0

 बालुवा र गिट्टीको तस्करी 


 बारा र पर्सा ग्रामिण भेगका खोलाहरुबाट बालुवा र गिट्टी उत्खनन गरि भारत तर्फ तस्करी गर्ने क्रम अहिले व्यापक रुपमा बढेको स्थानीयवासी प्रमेद यादबले बताएका छन् । शंकरसरैया गाबिसमा पर्ने भलुवाही खोलाबाट मात्रै दैनिक एक सय भन्दा बढि ट्याक्टर गिटी र बालुवा भारत तर्फ तस्करी भइरहेको स्थानीयवासीको भनाइ छ । पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरुबाट कारोबारीहरुले गिट्टी र बालुवा उत्खनन् गरि पिडारीगुठी, जानकीटोला, सम्भौता, भिस्वा, जयमंगलापुर लगायतका नाका हुदै भारतको ईनरवा, सिकटा, मैनाटाड,भंगाहा,प्रसुतीपुर, बल्थर , बेतिया , नरकटियागन्ज बगहा लगायतका बजारमा लगेर बिक्री गर्दै आएका छन् । यस्तै मकवानपुरको हेटौडा ,बाराको अमलेखगन्ज र छातापिपरामा रहेका क्रसर उद्योगहरुबाट पनि कारोबारीहरुले गिटटी टयाक्टरमा लोड गरेर भारत तर्फ तस्करी गर्दै आएका छन् । मकवानपुर र बाराका क्रसर उद्योगहरुबाट ट्रिपर मार्फत गिट्टी ल्याएर कारोबारीहरुले पर्साको ग्रामीण क्षेत्रका पोखरीया र लंगडीमा भण्डारण गर्ने र त्यसपछि टयाक्टरमा लोड गरेर त्यही गिटटी भारतमा लैजाने गरेको स्थानीयवासीले बताएका छन् ।नेपालबाट गिट्टी र बालुवा भारतमा निकासी गर्न सरकारले प्रतिबन्ध लगाएको भएपनि कारोबारीहरुले दिनहुँ सयौं टयाक्टर गिट्टी र बालुवा भारत तर्फ तस्करी गरिरहेको र यसको नियन्त्रणमा प्रहरी प्रशासनले चासो नदेखाएको गाँउलेहरुले बताएका छन् । कारोबारीहरुले सिमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा गिट्टी र बालुवाको तस्करी गरिरहेको स्थानीयवासीको भनाइ छ । कारोबारीहरुले प्रहरी चौकीका इन्चार्जलाई तस्करी बापत प्रति ट्रयाक्टर तीन सय र सशस्त्र प्रहरीको बोर्ड आउट पोष्टका इन्चार्जलाइ पाँच सय देखि एक हजार रुपैया सम्म घुस दिने गरेको गिट्टी बालुवाकै तस्करीमा संलग्न एक कारोबारीले बताएका छन् ।

Post a Comment

 
Top