0
पानीको अभावले होटल बन्द हुने अवस्थामा
९ असार 
सुदूरपश्चिमको सदरमुकाम दीपायलमा पिउने पानीको हाहाकार भएकोे छ ।
पानीको अभावले यहाँका होटल बन्द हुने अवस्थामा पुगेका छन् । नियमित खानेपानी आउन छोडेपछि होटल व्यवसायी समस्यामा परेका छन् । व्यवसायमा अवरोध सिर्जना भएको भन्दै व्यवसायी विभिन्न निकायलाई गुहार्न थालेका छन् । उनीहरुले समस्या समाधानका लागि क्षेत्रीय प्रशासकलाई भेटेर सहयोगका लागि अपिल समेत गरेका छन् ।

पिपल्लास्थित होटल व्यवसायीहरुले तत्काल अल्पकालिन योजना बनाएर पानीको व्यवस्था मिलाइदिन आग्रह गर्दै क्षेत्रीय प्रशासक शरदराज विष्टलाई ज्ञापनपत्र बुझाएका हुन । ज्ञापनपत्रको बोधार्थ होटल व्यवसायीहरुले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयलाई पनि बुझाएका छन् । धाराबाट पानी चुहिन छाडेपछि नदीबाट पानी ओसारेर ग्राहकलाई दिन बाध्य भएको होटल व्यवसायी सङ्घका सचिव तेज डुम्रेले बताउनुभयो ।

“पानी ल्याउन गाडी रिजर्व गर्नुपर्ने बाध्यता छ । प्रत्येक होटल व्यवसायीले दैनिक रु एक हजारदेखि एक हजार पाँच सय खर्च गर्नुपरेको छ” उहाँले भन्नुभयो । दिपायलमा साना ठूला गरी सयभन्दा बढी होटल छन् । पानी नआउँदा ग्राहकले असन्तुष्टी पोख्ने, खान बस्न नरुचाउने गरेकाले व्यवसायमा नै असर परेको सचिव डुम्रेले बताउनुभयो । 

Post a Comment

 
Top