।
बैठकमा एकीकृत नेकपा माओवादीले भने प्रभावकारीरुपमा पुनर्निमाणको काम गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गरिनुपर्ने र त्यो प्राधिकरण सरकारका अन्य निकायहरु जसरी तलब भत्ता खानेमा मात्र सीमित हुन नहुने भन्दै प्राधिकरण जहिले गठन गरे पनि आफूलाई मान्य हुने बताएको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्रीको अध्यक्षतामा प्राधिकरण गठन सम्बन्धी अध्यादेश तयार पारिसकेको छ ।
Post a Comment