निशुल्क औषधी कता जान्छन ?
सरकारले बिगतदेखि नै उपलब्ध गराउने भनेको ४० किसिमका औषधि प्रभाबकारी ढंगले सर्बसाधारणको हातमा पुग्न नसकेको गुनासोहरु आइरहेका बेला थप ३० किसिमका औषधि निशुल्क उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । निःशुल्क उपलब्ध गराइने भनिएका औषधिहरुमा मानसिक रोग, मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या जस्ता नसर्ने रोगका औषधि र विभिन्न प्रकारका एन्टिबायोटिक समेत रहेका छन् । यता घोषणा भएको नौ महिना वितिसक्दा समेत ती औषधि नपाउँदा ताप्लेजुङ अस्पताल पुगेका विरामि खालि हात फर्कन बाध्य रहेका छन् ।
-रविन भट्टराई, ताप्लेजुङ्ग
जिल्ला अस्पताल ताप्लेजुङको औषधि वितरण कक्ष बाहिर पुग्दा धेरै विरामि डाक्टरले लिन भनेर दिएको औषधिको सुचि लिएर औषधि लिन लाईनमा बसेका थिए । अधिकांश विरामि निशुल्क औषधि दिनुपर्ने अस्पतालले औषधि छैन भन्यो भनि आक्रोस समेत पोखिरहेका देखीन्थे ।
यस अघि ४० किसिमका औषधि वितरण गर्दै आएको जिल्ला अस्पताल ताप्लेजुङमा चालु आर्थिक वर्ष देखि थप ३० किसिमको औषधिको विवरण पठाईएको छ । अस्पताल बाहिर निशुल्क पाईने औषधिको सबै सुचि टाँसिएको भए पनि भित्र औषधि भने पाईदैन ।
निशुल्क दिईने औषधि केन्द्रबाट आउनेकि जिल्लाले नै दिने भन्ने टुङ्गो नलाग्दा र थप औषधि खरीदका लागी सरकारले बजेट नपठाईदिदा आफुहरु अन्योलमा परेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डाक्टर कृष्णहरी सुबेदिले बताए ।
जिल्ला अस्पताल ताप्लेजुङमा औषधि खरीदका लागि यो वर्ष ३० लाख बजेट आएको र गत वर्ष पनि यतिकै हाराहारीमा बजेट आएको भए पनि पछिल्लो समय विरामिको अत्याधिक मागका कारण मात्र औषधि खरीदका लागि अस्पताल चलमलाएको देखिन्छ ।
औषधि खरीदका लागि केन्द्रमा टेन्डरको प्रकृया चलेर केहि खरीद गरे पनि जिल्लामा अझै नआएको अस्पताल स्रोतले बताएको छ । यता ताप्लेजुङ मात्र नभई पुर्वि पहाडि जिल्ला पाँचथर, तेह्रथुम र ईलाम लगायतका कुनै पनि पहाडि जिल्लामा सरकारले थप गरी दिने भनिएको औषधि नआएको सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयले बताएका छन् ।
विगतमा औषधि वितरणमा सरकारी अध्ययनले औल्याएका त्रुटिहरुको सम्बोधन नगरि फेरी औषधि थप गरिदां समस्या बल्झिएको यस क्षेत्रका जानकारहरुको भनाई छ ।
Post a Comment